मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Thursday, 19 December, 2024
प्रेम गौतम काठमाडाैं
२o७९ श्रावण ११ बुधबार o६:२६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समाजवादी मोर्चाको कसरत : शीर्ष नेता सम्मिलित संयोजन समिति र एउटै चिह्नमा चुनाव लड्ने गृहकार्य

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार o६:२६:oo

जसपा र जनमोर्चाले खबरै पाएनन्

प्रदेश र संघीय निर्वाचनका लागि समाजवादी मोर्चा बनाउन माओवादी, एकीकृत समाजवादी, नेकपा राष्ट्रिय एकता अभियान र नयाँ पार्टीको तयारीमा रहेका बाबुराम भट्टराई सहमत भएका छन् । चार पार्टीका शीर्ष नेता सम्मिलित चुनाव संयोजन समिति बनाउने र एउटै चिह्नमा चुनाव लड्ने उनीहरूको तयारी छ । जसपा र जनमोर्चालाई पनि केन्द्रमा समेट्ने योजना छ । 

स्रोतका अनुसार उनीहरू माओवादीकै चुनाव चिह्न (गोलाकारभित्र हँसिया–हथौडा) लिएर आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तयारीमा छन् । तर, यसका लागि नेताहरू कानुनी परामर्शमा छन् । संयोजन समितिमा शीर्ष नेता रहनेछन् । संयोजकको विषयमा भने नेताहरू प्रवेश नै गरेका छैनन् ।

पहिला आफूहरूको मोर्चा बनाउने र कांग्रेससँग सिटको बाँडफाँड गर्ने नेताहरूको योजना छ । माओवादीका नेता वर्षमान पुनले समाजवादी केन्द्र निर्माणबारे सैद्धान्तिक सहमति भएको र यसलाई चाँडै नै व्यावहारिक रूप दिइने बताए । ‘समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ । समाजवादी केन्द्रबाट एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी छ,’ नेता पुनले नयाँ पत्रिकासँग भने । 

समाजवादी मोर्चा निर्माणका लागि शीर्ष नेताहरू लगातार संवादमा छन् । पछिल्लोपटक सोमबार साँझ सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकता अभियानका संयोजक वामदेव गौतमबीच आधा घन्टा छलफल भएको थियो । प्रचण्ड र गौतम समाजवादी मोर्चा निर्माणमा ढिलाइ गर्न नहुने बुझाइमा छन् । 

नेता गौतमले चाँडो समाजवादी केन्द्र बनाउनेबारे छलफल भएको बताए । ‘समाजवादी केन्द्र निर्माणको प्रक्रियालाई पूर्णता दिन ढिलाइ नगरौँ भन्ने छ,’ गौतमले भने, ‘एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने हाम्रो तयारी छ ।’ गौतमले मुलुक अब वामपन्थी समाजवादी र प्रजातान्त्रिक समाजवादीमा ध्रुवीकरण हुने दाबीसमेत गरे । ‘वामपन्थी समाजवादी खेमाको नेतृत्व हामी गर्छौँ, प्रजातान्त्रिक समाजवादी खेमाको नेतृत्व कांग्रेसले गर्छ,’ गौतमले भने । प्रचण्डले शीर्ष नेताबीच छिट्टै छलफल राखेर समाजवादी केन्द्रबारे निष्कर्षमा पुग्ने बताए । 

एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले छिट्टै बैठक बसेर छलफल हुने बताए । कार्यगत एकता भए पनि तत्काल पार्टी एकता सम्भव नभएको उनले बताए । ‘समाजवादी केन्द्र जरुरी छ, तर खासै प्रगति भइसकेको छैन । हामी छिट्टै बैठक बसेर थप कुराकानी गर्छौँ,’ खनालले भने, ‘तत्काल पार्टी एकता सम्भव छैन । त्यसका लागि पहिला वैचारिक एकता हुनुपर्छ, त्यसबारे चुनावपछि सोच्न सकिन्छ । अहिले गर्ने कार्यगत एकता हो ।’ 

माओवादी नेता हरिबोल गजुरेलले संयोजन समिति बनाएर अगाडि बढ्ने तयारी भए पनि प्रगति भइनसकेको बताए । ‘कसरी कार्यगत एकता गरेर जाने भन्ने विषयमा छिट्टै छलफल हुन्छ,’ उनले भने । 

जसपा र जनमोर्चाले खबरै पाएनन् 
समाजवादी केन्द्र निर्माणबारे जसपा र जनमोर्चासँग भने हालसम्म छलफल भएको छैन । मसालका महामन्त्री मोहनविक्रम सिंहले समाजवादी केन्द्र निर्माणबारे अहिलेसम्म औपचारिक प्रस्ताव नआएको बताए । ‘हामीसँग प्रस्ताव नै आएको छैन । प्रस्ताव आयो भने हामी छलफल गर्छौँ,’ उनले भने । जसपाका प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले पनि समाजवादी केन्द्रबारे प्रस्ताव नआएको बताए । ‘प्रस्ताव नै नआएको विषयमा के हुन्छ भनेर सोच्ने कुरा भएन,’ उनले भने ।