जिल्लाका स्थानीय तहले दलित समुदायकाे बसाेबास रहेका बस्तीमा वितरण गरेका शौचालय निर्माण सामग्री बेवारिसे बनेका छन्। शौचालय बनाउने जमिन नै नहुँदा ती सामग्री प्रयोगविहीन बनेका हुन्।
चन्द्रपुर–९ स्थित मुसहर बस्तीका मनोज मुसहरको घरपछाडि शौचालय बनाउने रिङको चाङ छ। रिङभित्र फोहोर थुपारिएको छ। शौचालय बनाउनुपर्ने रिङ शौचालय बनाउने जग्गा नभएका कारण यतिखेर डस्बिनमा प्रयोग हुन थालेको छ। ठाउँ अभावले मनोजले शौचालय बनाउन नसकेको बताए। जमिन अभावका कारण ३ वर्षदेखि रिङ, प्यानलगायत समान अलपत्र परेको उनले बताए।
दुई वर्षअघि नै शौचालय बनाउन दलित बस्तीले वडा कार्यालयबाट सामान पाएकाे हो तर एक धुर पनि निजी जमिन नभएकाले बनाउन सकेका छैनन्। बरु रिङमा घरबाट निस्कने फोहोर फाल्ने गरेको मनोजको भनाइ रहेको छ। उनले भने, ‘गरिब विपन्नलाई शौचालय बनाउन पैसा छैन। ऋण गरेर बनाऊँ भने पनि आफ्नो जमिन छैन, कसरी बनाउने शौचालय ?’
मनोज मात्र होइन सो बस्तीका ६० घरमध्ये एक-दुईजनाले मात्र शौचालय बनाएको स्थानीयले बताए। अधिकांशले जमिन अभावले शौचालय बनाउन नसकेकाे स्थानीय रुपेन्द्र पटेलले बताए। केही रिङ फुटेर कामै नलाग्ने भएको स्थानीय बताउँछन्। बस्तीका सबैजसो परिवार झुपडीमा बस्छन्। कसैको एक धुर पनि नम्बरी जग्गा छैन। यो सुकुमबासी बस्तीमा वडा कार्यालयले शौचालय बनाउन प्यानसहितका सामग्री वितरण गरेको थियो। जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले भने ४ वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिसकेको छ तर जिल्लाका दलित बस्तीमा भने शौचालय नै छैन।
चन्द्रपुर–९ का वडाध्यक्ष नवराज देवकोटाले शौचालय बनाउन सामान दिए पनि स्थानीयले नबनाएको बताए। नेपाल सरकारको गुरुयोजनाअन्तर्गत खुला दिसामुक्त वडा बनाउने अभियानअन्तर्गत यो बस्तीमा पनि शौचालयको सामान वितरण गरिएको हो। तर, त्यसवेला वितरण भएका सामान शौचालयमा प्रयोग हुन सकेका छैनन्। जिल्लाका अधिकांश दलित बस्तीको हालत यस्तै छ। जिल्लाको डुमरिया, बडहर्वा, धमौरा, लक्ष्मीपुर, चेतनगर, कटहरिया, गुजरा, चन्द्रपुरलगायतमा रहेका डोम, चमार, मुसहरलगायतका दलित बस्तीमा शौचालय छैनन्। उनीहरूलाई बासस्थानकै अभाव छ।