मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Thursday, 19 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ भदौ २८ मंगलबार o७:३१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेंगु

देशभर संक्रमितको संख्या नौ हजार आठ सय ३५ पुग्यो, काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार o७:३१:oo

देशभर डेंगु संक्रमित हुनेको संख्या नौ हजार आठ सय ३५ पुगेको छ । डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित छ । डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या काठमाडौं र ललितपुरमा छ । ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु संक्रमण भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको छ । उपत्यकामा संक्रमण तीव्र छ । महाशाखाका कीटजन्य रोग प्रमुख गोकर्ण घिमिरेका अनुसार संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै सात हजार चार सय ४० जना छन् । लुम्बिनीमा प्रदेशमा एक हजार तीन सय ५६, सुदूरपश्चिममा दुई सय ७१, प्रदेश १ मा तीन सय २० जनालाई डेंगु संक्रमण भएको छ । गण्डकीमा दुई सय दुई, मधेस प्रदेशमा एक सय ८० र कर्णाली प्रदेशमा करिब ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ‘डेंगु संक्रमण अझै फैलँदो छ, अझ उपत्यकामा यसको ग्राफ दिनहुँ बढेको देखिन्छ,’ घिमिरेले भने, ‘यसबारे अझै होसियार हुन जरुरी छ ।’ 

स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि साताअघि अति प्रभावित १० जिल्लामा डाक्टरसहितको नियन्त्रण टोली खटाएको थियो । टोली हाल डेंगु नियन्त्रणमा परिचालन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार उपत्यकामा चिसो सुरु हुन थालेपछि पनि डेंगु संक्रमण तीव्र छ । ‘डेंगु संक्रमणदर बढ्दो छ, हामीले पूरै जीउ छोप्ने गरी लुगा लगाउनुपर्छ,’ उनले भने, ‘जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जान्छन् र यो पनि कम हुँदै जानेछ ।’ उनले सरकारको तर्फबाट यसको रोकथामको प्रयास भए पनि व्यक्तिगत रूपमा सजग नहुँदा संक्रमण बढेको बताए । 

उपत्यकामा डेंगु भयावह छ
 डा. सञ्जयकुमार ठाकुर, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

डेंगु संक्रमणदर बढ्दो छ, अझ उपत्यकामा भयावह बनेको छ । त्यसैले हामीले पूरै जीउ छोप्ने गरी कपडा लगाउनुपर्छ । जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जान्छन् र यो पनि कम हुँदै जानेछ ।

 टेकु, पाटन र वीरमा बिरामीको चाप बढी 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा आइसियूमा भर्ना हुने बिरामीको संख्या बढेको छ । हाल अस्पतालमा ११ जना डेंगुका बिरामीको आइसियूमा उपचार भइरहेको छ । सामान्य बेडमा ३० जनाको उपचार भइरहेको छ । केन्द्रमा दैनिक ८० जना डेंगुका बिरामी उपचारका लागि पुग्ने गर्छन् । केन्द्रका सूचना अधिकारी नवराज गौतमले डेंगुका बिरामीको संख्या दिनहुँ बढिरहेको बताए । ‘हामीकहाँ उपचार गराउन आउने बिरामीको चाप बढी छ,’ उनले भने, ‘अघिकांश बिरामी गम्भीर लक्षणका साथ आउँछन् ।’ उनका अनुसार हालसम्म केन्द्रमा दुई हजार नौ सय डेंगुका बिरामी उपचारका लागि आएका छन् । त्यसमध्ये दुईजनाको मृत्यु भएको छ भने अधिकांश बिरामी निको भएर फर्कने गरेका छन् । 

त्यस्तै, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि डेंगुका बिरामीको चाप धेरै छ । हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना नर्मल बेडमा भर्ना छन् भने तीनजना आइसियूमा उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । वीर अस्पतालमा पनि १० जनाको नर्मल बेडमा उपचार भइरहेको छ । डेंगु संक्रमण फैलिएपछि यससम्बन्धी लक्षणका बिरामीको संख्या पनि बढेको छ । 

 अहिलेसम्म सातजनाको मृत्यु 
डेंगु संक्रमण भयावह बनेपछि यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो १५ दिनयता सातजनाले डेंगु संक्रमणबाट ज्यान गुमाएको महाशाखाले जनाएको छ । मृत्यु हुनेमध्ये मेडिसिटी अस्पतालमा उपचाररत ३८ वर्षीय पुरुष, निसर्ग अस्पतालमा ३५ वर्षीया महिला, कान्ति बाल अस्पतालमा उपचाररत तीन वर्षीया बालिका छन् । भेरी अस्पतालमा १२ वर्षीया बालिकाले डेंगु संक्रमणबाट ज्यान गुमाएकी छिन् । ग्रान्डी र सुमेरु अस्पतालमा उपचाररत एक–एकजना र चितवन मेडिकल कलेजमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दुईजना डेंगु र कोभिड– १९ दुवैको संक्रमणका बिरामी रहेको महाशाखाले जनाएको छ । 

उपत्यकामा डेंगु भयावह छ
 डा. सञ्जयकुमार ठाकुर, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

डेंगु संक्रमणदर बढ्दो छ, अझ उपत्यकामा भयावह बनेको छ । त्यसैले हामीले पूरै जीउ छोप्ने गरी कपडा लगाउनुपर्छ । जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जान्छन् र यो पनि कम हुँदै जानेछ ।