मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मृतक करिना गणेशको घरअगाडि जम्मा भएका स्थानीय 
२०७९ श्रावण ९ सोमबार ०६:२४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिया बगानका तीन मजदुर किशोरी एउटै रूखमा झुन्डिएको अवस्थामा फेला

Read Time : > 1 मिनेट
२०७९ श्रावण ९ सोमबार ०६:२४:००

झापाका तीन किशोरी एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । उनीहरू घरबाट घुम्न जाने भन्दै निस्किएका थिए ।कचनाकवल गाउँपालिका– ५ का १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १७ वर्षकै कल्पनाकुमारी गणेश सोही वडाको सुनकोसी चिया बगाननजिकैको एउटा रूखमा आइतबार झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । तीनैजना किशोरी सोही चिया बगानमा मजदुरी गर्दै आएका थिए । घटनास्थल नेपाल–भारत सीमानजिकै पर्छ ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार उनीहरू शनिबार घुम्न जाने भन्दै घरबाट निस्किएका थिए । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा आइतबार बिहान सबैजना एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएको उनले बताए । ‘तीनैजना मिल्ने साथी रहेछन् । घरमा जानकारी गराएरै घुम्न निस्किएका रहेछन् । भोलिपल्ट एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएपछि मात्रै हामीलाई खबर आएको हो । घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानले हत्या होइनजस्तो देखिन्छ । तर, विस्तृत अनुसन्धान नगरी निश्चित भन्ने अवस्था छैन,’ डिएसपी पाठकले भने, ‘उनीहरूका बानी–व्यवहारबारे स्थानीयसँग सोधपुछ गरेका छौँ । उनीहरूका साथीभाइलाई पनि बोलाएर सोधपुछ गर्ने तयारी गरेका छौँ । गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौँ ।’ 

घरमै भनेर घुम्न निस्किएका कारण राति अबेरसम्म नआए पनि परिवारले प्रहरीलाई खबर गरेका थिएनन् । आइतबार परिवार तथा स्थानीयले शव देखेपछि मात्रै प्रहरीलाई खबर गरेको पाठकले बताए । प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । मेची अस्पताल भद्रपुरमै पोस्टमार्टम हुने भए पनि घटना संवेदनशील भएकाले धरान पठाइएको प्रहरीले जनाएको छ । मृतकमध्ये दुईजनाको साथबाट मोबाइल पनि फेला परेकाले त्यसलाई डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको डिएसपी पाठकले बताए । 

उनीहरू झुन्डिएको रूखमुनि देउनिया खोला छ । तीनैजना एउटै रूखमा झुन्डिए पनि डोरी भने फरक छन् । घटनास्थल र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको सुनकोसी बगानका व्यवस्थापक सन्तोष थेबे बताउँछन् । ‘घटना शंकास्पद नै देखिन्छ । कसैले केही गरेको हो कि भन्ने देखिन्छ । मुनिबाट खोला छ । रूख पनि अप्ठ्यारो ठाउँमा छ,’ उनी भन्छन्, ‘एउटै रूखमा तीनजनाले यस्तो नगर्नुपर्ने हो । प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरोस् ।’ 

मृतक किशोरीका परिवार अतिविपन्न छन् । बगानमा ज्यालादारी गरेर परिवार चल्दै आएको थियो । उनीहरूले पनि केही महिनादेखि चिया टिप्दै आएका थिए । हरेक शनिबार छुट्टी हुने भएकाले उनीहरू भेला भएर बस्ने, घुम्ने गरेको परिवार बताउँछन् । चिया बगानमा पनि उनीहरूको कसैसँग नराम्रो नभएको सँगै काम गर्ने भारती गणेशले बताइन् । 
‘बगानमा पनि कोही–कसैसँग झगडा थिएन । ज्याला पनि नियमित थियो । हामी सबैले बराबर दैनिक तीन सय ४० रुपैयाँ ज्याला पाइरहेका थियौँ,’ उनले भनिन्, ‘यस्तो घटना देख्दा केही भन्न सक्ने अवस्था नै रहेन । कसरी यस्तो भयो ?’ बगान व्यवस्थापक थेबेका अनुसार शुक्रबारसम्म उनीहरू बगानमा काममै थिए । ‘तीनैजना सरल स्वभावका थिए । छलकपट थिएन,’ उनले भने, ‘समयमा काममा आउँथे, समयमै जान्थे ।’ 

मृतक कल्पनाका बुबा वीरबल गणेश भन्छन्–उनीहरूले कसैसँग झगडा गरेको थाहा छैन, प्रहरीले सत्यतथ्य ल्याओस्
उनीहरू तीनैजनामा छलकपट केही थिएन । कसैसँग पनि झगडा गरेको थाहा छैन । बगानमा काम गर्थे । मिहिनेती थिए । म त शनिबार बिहान पारि (भारत) गएको थिएँ । दिउँसो नजिकैको पसलबाट चिसो ल्याएर घरमै खाएछन् । बेलुका आउँदा देखिनँ । गाउँघरमा सोधेँ । तर, कतै पाहुना गए होला, बिहान काम गर्न आइहाल्छन् भन्ने सोचेँ । तर, फर्किएनन् । बिहान चिया टिप्नेले झुन्डिएको अवस्थामा भेटिए भन्दा त छक्क परेँ । झुन्डिएको अवस्थामा पनि उनीहरूको कपालसमेत बिग्रिएको थिएन । के भएर यस्तो भयो प्रहरीले सत्यतथ्य ल्याओस् ।