मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ११ बुधबार २१:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक र सामाजिक परिवर्तनका लागि हलो क्रान्तिको ठूलो योगदान छ : प्रदीप पौडेल 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ११ बुधबार २१:०५:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान पुर्याएको बताएका छन् । हलो क्रान्ति सुरुवात भएको स्थल लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा, बाटेगरामा आयाेजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताएका हुन् ।

दुराडाँडाका तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त पौडेललगायतले हलो क्रान्ति सुरुवात गरेका थिए। वि.सं.  २००४ देखि नै यो अभियान सुरु भए पनि अनौ समातेर हलो जोत्ने काम भने २००६ साउन ११ मा भएको मानिन्छ। त्यसवेला शेषकान्तले आफ्नो खेतमा अनौ समाएर हलो जोतेका थिए। लमजुङ हुँदै हलो क्रान्ति कास्की, गोरखा, तनहुँमा समेत पुगेको थियो। त्यसवेला हलो क्रान्तिले राणा शासनको विरोधसमेत गरेको थियो। 

पौडेलले चेतनशील यस ठाउँको विकास निर्माणमा सरकारले ध्यान पुर्‍याउन नसकेको बताए। ‘समाज परिवर्तनका लागि त्यसवेला यहाँ हलो क्रान्ति भएको थियो। यहाँ हलो जोतेपछि त्यसले नेपालका धेरै जिल्लामा हलचल ल्यायो,’ पौडेलले भने, ‘समाज सुधार गर्न र सामन्तवादविरूद्ध लड्ने त्यसवेला तोयानाथहरू थिए। भलै उनीहरू कांग्रेस थिए। तर, यो कांग्रेसको मात्र अभियान भने थिएन।’ 

हलो क्रान्तिलाई सुरुमा कांग्रेसले केन्द्रीय कार्यक्रम नबनाएको र पछि मात्रै आत्मसात् गर्दै यो अभियानलाई निरन्तरता दिन खोजेको देखिएको उनको भनाइ थियो । ‘हलो क्रान्ति प्रभावकारी बन्दै गएपछि कांग्रेसले देशभर सञ्चालन गरेको थियो। यो क्रान्ति राणाविरोधी आन्दोलन पनि थियो,’ पौडेलले भने, ‘यसले राजनीतिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरेको छ।’ 

नेता पौडेलले हलो क्रान्तिका नायक तोयानाथ अधिकारीको तत्कालीन अवस्थाको योगदानको उच्च प्रशंसा गरे । पर्चा तथा जुलुस नगरीकन र हतियार नउठाईकन तरंग ल्याउने काम तोयानाथ अधिकारीले तत्कालीन अवस्थामा गरेको उनको भनाइ थियो । २००६ साल साउन ११ गते अर्चलपानीमा पण्डित तोयनाथ अधिकारीलगायत २७ जना ब्राह्मणहरूले सामूहिक रूपमा हलो जोतेको दिनलाई हलोक्रान्तिको रूपमा लिइँदै आइएको छ ।