मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७९ भदौ १२ आइतबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा बाढीले हेलम्बुको फाँट डुबायाे, सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७९ भदौ १२ आइतबार १३:०५:००

शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्‍याएकाे छ ।  भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् ।

बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँगाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँठाउँमा सडकैसडक खोला बगिरहेको छ ।

यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् । नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीचबाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशः टासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रूपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो । यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन् ।