मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Tuesday, 17 December, 2024
देश/विदेश
२o७९ असोज ५ बुधबार १o:o४:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्वव्यवस्थाको घाँटी रेट्ने अमेरिकी डलरको छुरा

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार १o:o४:oo

अमेरिकी केन्द्रीय बैंक प्रणाली (युएस फेडरल रिजर्भ) ले यही मंगलबार र बुधबार चर्चामा आइरहेको ब्याजदर वृद्धिको निर्णयलाई लिएर नीति बैठक गरिरहेको छ । यस बैठकबाट मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकले ७५ बेसिस पोइन्ट अर्थात् ०.००७५ प्रतिशतले ब्याज बढाउने अनुमान गरिएको छ । यो सम्भावित निर्णयले अन्य मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य २० वर्षयताकै सबैभन्दा बढी हुने सम्भावना छ ।

धेरै मुलुकका लागि यो सम्भावित कदमले एक नयाँ दुर्दशाको सुरुवात गर्नेछ । यस बैठकले पाँचौँपटक ब्याजदर वृद्धि गर्नेछ । यसको देखिने कारण मुद्रास्फीतिले निम्त्याउने दबाब न्यूनीकरण हो भनिए तापनि यदि वास्तविक कारण खोतल्ने हो भने यो परिस्थिति अस्थायी ‘समृद्धि’ कायम राखिराख्न अमेरिकाले गरेको अन्धाधुन्ध एवं असीमित मुद्रा मुद्रणले निम्त्याएको हो । अर्को शब्दमा भन्नुपर्दा सन् २००८ को वित्तीय संकटले प्रकाशमा ल्याएका प्रणालीगत समस्यालाई सम्बोधन गर्न वासिंगटन अक्षम रह्यो र इच्छुक पनि देखिएन । बरु अमेरिकाले समस्यालाई लुकाएर वाल स्ट्रिटलाई खुसी पार्ने क्रममा गोप्य ढंगले अमेरिकी डलरको वर्चश्वलाई कायम राख्दै संकटलाई विश्वव्यापी बनाउने अदूरदर्शी कदम चालेको थियो ।

अमेरिकी डलर अत्यधिक बलियो हुँदा र अन्य मुद्राको गिरावटले अमेरिकाको बढ्दो मुद्रास्फीतिलाई निश्चय नै केही हदसम्म नियन्त्रण गर्न सक्छ, तर यसका लागि सारा विश्वले मूल्य चुकाउनुपर्ने हुन्छ अर्थात् ‘अमेरिका बिरामी हुँदा विश्वले औषधी खानुपर्ने’ परिस्थिति निम्तिनेछ । त्यसकै नतिजा विश्व गम्भीर मुद्रास्फीति, आर्थिक मन्दी र अन्य समस्याको चपेटामा पर्दै गइरहेको छ । विश्वभरका ३६ मुद्राको मूल्यमा यो वर्ष कम्तीमा १० प्रतिशतको गिरावट आएको छ । डलरको सामथ्र्य बढेयता श्रीलंकाको रुपैयाँ र अर्जेन्टिनाको पेसोले २० प्रतिशतको गिरावट व्यहोरेको छ । यसले पहिल्यैदेखि कमजोर रहेको युरोप र जापानको अर्थतन्त्रलाई थप कमजोर मात्र नबनाई सारा विश्वलाई आयातित मुद्रास्फीतिले निम्त्याएको आर्थिक मन्दीको औषधी खान बाध्य बनायो । असंख्य परिवार रातारात सडकमा आइपुगे । यो नहुनुपर्ने अस्वाभाविक घटना थियो, तर यो नृशंस यथार्थका पछाडि ‘मुद्रास्फीति नियन्त्रण गर्ने’ अमेरिकी लहड जिम्मेवार छ । 

वास्तवमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले डलर वर्चश्वको प्रयोग गरेर विभिन्न मुलुकमा ‘वित्तीय लुट’ मच्चाएको छ वा ‘संकट निर्यात’ गरेको छ । एक चर्चित पश्चिमी उखानअनुसार अमेरिकाले आँसु पनि नाचुहाइ डलर र घाटानिःसृत असाधारण विशेषाधिकारको फाइदा लिन्छ र फगत कागजी नोटको दुरुपयोग गरी अन्य देशका स्रोत र कारखानामा लुट मच्चाउँछ । विगत केही दशकमा डलरको मूल्यवृद्धिको प्रत्येक परिघटनाले पीडादायी अवस्था निम्त्याएको छ । अर्थात् ल्याटिन अमेरिकी ऋण संकट, जापानको ‘गुमेको दुई दशक’ र एसियाली वित्तीय संकट निम्तिएका छन् । एसियाली संकटलाई नै हेर्ने हो भने विश्व बैंकको आँकडाअनुसार करिब १० करोड मध्यमवर्गीय मानिस गरिबीको गर्तमा परेका थिए । अर्थात् हरेकपटक डलर बलियो बनिरहँदा विश्वको घाँटी रेटिन्छ । 

