मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २५ बुधबार १९:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरू देशलाई विखण्डन गर्ने तत्व हुन् : नेता रावल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २५ बुधबार १९:५२:००

नेकपा एमालेका नेता भीम रावलले सरकार संविधानमा उल्लेखित कानुनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको आरोप लगाएका छन् । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको र त्यसो गरे संविधानविपरीत हुने नेता रावलले दाबी गरेका हुन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने जिकिर गरे । 

अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरू देशलाई विखण्डन गर्ने तत्व भएको बताए। ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनुहुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतविरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानुन छ,’ नेता रावलले भने, ‘अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरू देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो ।’

नेता रावलले नेपालीहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको पनि बताए । सुस्ता, कालापानी, सन्दुकपुरलगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियो । कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदासमेत सरकार मौन रहेको भन्दै उनले सीमारक्षाका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाए ।