मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १० मंगलबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कछुवा गतिमा निर्माण हुँदै गागन खोलाको पुल, सर्वसाधारणलाई सास्ती

Read Time : < 1 मिनेट
२०७९ श्रावण १० मंगलबार १८:१०:००

पूर्व-पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा खण्डको औरही र दरहैया गाउँको बीचमा पर्ने गागन पुल नबन्दा स्थानीय सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। सम्झौता भएको अढाई वर्ष बित्दासमेत पिल्लर मात्र ठड्याइएको र खोलाको दुवैतिर ड्याम बाँधिएकाले खोला गहिरो भएर बग्दा करिब तीन फिटसम्म पानीमा हेलिएर ओहोर–दोहोर गर्न बाध्य भएको सर्वसाधारणको गुनासो छ।  

हिराचन रोशन जेबीमार्फत रोशन कन्ट्रक्सनले निर्माण गरिरहेको पुल ८ साउन २०७९ भित्र निर्माण सकिने गरी ८ माघ २०७६ मा सम्झौता भएको थियो। सुस्त गतिमा पुल निर्माणको काम भइरहेकाले गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न समस्या हुने गरेको औरही १ हरट्टी दरहैयाका वडा सदस्यसमेत रहेका स्थानीय रामकुमार यादवले बताए।

‘ठेकेदार कम्पनीको कारणले पुल निर्माण ढिलो हुँदै जाँदा बर्खामा सर्वसाधारण जोखिम मोलेर गागन वारपार गर्न बाध्य छन्,’ वडा सदस्य यादवले भने। 

हुलाकी सडकअन्तर्गत सिराहा खण्डमा पर्ने पूर्व बलानदेखि पश्चिम कमला नदीसम्मका प्रायः सबै ठाउँका सडकमा कालोपत्र सकिए पनि गागनमा पुल निर्माण नहुँदा हुलाकी सडक हुँदै दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारण अप्ठ्यारोमा पर्ने गरेको हरकट्टीका महेश यादवले बताए। करिब २० वर्षअघि औरही गाउँको पूर्वपट्टिबाट बग्ने गागनमा पुल निर्माण गरेको १० वर्षपछि आएको बाढीले पुलदेखि करिब तीन सय ५० मिटर उत्तरतिर बाँध भत्काएर खोलाले धार परिवर्तन गरेको थियो। 

खोला बाँध भत्काएर पुरानो पुलभन्दा दुई सय मिटर पूर्वबाट बग्न थालेपछि स्थानीय पानीमा हेलिएर आवतजावत गर्न बाध्य छन्। ‘हिउँदमा ठीकै हुन्छ तर बर्खामा मोटरसाइकल, साइकल वारपार गराउन अप्ठ्यारो हुन्छ’, दरहैयाका वीरेन्द्र शर्माले बताए।