मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ श्रावण ८ आइतबार o९:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारको नेतृत्व परिवर्तन सम्भव नभए सबै मन्त्री फेर्ने कांग्रेसको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार o९:५५:oo

लुम्बिनी सरकारमा कांग्रेसको दाबी, नछाड्ने माओवादी अडान

लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेसले दबाब बढाएको छ । पूर्वसहमतिअनुसार माओवादीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको दाबी छ ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई विस्थापित गर्दै गत २८ साउनमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका हुन् । कांग्रेस, एकीकृत समाजवादी, जसपा तथा स्वतन्त्र समूहको समर्थनमा मुख्यमन्त्री बनेका केसीले पूर्वसहमतिअनुसार नेतृत्व हस्तान्तरण नगरेको कांग्रेस नेताहरूको दाबी छ । 

प्रदेशमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले एमाले नेतृत्वको सरकार विस्थापित गर्ने क्रममै आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको बताए । हाल काठमाडौं रहेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कनोडियाले भने, ‘फागुनमै सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने हो । 

हामीबीच समझदारी भएकै हो । तर, हालसम्म पनि सरकार हस्तान्तरण नभएपछि यसबारे नेताहरूसँग छलफल हुँदै छ ।’ उनले आफूले पार्टीका शीर्ष नेतासँग प्रदेश सरकारका विषयमा भएको पूर्वसहमतिबारे जानकारी गराएको बताए । सरकारको नेतृत्व परिवर्तनका लागि दबाब बढाए पनि शीर्ष नेताहरूबीचको सहमतिमा मात्र सरकारको नेतृत्व फेरिने कांग्रेस नेताहरूको विश्वास छ । 

त्यसैले सरकारको नेतृत्व परिवर्तन नभए मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने अडान उनीहरूको छ । ‘लुम्बिनी मात्रै नभई बागमती, सुदूरपश्चिम प्रदेशको सरकारका विषयमा पनि सहमति गर्नुपर्ने भएकाले शीर्ष तहबाट छिट्टै टुंगोमा पुग्ने विश्वास छ,’ कनोडियाले भने । 

कनोडियाका अनुसार पूर्वसहमतिअनुसार सरकारको नेतृत्व आलोपालो गर्ने अवस्था नआए मन्त्रिमण्डल पुनर्गठन गरिनेछ । पुनर्गठन गर्दा हाल मन्त्री रहेका सबैलाई फिर्ता बोलाउने कि केहीलाई भन्नेबारेमा पनि निष्कर्षमा पुग्न बाँकी छ । तर, मंगलबारसम्ममा सरकारको नेतृत्व परिवर्तन वा मन्त्रिमण्डल पुनर्गठन भन्ने विषय टुंगोमा पुग्ने उनले दाबी गरे । 

मन्त्री फेर्न माओवादीमा दबाब 
मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादीभित्रै पनि दबाब बढ्न थालेको छ । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले माओवादीले सरकारको नेतृत्व नछाड्ने, तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनका विषयमा भने छलफल चलिरहेकोे बताए । ‘सरकारको नेतृत्व परिवर्तन हुँदैन,’ उनले भने, ‘मन्त्रिमण्डल पुनर्गठन गर्न पार्टीभित्र तयारी भइरहेको छ ।’ 

मन्त्रिमण्डल पुनर्गठन मात्र भए माओवादीबाट तुलाराम घर्तीमगर, दामाकुमारी शर्मा, तेजबहादुर ओली, कृष्णा केसी, इन्द्रप्रसाद खरेलबाट मन्त्री छान्ने तयारी छ । अन्य सांसदले पनि मन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसबाट प्रमुख सचेतक फखरुद्दिन खान, सचेतक निर्मला क्षेत्री, सांसदहरू शंकर गिरी, रमा आर्याल, बैजनाथ कलवार, पुष्पा थरुनी, अष्टभुजा पाठकको नाम चर्चामा छ । 

लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । १७ सदस्यीय मन्त्रिमण्डल रहेकोमा विमलाकुमारी खत्री वलीको राजीनामापछि १६ सदस्यीय छ । सरकारमा माओवादीबाट मुख्यमन्त्रीसहित पाँच, कांग्रेसबाट ६, जसपाबाट तीन, एकीकृत समाजवादी र स्वतन्त्र समूहबाट एक–एक मन्त्री छन् ।