अमेरिकी डलर अत्यधिक बलियो हुँदा सारा विश्वले यसको मूल्य चुकाउनुपर्छ । अमेरिका बिरामी हुँदा विश्वले औषधि खानुपर्ने परिस्थिति निम्तिनेछ ।
 

अमेरिकाका राजनीतिक सम्भ्रान्तले ‘अमेरिकी अद्वितीयपन’ र ‘संकट निवारण’को फुर्ती लगाउँदै गर्दा विश्वका लाखौँ मानिसले त्यसको मूल्य चुकाइरहेका हुन्छन् । यसबारे यी सम्भ्रान्त अनभिज्ञ छैनन्, तैपनि यिनीहरू केही नभएको जस्तो गरी दम्भी चरित्र प्रदर्शन गर्छन्, अर्थात् ‘वर्चश्वशाली’ हुनु मानिलिऊँ यिनको अधिकार नै हो । सन् १९७० को दशकमा तत्कालीन अमेरिकी अर्थमन्त्री जोन कनेलीले ‘डलर हाम्रो मुद्रा हो, तर त्यो तिम्रो समस्या हो’ भनेका थिए र आज फेरि डलर विश्वको समस्या बन्दै छ । यस अर्थमा अमेरिकी ‘समृद्धि’को नैतिकता र स्वच्छतामा सन्देह गर्ने अनेकौँ ठाउँ छन् । यद्यपि, संकटको समाधान सदाका लागि टिक्छ भन्ने हुँदैन ।

वासिंगटनले जमिनमुनि माइन बिछ्याउने गर्छ, तर कहिल्यै हटाउँदैन, जसले कुनै दिन अमेरिकालाई नै पड्काउने निश्चित छ । उच्च मुद्रास्फीति व्यवस्थापन गर्न अमेरिकी वित्तीय अधिकारीको अक्षमतालाई बारम्बार ब्याजदर वृद्धिले उजागर गरेको छ, जसले अमेरिकी मुद्राको असामान्य वृद्धिलाई प्रोत्साहन गरेको छ । 
अमेरिकामा व्यापार वित्तको लागत, नागरिकलाई ऋण चुक्ता गर्ने दबाब र निर्यात उत्पादन लागत निरन्तर रूपमा बढ्नेछ । अमेरिकाको ‘अरूलाई दिवालीय बनाउने’ नीतिले पनि सञ्चिति मुद्राका रूपमा अमेरिकी डलरको विश्वसनीयतालाई निरन्तर घटाउँदै गइरहेको छ । वासिंगटनको असीमित शोषणको प्रतिक्रियामा, युरोप, एसिया, मध्यपूर्व र अन्य क्षेत्रले ‘डि–डलराइजेसन’ अर्थात् डलरलाई प्रयोगबाट हटाउने बाटो खोजिरहेका छन्, जसले अवश्यम्भावी रूपमा विश्वव्यापी मौद्रिक प्रणालीको विविधीकरणको नतिजा निम्त्याउनेछ । यसले अमेरिकी वर्चश्व क्षय हुँदै गएको तथ्यलाई उजागर गर्छ ।

 उग्र–वर्चश्वमाथि अंकुश लगाउने सबैभन्दा उत्तम रणनीति साँचो अर्थको बहुपक्षतावाद हो । सन् १९९७ को एसियाली आर्थिक संकट होस् वा सन् २००८ को विश्वव्यापी वित्तीय संकट होस्, विश्वले बारम्बार एउटै कारणले बल्ड्याङ खाएको छ र अब यो कारण अहिले निकै कमजोर भएको छ । अन्तर्राष्ट्रिय वित्तीय बजार फेरि एकपटक अशान्त भएको छ र कमजोरीले खिइँदै छ । यही समयमा अन्तर्राष्ट्रिय समुदाय मिलेर काम गर्न र स्थिर, व्यवस्थित एवं दीर्घकालीन बहुपक्षीयतावादी अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सिर्जना गर्न थप प्रतिबद्ध हुनुपर्छ । यसो गर्न ढिलाइ गरिनुहुँदैन ।

(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको ४ असोजको सम्पादकीय)