१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १३:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किराना पसलमा लागुऔषध बिक्री गर्ने महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १३:o१:oo

घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका– १ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ । आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री–वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी यादवको किराना पसल र घरको खानतलासीको क्रममा १०/१० थान प्रोमोथोजिन हाइड्रोक्लोराइड, डाइजिपाम र इप्पल इन्जेक्सन बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । 

उनका अनुसार पसलबाट नाइट्राभेट १० लेखिएको तीन सय २५ थान ट्याब्लेट, ३० थान सुई, ६ थान मोबाइल र नेपाली र भारतीय मुद्रा गरी सात हजार ९० रुपैयाँ बरामद भएको छ । पक्राउ परेकी यादवलाई धनगढी प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । 

ब्राउनसुगरसहित तीनजना पक्राउ
प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढी, मिर्चैया तथा बरियारपट्टिबाट ५० ग्राम १० मिलिग्राम कडा खालका मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । 

ठाढीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका लहान नगरपालिका– ८ का करिब १८ वर्षीय मनीषकुमार चौधरीलाई ५० ग्राम ब्राउनसुगर, मिर्चैया नगरपालिका– ६ मटियर्वाबाट मधेश प्रदेश–०२–००७ प ८८७८ नम्बरको मोटरसाइकल चढेका मिर्चैया– ९ सुन्दरपुरका करिब २५ वर्षीय सुन्दरकुमार महतोलाई १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, बरियारपट्टि– ३ स्थित नेपाल–भारत सीमानाकाबाट सिराहा नगरपालिका– १ का करिब १७ वर्षीय रमेशकुमार ठाकुरले झोलामा लुकाएर ल्याएको ५०/५० थान प्रोमोथोजिन हाइड्रोक्लोराइड, बुप्रेनर्फिन र डाइजिपाम इन्जेक्सन बरामद भएकाले प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।