१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Friday, 09 May, 2025
मञ्जु टेलर काठमाडाैं
२o७९ असार २३ बिहीबार o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

थप दुईजनामा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए फाइभ’ पुष्टि

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार o६:o१:oo

नेपालमा थप दुई व्यक्तिमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा संक्रमण पुष्टि भएको हो । केही दिनअघि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा पहिलोपटक एकजनामा यो भेरियन्ट देखिएको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार संक्रमण पुष्टि भएका केसको नमुना केन्द्रीय डाइग्नोस्टिक प्रयोगशाला र बेलहिया नाकाबाट ल्याइएको हो । नेपाल–भारतका विभिन्न सीमानाका तथा प्रयोगशालाबाट आएका ३२ संक्रमित नमुनालाई जिन सिक्वेन्सिङ गर्दा दुईजनामा ‘बिए फाइभ’ पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताइन् । 

डा. संगीता मिश्रा प्रवक्ता, स्वास्थ्य मन्त्रालय नेपाल–भारतका
विभिन्न सीमानाका तथा केन्द्रीय डाइग्नोस्टिक प्रयोगशालाबाट ल्याएका ३२ नमुनालाई जिन सिक्वेन्सिङ गर्दा दुईजनामा ‘बिए फाइभ’ पुष्टि भएको छ । 

पहिलोपटक २६ फेब्रुअरीमा दक्षिण अफ्रिकामा देखिएको ‘बिए फाइभ’ पछिल्लो समय भारतलगायत विश्वका विभिन्न देशमा फैलिरहेको छ । हाल कोभिडबाट प्रभावित अधिकांश देशमा ‘बिए फोर’ र ‘बिए फाइफ’ संक्रमण फैलिएको रिपोर्ट छ । कोभिडबारे अध्ययन गरिरहेको स्क्रिप्स रिसर्च ट्रान्सलेसन इन्स्टिच्युटले ओमिक्रनको सबभेरियन्टमा ‘बिए फाइभ’ सबैभन्दा खराब संस्करण रहेको दाबी गरेको छ ।

इन्स्टिच्युटका संस्थापकसमेत रहेका मोलिक्युलर मेडिसिनका प्राध्यापक डा. एरिक टोपलले भनेका छन्, ‘बिए फाइभले इम्युन क्षमतालाई कमजोर पारेर छोटो अवधिमै भाइरसको सक्रियता बढाउन सक्छ । जसका कारण हामीले देखेका अन्य ओमिक्रोन परिवारका भेरियन्टभन्दा पनि बढी फैलिने क्षमता भएको प्रारम्भिक अध्ययनबाट अनुमान गर्न सकिन्छ ।’ बिए फाइभ भेरियन्टले खोप तथा अघिल्लो संक्रमणबाट उत्पादन भएको प्रतिरोधात्मक क्षमतालाई पराजित गर्न सक्ने विज्ञहरूले दाबी गरेका छन् । 

दैनिक संक्रमणदर बढेर ३ अंकमा

पछिल्लो समय दैनिक उकालो लागिरहेको कोरोना संक्रमणदर ३ अंकमा पुगेको छ । मंगलबार तीन हजार एक सय १२ नमुना परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार दुई हजार सात सय २४ को जाँच गर्दा एक सय १३ जनाको रिपोर्ट पजिटिभ आएको हो । सोमबार तीन हजार १० नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको थियो । बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या चार सय ७१ पुगेको छ । बिए फाइभ पुष्टि भएसँगै संक्रमणदर फेरि बढ्न सक्ने अनुमान छ । 
भारत र बंगलादेशमा पनि बढ्यो संक्रमणदर 

छिमेकी भारत र बंगलादेशमा पनि कोभिड संक्रमण उच्च दरमा बढेको छ । भारतमा गत २४ घन्टामा १६ हजार एक सय ५९ जनामा संक्रमण देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार दुई सय १२ पुगेको छ । भारतमा कोभिडबाट हुने मृत्युदर पनि बढेको छ । मंगलबार २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बंगलादेशमा बिए फाइभ फैलिएसँगै कोभिडको चौथो लहर भित्रिएको त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । पछिल्लो सातायता उच्च दरमा बढिरहेको संक्रमणका कारण पाँच दिनमा ३२ संक्रमितको ज्यान गएको बताइएको छ । मंगलबार मात्रै बंगलादेशमा दुई हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने सातजनाको मृत्यु भएको रिपोर्ट छ ।