एमाले अध्यक्ष केपी ओलीले नेकपा एमाले आगामी ४ मंसिरको चुनावमा आत्मविश्वासका साथ विजयपथको यात्रामा अगाडि बढिरहेको बताएका छन्। चुनावी रणनीति तयारीबारे शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले स्थानीय तहको निर्वाचनमा अस्तित्व नै मेटाउँछौँ भन्दै लागेकाहरूको चौतर्फी घेराबन्दी तोडेर उल्लेख्य उपलब्धि हासिल गरी लोकप्रिय मत हासिल गरेको भन्दै विजययात्रामा आत्मविश्वाससहित अगाडि बढ्न केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिए।
अध्यक्ष ओलीले अबको निर्वाचनमा पनि जतिसुकै घेराबन्दी भए पनि गठबन्धनका कारण संकटमा परेको देशलाई निकास दिन एमालेलाई हार्ने छुट नभएको जिकिर गरे। ‘जतिसुकै घेराबन्दी भए पनि एमालेलाई हार्ने छुट छैन। जनताको साथ लिएर देशलाई संकटबाट निकास दिन गठबन्धनलाई पराजित गर्नुपर्छ,’ उनले भने।
जारी केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ११ एजेन्डा प्रस्तुत भएको छ।