![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/saptakoshi_udayapur2022-08-03-10-45-07.gif)
उदयपुरको बेलका नगरपालिका– ८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ । लगातारको वर्षासँगै बुधबार बिहान २ बजेतिर सप्तकोसीको बाढी बस्ती पसेपछि गाउँलेको बिचल्ली भएको हो ।
बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले ठूलो भंगालो बस्ती बस्दा धेरैको बिचल्ली भएको बताए । ‘हामीले हिजैदेखि सुरक्षित स्थानमा सर्न गाउँलेलाई अनुरोध गरेका थियौँ । राति एक्कासि ठूलो भंगालो बस्ती पस्न थालेपछि धेरैको बिचल्ली भयो,’ आचार्यले नयाँ पत्रिकासँग भने ।
गएको ५ असारदेखि कोसीमा पानीको बहाव बढेसँगै कटान बढेको थियो । उनले भने, ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोसी बगेको थियो । पछि मानिसहरूले त्यहाँ घर बनाए । ३४ वर्षपछि नदी फेरि त्यही ठाउँबाट बग्न सुरु भएको छ ।’
नदी बस्ती पस्दा झन्डै दुई सय परिवार विस्थापित भएका छन् । यकिन तथ्यांक अझै संकलन भइसकेको छैन ।