१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, तीन बालिकासहित ६ जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १२:o८:oo

कैलालीमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधबार बिहान घरनजिकै खेतमा काम गरिरहेका वेला चट्याङ लाग्दा जोशीपुर गाउँपालिका– ३, भितरीयाका ३९ वर्षीय जयराम डगौराको मृत्यु भएको छ। 

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई आफन्तले स्थानीय महापार्वती क्लिनिक पुर्‍याएका  थिए। उपचारका क्रममा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले बताए। 

त्यस्तै, धनगढी उपमहानगरपालिका- १८, एफ गाउँका सालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान घरनजिकै खेतमा रोपाइँ गर्ने क्रममा उनलाई चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ लागेर जानकी गाउँपालिका- ४, बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा र भजनी नगरपालिका- ६, का ५५ वर्षीय रामबहादुर चौधरी घाइते भएका छन्। चौधरीको दायाँ हात जलेको छ। त्यस्तै, घोडाघोडी नगरपालिका- ९ बुदेनीका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते भएका छन्। नौ वर्षीया सरस्वती भुल, सात वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत चट्याङ लागेर घाइते भएका प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।  

आज बिहान विद्यालय जाने क्रममा तीनैजनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते एक बालिकाको चट्याङ लागेर आन्द्रा बाहिर निस्किएको छ भए दुईजनाको टाउकोमा चोट लागेको छ। तीनैजना बालिकालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।