
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले किसानले अझै मल नपाएको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले रोपाइँ गर्ने वेलामा समेत सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले बाढी–पहिरोपीडितहरूको उद्धार, राहत तथा प्रकोप न्यूनीकरणमा सरकारले गरिरहेको कामको बारेमा समेत जिज्ञासा राखेकी थिइन् ।
‘अहिले देशभरि नै बाढी–पहिरोका कारण जनजीवन आक्रान्त छ। बाटोघाटो अवरुद्ध छन् । कतिपय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ,' उनले भनिन्, 'मानो रोपेर मुरी उमार्ने वेला किसानले मल पाएका छैनन् । सरकारको ध्यान अन्यत्र मोडिएजस्तो देखिन्छ। किसानले मल पाउँछन् कि पाउँदैनन् ? पाए भने कहिले पाउँछन् ?’