वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला काँडाघारीमा सम्पन्न ‘छैटौँ उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ दौडमा तेस्रो भएका छन् । उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दूरीको दौडको विशिष्ट अतिथि तथा दौडका प्रतिस्पर्धीसमेत रहेका डा. कोइराला ५५ वर्ष उमेरमाथि तेस्रो भएका हुन् । कोइराला २७ प्रतिस्पर्धीलाई पछि पार्दै तेस्रो भएका थिए ।
कोइरालाले ह्याम्स अस्पतालबाट ८ हजार रुपैयाँ बराबरको मुटुरोग परीक्षण प्याकेज पुरस्कार पाए । ५५ वर्षमाथिको उमेर समूहमा ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भए । सोही समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्रा रायमाझी दोस्रो र कल्पना आचार्य तेस्रो भइन् । १८ वर्ष उमेरमाथिको महिला खुला समूहमा स्वस्तिक तिरुवा पहिलो, सुनीता तामाङ दोस्रो र आभ्या केसी तेस्रो भइन् । पुरुषतर्फ दिनेश खड्का पहिलो, नीरज भट्ट दोस्रो र यामराज खत्री तेस्रो भए । समूहको विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोेले ५ हजार नगद प्रदान पुरस्कार पाए ।
यसैगरी, युगल समूहतर्फ कविता र गोविन्द कार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथा प्रकाश र चुना कटुवालको जोडी तेस्रो भयो । अभिभावक विधाको महिलातर्फ ज्योति कार्की पहिलो, निमा लामा दोस्रो र सविना केसी तेस्रो भइन् भने पुरुषतर्फ सुनिल कार्र्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रद्युम्न केसी तेस्रो भए ।