मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २९ बुधबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली साक्षर जिल्ला घोषणा

Read Time : < 1 मिनेट
२०७९ असार २९ बुधबार १९:१२:००

कैलालीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । यहाँका १३ वटै स्थानीय तह साक्षर घोषणा गरिएपछि जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरतादर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।

०६७ देखि ०७१ सालसम्म कैलालीमा साक्षरता अभियान सञ्चालन गरिएको थियो । अहिले स्थानीय तहले घरधुरी सर्वेक्षण गरेपछि समग्र जिल्लालाई नै साक्षर घोषणा गरिएको हो । ०६७ सालमा गरिएको सर्वेक्षणमा एक लाख ५६ हजार निरक्षर रहेकोमा ०७१ सम्म सञ्चालन भएका साक्षरता अभियानहरूमा करिब एक लाख ६१ हजारजनालाई साक्षर बनाइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

इकाइ प्रमुख सुवेदीले कैलालीलाई अब पूर्ण साक्षर घोषणा गर्ने चुनौती रहेको बताए । लक्षित उमेर समूहका सबैलाई साक्षर बनाएपछि मात्रै पूर्ण साक्षर घोषणा गर्न सकिने मापदण्ड छ । पूर्ण साक्षर घोषणाका लागि प्रयास गरिने सुवेदीको भनाइ छ । साक्षरता अभियान जिल्ला समन्वय समितिको बैठकले यसअघि जिल्लालाई साक्षर घोषणा गर्ने निर्णय गरेको थियो । स्थानीय तहहरू साक्षर घोषणा भएपछि समितिले जिल्लालाई समेत साक्षर घोषणा गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए ।

कैलालीलाई साक्षर जिल्ला घोषणा गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले देशको विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘शिक्षाको विकासले मात्र समाज र देश समृद्ध बन्न सक्छ,’ उनले भने, ‘त्यसैले सुदूरपश्चिम सरकारले शैक्षिक विकासलाई आफ्नो प्राथमिकतामा राखेको छ ।’