सामुदायिक वन कार्यालय गोरखा र धार्चे गाउँपालिका ७ लापुका स्थानीयहरू जैविक विविधता संरक्षणका लागि सिमसार क्षेत्र व्यवस्थापनमा जुटेका छन् । लापुस्थित सिम्ला सामुदायिक वनभित्र प्राकृतिक रूपमा निर्माण भएको मापु ताल संरक्षण स्थानीयहरू जुटेका हुन् ।
जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवर्द्ध नका लागि सिमसार क्षेत्र संरक्षण जुटेको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले बताए ।
सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत मापु ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको हो ।
सो कार्यक्रमअन्तर्गत मापु ताल जाने ट्रेल निर्माण र दृश्य अवलोकन गर्ने स्थल, तालवरिपरि छेकबार गर्न तारजाली निर्माण गरिएको उनले बताए । वन कार्यालय ८० प्रतिशत र स्थानीय २० प्रतिशत श्रमदानमा सो पूर्वाधार निर्माण गरिएको हो । जसअनुसार वन कार्यालयको तर्फबाट चार लाख रुपैया खर्च भएको सहयाक वन अधिकृत पौडेलले जानकारी दिए ।
बाह्रै महिना पानी हुने, अर्थात पानी मूल कहिले नसुक्ने, नटुट्ने र वरिपरि सधैँ हराभरा भएको स्थानलाई सिमसार क्षेत्र भनिन्छ छ । प्रकृतिमा पाइने सम्पूर्ण जीव जनावरहरूका लागि सिमसार क्षेत्र अति उपयुक्त स्थल मानिन्छ । त्यसैले सिमसार क्षेत्रको संरक्षणले जैविक विविधता तथा पर्यापर्यटनको संरक्षण हुने उनी बताउँछन् ।
स्थानीयका अनुसार भूकम्पपछि पहिरो जाँदा पोखरी बनेको थियो । अहिले सो पोखरीको संरक्षणमा स्थानीयहरू जुटेका छन् । गोरखामा यसप्रकारका कार्यक्रम हरेक वर्ष फरक–फरक ठाउँमा हुँदै आएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।