चितवन राष्ट्रिय निकुञ्जले घाइते, बूढो र मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर खोरमा राख्न थालेको दुई दशक पुग्नै लाग्यो । तिनै घाइते, बूढो र आक्रमणकारी बाघको हेरचाह भने ४४ वर्षीय आइतराम बोटेले गर्दै आएका छन् ।
चितवनमा अहिले एकैपटक चारवटा बाघलाई खोरमा राख्न मिल्छ। निकुञ्जको मुख्य कार्यालय कसरामा दुई र सौराहामा दुई वटा बाघ राख्न मिल्ने खोर छ। अहिले कसरामै थप दुई बाघ राख्न मिल्ने नयाँ आधुनिक खोर बन्दैछ।
बोटे थुनामा राखेका बाघ सन्तानजस्तै लाग्न थालेको बताउँछन् । नहोस् पनि किन ? उनी बाघसँग यसरी नजिकिएको १८ वर्ष भयो । २ भदौ ०५३ मा जागिरमा छिर्दा उनी १९ वर्षका मात्रै थिए । त्यतिवेला निकुञ्जको घडियाल प्रजनन केन्द्रमा घडियाललाई आहारा खुवाउने, समाउने, पोखरी र केन्द्रको सरसफाइ गर्ने कामका लागि नियुक्त भएका थिए ।
यसको आठ वर्षपछि ०६१ सालमा निकुञ्जले घाइते, बूढो र मानिसलाई आक्रमण गरेका बाघ राख्न काठको खोर बनायो । त्यही समयदेखि उनी बाघ स्याहारसुसारमा खटिए । ‘सुरुमा नारायणी नाम गरेको पोथी बाघ थियो ।’ उनले भने, ‘खोरमा राखेको त्यो नै पहिलो बाघ हो । त्यो बाघको हेरचाह अरूले नै गर्थे । म सहयोगी मात्रै थिए । त्यसयता भने बाघको हेरचाह आफैँले गर्दै आएको छु ।’ उनका अनुसार एउटा बाघलाई दिनको पाँच केजी मासु चाहिन्छ । सँगै पानी र खोरको सरसफाइ गर्दैमा दिन बित्ने गरेको उनको भनाइ छ । बाघलाई माया गरेर उनी पाटे भनेर बोलाउँछन् । ‘कहिलेकाहीँ बाघका लागि मासु अभाव हँुदा आफूलाई पनि भोक लाग्दैन,’ बोटे भन्छन्, ‘खोरमा थुनेको बाघलाई भोको राखेर आफू मात्रै कसरी खानु ? मनैले मान्दैन ।’
एउटा पाडोको मासुले एउटा बाघलाई करिब २० दिन पुग्ने उनी बताउँछन् । यही हिसाबले एक दिन बिराएर १० केजी मासु राखिदिने गरेको उनको भनाइ छ । उनले भने, ‘खान ढिलो भयो वा भोक लाग्यो भने बाघले आवाज दिन्छ हामी आउँदा खुसी मानेजस्तो लाग्छ ।’ उनीहरूले खाने मासु स्वच्छ होस् भनेर फ्रिजको व्यवस्था गरिएको छ ।
हेरालुको १८ वर्षे जागिरमा १९ वटा बाघसँग संगत
कसराको खोरमा बोटेले हेरचाह गरिरहेको दुईमध्ये एउटा करिब आठ वर्षको भाले बाघ बाँकेबाट ल्याएको हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिएको अन्दाजी १० वर्षको भाले बाघ हो । बोटेले यसबीचमा १९ वटा बाघलाई हेरचाह गरिसकेको बताउँछन् । ‘केहीलाई जंगलमा लगेर पुनः छाडियो केही यहीँ मरे ।’ उनले भने, ‘अधिकांश समय चितवन राष्ट्रिय निकुञ्जआसपासका नदी, गोही प्रजनन केन्द्र र बाघको खोर वरपरमा बित्ने गरेको छ । अन्यत्र जानै मन लाग्दैन, लामो बिदा बस्न मनले नै मान्दैन ।’
बोटे यहाँ आउनुअघि लेबर काम गर्थे । केही समय भारतमा पनि कामको खोजीमा पुगेका थिए । पोखरामा मिस्त्रीको काम सिक्न भनेर घरबाट निस्केका उनी चितवन आइपुगे । ‘यहाँ पनि सुरुमा त पैसाकै लागि काम गर्न आएको हो । अहिलेचाहिँ संरक्षणका लागि काम गरिरहेको छु भन्ने लाग्छ ।’ बोटे भन्छन्, ‘यही रमाएको छु यहाँभन्दा पर कुनै सपना पनि छैन ।’
बोटेलाई बाहिर बाघ देख्दा डर लागे पनि थुनेको बाघसँग डर लाग्दैन । हामीले माया गरे बाघले पनि माया गर्ने उनी बताउँछन् । यद्यपि, उनी निकुञ्जले बनाएको नियममा बसेर बाघको हेरचाह गर्छन् । पाँच कक्षासम्म पढेका बोटे बाघ र घडियालसँग यति परिचित भइसके कि अहिलेसम्म कुनै अप्ठ्यारो परेको छैन ।
चारवटा बाघ वनमै फर्किए
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले आर्थिक वर्ष ०७८/०७९ मा समातिएका सातवटा बाघमध्ये चारवटालाई असार तेस्रो साता प्राकृतिक वासस्थानमा छोड्यो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अब चितवनको सौराहा र कसरामा गरी चारवटा बाघ खोरमा छन् । सन् २०१८ को अध्ययन प्रतिवेदनअनुसार नेपालमा बाघको संख्या दुई सय ३५ थिए । प्रतिवेदनअनुसार सबैभन्दा बढी ९३ वटा चितवन राष्ट्रिय निकुञ्जमा थिए । ८७ वटा बर्दिया राष्ट्रिय निकुञ्ज, २१ वटा बाँके राष्ट्रिय निकुञ्ज, १८ वटा पर्सा राष्ट्रिय निकुञ्ज र १६ वटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका थिए ।
किन जेल पर्छ जंगलको राजा ?किन जेल पर्छ जंगलको राजा ? Video Report : Bibek Pokhrel #Tiger #Chitwan #nayapatrika
Posted by Naya Patrika on Friday, July 1, 2022