यति वेला जिल्ला तहमा राजनीतिक दलहरूले आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्। शनिबार नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नं. २ ले प्रत्यक्षमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम सिफारिस गरेपछि सोमबार नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्र बाग्लुङका इन्चार्ज बलावती शर्माका अनुसार बाग्लुङ क्षेत्र नं. २ को सुझावअनुसार अध्यक्ष प्रचण्डको नाम सिफारिस गरिएको हो। प्रचण्डसँगै क्षेत्र नं. २ बाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं वर्तमान सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री चन्दबहादुर बुढा सागर र कृष्ण केसीको नाम सिफारिस गरिएको छ।
माओवादी केन्द्र बाग्लुङ इन्चार्ज शर्माका अनुसार अध्यक्ष प्रचण्ड र केसीको नाम सुझाव आएकाले सिफारिस गरिएको हो। माओवादी केन्द्रले सोमबार मात्रै दुवै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। शिक्षामन्त्री पौडेल र केसीलाई क्षेत्र नं. १ बाट पनि सिफारिस गरिएको छ। माओवादीले संघका लागि समानुपातिकतर्फ क्षेत्र नं. १ बाट बलावती शर्मा र मोहम्मद अजिजको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट नीलबहादुर पुन, निरमाया श्रीस, केशरी घर्तीमगर र ललित श्रीसको नाम सिफारिस गरेको छ।