अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे भएको भन्दै स्थानीयले हेल्लो सरकारमा एक महिनाअघि गुनासो गरेपछि वसुन्धरा–सामाखुसी सडकको दायाँबायाँको केही भाग कालोपत्रे गर्न थालिएको छ । सर्भिस लेन बनाउन तयार पारिएको कच्ची सडकबाट सवारीसाधन गुड्दा अत्यधिक धुलो उड्ने समस्या देखिएपछि स्थानीयले गुनासो गरेका थिए । सोही आधारमा सडक विभाग चक्रपथ सुधार आयोजनालाई उक्त क्षेत्रमा कालोपत्रे गर्न निर्देशन दिएको थियो ।
सरकारले सो खण्ड चिनियाँ कम्पनीलाई विस्तार गर्न जिम्मा दिए पनि चिनियाँ पक्षले काम सुरु गरेको छैन । सडकखण्डमा भएका अवरोध हटाउने काम नेपाल पक्षले ६ महिनाअघि नै सकाएको छ । तर, चिनियाँ पक्षले काम अझै सुरु नै गरेको छैन । चक्रपथ सुधार आयोजनाका इन्जिनियर सुरेन्द्रकुमार सिंहले अत्यधिक धुलो भएको भन्दै हेल्लो सरकारका उजुरी परेपछि कालोपत्रे गर्न थालिएको बताए ।
‘गोंगबुमा साह्रै धुलो भयो भनेर स्थानीयवासीले हेल्लो सरकारमा उजुरी हाल्नुभएको थियो, सोही आधारमा मन्त्रालयको निर्देशनअनुसार कालोपत्रे गरेका हौँ,’ उनले भने, ‘यो पिच कलंकीसम्म नै हुन्छ, तर बालाजुदेखि स्वयम्भूसम्म भने काठमाडौं महानगरपालिकाले दायाँबायाँ पिच गरिदिने सहमति गरेको छ ।’ उनका अनुसार महानगरपालिकाले धुलोरहित बनाउन रिङरोड तथा भित्री सडक कालोपत्रे गर्न सडक विभागलाई आग्रह गरेको थियो । तर, विभागले केही ठाउँमा महानगरले पनि लगानी गर्नुपर्छ भनेपछि महानगरपालिका भित्री सडक, फिनिसिङ गर्ने, रिङरोड जोड्ने केही पुल र सडकमा पिच तथा मर्मत गर्न सहमति भएको हो ।
आयोजनाले बिचको भागमा केही कालोपत्रे भएको र दायाँबायाँ कच्ची भएको भन्दै हाललाई धुलोमुक्त र मर्मत–सम्भार योजनाअनुसार कालोपत्रे गर्न लागेको हो । दायाँबायाँ गरेर करिब तीन–तीन मिटर कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । तर, यो अस्थायी तथा चिनियाँ पक्षले काम सुरु नगर्दासम्मका लागि मात्र हो । हालसम्म वसुन्धरादेखि सामाखुसीसम्म दुई किमी दायाँबायाँ पिच गरिएको छ । अब आयोजनाले स्वयम्भूदेखि कलंकीसम्म पनि दायाँबायाँ यसैगरी पिच गर्नेछ । यसो गर्दा उक्त खण्डमा केही हदसम्म धुलो कम भएको छ भने स्थानीयवासीलाई पनि राहत मिलेको छ । उक्त कार्यका लागि आयोजनाले साढे चार करोड बजेट विनियोजन गरेको छ ।
हालसम्म करिब एक करोड बजेट खर्च भएको छ भने मुख्य धुलो उड्ने क्षेत्र गोंगबुमा काम गर्न बाँकी नै छ । ‘अहिले सबैभन्दा बढी खाल्डाखुल्डी र धुलो गोंगबु क्षेत्रमा छ, यो क्षेत्रका बासिन्दाले धेरैपटक गुनासो पनि गर्नुभएकाले अहिलेलाई अस्थायी रूपमा पिच गर्ने कार्य भएको हो,’ इन्जिनियर सिंहले भने, ‘बालाजुमा पनि धेरै खाल्डाखुल्डी छन्, यस क्षेत्रमा महानगरले पिच गर्ने सहमति गरेको छ ।’ उनका अनुसार यस क्षेत्रमा चिनियाँ पक्षले काम कहिलेदेखि सुरु गर्ने हो भन्ने यकिन छैन । हाल नेपाल पक्षसँग चिनियाँ पक्ष सम्पर्कमै नभएकाले काम कहिलेदेखि सुरु हुने हो आयोजनालाईसमेत पत्तो छैन ।
बेखबर छ चिनियाँ पक्ष
चिनियाँ ठेकेदार कम्पनीले रिङरोड सडकखण्ड कालोपत्रे गर्ने ठेक्का लिने प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म ठेकेदार कम्पनी सम्पर्कमै छैन । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा यो विषयमा केही कुरा नै उठेन । चिनियाँ कम्पनीकै कारण अघि बढ्न नसकेको रिङरोडको यो खण्डबारे छलफल गर्न भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभाग कुनै पनि प्रतिनिधिलाई लगिएको थिएन । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले यो विषयमा सरकारले चीन भ्रमणका क्रममा छलफल गरेको भए काम अघि बढ्न सक्ने बताए । ‘चीन भ्रमणमा हाम्रो विभाग तथा सडकसँग सम्बन्धित प्रतिनिधिहरू गएनौँ, यसबारेमा जानकारी गराएको भए राम्रो हुने थियो,’ उनले भने ।