मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ५ बिहीबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घुम्न जाने नेपालीलाई मनी चेन्जरमार्फत २०० डलरको सटही सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ५ बिहीबार ०६:२५:००

विदेश घुम्न जाने नेपालीले मनी चेन्जरमार्फत दुई सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीलाई अधिकतम सीमामा रहेर सटही सुविधा दिएको हो । यसअघि मनी चेन्जरमार्फत डलर लिन पाइने सुविधा थिएन । सर्वसाधारणलाई विदेश घुम्न जाँदा एक हजार पाँच सय अमेरिकी डलरसम्मको सटही सुविधा छ । यदि बैंकबाट यो सुविधा लिइसकेको छ भने मनी चेन्जरबाट थप सुविधा नपाउने उल्लेख छ । 

हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ । विदेशी मुद्रा नपुग्नेजस्तो अवस्थामा अधिकतम सीमाभित्र रही इजाजतप्राप्त अन्तर्राष्ट्रिय विमानस्थलका मनी चेन्जरबाट राहदानीका आधारमा यो सुविधा लिन सकिनेछ । 

नेपाल राष्ट्र बैंक मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ)को व्यवस्थाबमोजिम उक्त सुविधा प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप दुई सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।

कामको सिलसिलामा विदेश जानेका लागि भने अधिकतम दुई सय डलरसम्मको सटही सुविधा छ । उनीहरूले भने बैंकबाटै सटही सुविधा लिनुपर्नेछ । राष्ट्र बैंकले २०७७ चैतमा विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले पनि वार्षिक पाँच सय अमेरिकी डलरबराबरको भुक्तानी प्रिपेड डलर कार्डमार्फत विदेशी मुद्रामा गर्न पाउने व्यवस्था गरेको थियो ।