एमाले अध्यक्ष केपी ओलीले भारतले ६० वर्षदेखि कब्जा गरेको दार्चुलास्थित नेपाली भूमि आफूले फिर्ता गराएको दाबी गरेका छन्। बुधबार एमाले कञ्चनपुरले गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि आफूले फिर्ता गराएको दाबी गरेका हुन्।
‘मेरै नेतृत्वको सरकार हुँदा चुच्चे नक्सा निर्माण गरेर कब्जा गरिएको भूमि फिर्ता लिएँ,’ उनले भने, ‘अहिलेको गठबन्धन सरकारले त्यसलाई समस्या भन्यो।’ अध्यक्ष ओलीले वर्तमान गठबन्धन अरू कसैले बनाइदिएको जिकिर गरे। ‘यो गठबन्धन आफैँ बनेको होइन, अर्काले बनाइदियो,’ उनले भने, ‘फुट्ने जुट्ने यिनको हातमा छैन।’
आसन्न निर्वाचनमा एमाले एक्लै लड्दा पनि जित्ने भन्दै उनले नेता गठबन्धनतिर र जनता एमालेतिर रहेको बताए। देशैभरि एमालेको लहर चलिरहेकाले एमाले हिजोभन्दा पनि बलियो हुँदै गएको उनको भनाइ थियो। ‘सरकारमा हुँदा पनि पार्टी परित्याग गरेर नेताहरू धमाधम एमालेमा आइरहेका छन्। विगतमा एमाले छाडेकाहरू अहिले घर फर्किरहेका छन्। किनभने, एमाले जनताको बीचमा थप लोकप्रिय बन्दै गएको छ,’ उनले भने।
सरकारमा हुँदा एमालेले जनतालाई जमिनको मालिक बनाउने योजना ल्याएको चर्चा गर्दै उनले अहिलेको गठबन्धन सरकारले अलपत्र छाडिदिएको दाबी गरे। कार्यक्रममा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा, कांग्रेसका बहालवालामन्त्रीसहित दर्जनौँ नेता-कार्यकर्ता एमाले प्रवेश गरे।
सुदूरपश्चिम सरकारका बहालवालामन्त्री तथा समाजवादीका केन्द्रीय सदस्य कुलवीर चौधरी, समाजवादीबाट निर्वतमान सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाही, प्रदेश उपसचिव तारा तामाङ, बेदकोट नगरका निवर्तमान मेयर अशोक चन्द, रामचन्द्र रेग्मी, देवबहादुर चन्द, चेतराम कामी एमाले प्रवेश गरे।
यस्तै, माओवादीको स्कुलिङ विभागका सुदूरपश्चिम प्रदेशप्रमुख रामबहादुर गुरुङ, मोहन गिरी, कल्पना गिरी, संविधानसभा सदस्य दुर्गा खनाल, युवा नेता मोहन पन्त, कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष शंकरदत्त जोशी, घाँसीराम चौधरी, जनमोर्चाका सचिव अहिमान थापालगायत पाँच सयभन्दा बढी एमाले प्रवेश गरेको एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए।