चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’का चर्चित कलाकार मधुसुदन पाठक ‘सीते बा’ प्रतिनिधिसभाको आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन् । आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममार्फत सीते बाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
अभियान गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रत्यासी बनेका सुमन सायमीको नेतृत्वमा अभियान घोषणा भएको हो। कार्यक्रममा दलीय बेथितिबाट मुलुकलाई मुक्त गर्न स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन आवश्यक रहेको भन्दै अभियान घोषणा गरिएको थियो।
कार्यक्रममा अभियानका संयोजक सायमीले स्वतन्त्र उम्मेदवारहरू एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको दाबी गरे। सोही कार्यक्रममार्फत थुप्रै उम्मेदवारी घोषणा गरिएको थियो। आकांक्षी र अभियन्ताहरूले एकपटक स्वतन्त्र उम्मेदवारलाई भोट दिएर मौका दिन आग्रह गरेका थिए।
अभियानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौं २ मा रोहन कार्की, ९ मा विद्या श्रेष्ठ, ललितपुर ३ मा राजाराम तण्डुकार, भक्तपुर २ मा दहे स्तम्भ ‘लोकेन्द्र’, रुपन्देही ५ मा भीष्म रानालाई उम्मेदवार बन्न दिने घोषणा गर्यो। कार्यक्रममा उम्मेदवारी घोषणा गरेकाहरूलाई चुनाव चिह्न लौरो र राष्ट्रिय झन्डा प्रदान गरिएको थियो।