मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Thursday, 19 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ असार १७ शुक्रबार o६:o६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालकोट र खुमलटार पुगेर नेकपा पुनर्गठन गर्न वामदेवको प्रस्ताव 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार o६:o६:oo

ओली र प्रचण्डले दिएनन् ठोस जवाफ

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी गठनलगत्तै नेकपा पुनर्गठनका लागि सक्रियता बढाएका छन् । एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार बेग्लाबेग्लै भेटेर गौतमले नेकपा पुनर्गठनको औचित्य पुष्टि गर्ने गरी पुनः एकता अघि बढाउन प्रस्ताव राखेका छन् । 

ठूलो वाम दलका प्रमुख नेता ओलीसँग पहिलो भेटवार्ता गरेपछि मात्र दोस्रो ठूलो वाम दलका प्रमुख नेता प्रचण्डलाई भेट गरेर गौतमले आफू नेकपा पुनर्गठनका लागि गम्भीर ढंगले अगाडि बढ्न खोजेको सन्देशसहित एकताको औचित्य पुष्टि गर्ने कोसिस गरेका थिए । बिहान ११ बजे बालकोटस्थित निवास पुगेर करिब डेढ घन्टा ओलीसँग भेटवार्ता गरेका गौतमले अपराह्न ४ बजे खुमलटार पुगेर प्रचण्डसँग एक घन्टा भेटवार्ता गरेका थिए । 

दीपक टमाटा, वामदेव गौतमका स्वकीय सचिव

उहाँ (वामदेव गौतम)ले एमाले अध्यक्ष र माओवादी अध्यक्ष दुवैलाई भेटेर आफ्नो एकता अभियानको उद्देश्य र पार्टी एकताको औचित्यबारे प्रकाश पार्नुभएको हो । दुवै अध्यक्षले प्रस्ताव सुन्नुभयो, तर तत्कालै ठोस जवाफ दिइसक्नुभएको छैन ।

‘उहाँले एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष दुवैलाई भेटेर आफ्नो एकता अभियानको उद्देश्य र पार्टी एकताको औचित्यबारे प्रकाश पार्नुभएको हो,’ गौतमका स्वकीय सचिव दीपक टमाटाले नयाँ पत्रिकासँग भने, ‘दुवै अध्यक्षले प्रस्ताव सुन्नुभयो, तर तत्कालै ठोस जवाफ दिइसक्नुभएको छैन ।’ 

ओली र प्रचण्डसँगको भेटवार्तामा गौतमले नेकपा एकता राष्ट्रिय अभियानले पास गरेका प्रस्तावहरू हस्तान्तरण गरेका थिए । गौतमले समय लिएरै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि अलग्गै भेटवार्ता गर्ने तयारी गरेका छन् । ‘उहाँ अभियानमा लगातार अघि बढ्नुहुन्छ,’ टमाटाले भने । 

भेटवार्तामा गौतमले ठूलो दलको हैसियतले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतासहित अगाडि बढाउने र नेकपा पुनर्गठनमा अग्रसरता लिने प्रमुख दायित्व ओलीकै भएको स्मरण गराएका थिए । यसअघि पनि ओलीले निर्णायक अग्रसरता लिएकै कारण पार्टी एकता भएको, तर अन्तरविरोधलाई सही ढंगले समयमै व्यवस्थापन नगर्दा मात्र पार्टी विभाजनजस्तो अप्रिय दुर्घटना भएको गौतमले बताएका थिए । 

ओलीले लिने अग्रसरतामा आफू जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको गौतमको भनाइ थियो । तर, ठोस जवाफ नदिएका ओलीले पार्टी विभाजन रोक्न निर्णायक पहल नगर्नुमा गौतमको पनि उत्तिकै कमजोरी रहेको स्मरण गराएका थिए । निरन्तर एउटै अडानमा गौतम बसेको भए पार्टी एकता जोगाउन सकिने आशयसहित ओलीले जवाफी धारणा राखेको स्रोतले जनाएको छ । 

उता, प्रचण्डसँगको भेटवार्तामा पनि गौतमले एकताको औचित्य पुष्टि गर्ने कोसिस गरेका थिए । मुलुकलाई समाजवादमा लैजान कांग्रेससँगको गठबन्धन औचित्यहीन हुने भन्दै पार्टी पुनर्गठनका लागि निर्णायक पहल लिन गौतमले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले प्रस्ताव सकारात्मक रहेकाले छलफल गर्दै अगाडि बढ्न सकिने, तर ओली संसद् विघटनमा भएको कमजोरी सच्याएर विश्वासको वातावरणसहित जान पहिला तयार हुनुपर्ने बताएको स्रोतले जनाएको छ । 

निर्वाचनअघि नै वाम एकता गराउने गौतमको रणनीति
नेकपा पुनर्गठन गर्ने उद्देश्यले गौतमले १४ असारमा दल घोषणा गरेका थिए । दल स्थापनाको उनको मुख्य उद्देश्य छ– २३ फागुन ०७७ को सर्वोच्च अदालतको फैसलाबाट विभाजित भएर ब्युँतिएको एमाले र माओवादी केन्द्र र एमालेबाट विभाजित एकीकृत समाजवादीसहित एकै ठाउँमा ल्याएर ३ जेठ ०७५ मा बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनर्गठन । तीन पार्टीबीच एकता सम्भव नभए उनीहरूमध्ये जुन पार्टीसँग विचार मिल्छ, उसैसँग एकता र त्यो पनि सम्भव नभए अगाडि सारिएको मुख्य कार्यभारसहित छुट्टै कम्युनिस्ट पार्टीका रूपमा अभियानलाई अगाडि बढाउने गौतमको विकल्प छ । 

‘यस पार्टीको सबभन्दा महत्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गगठन गर्नु हो । त्यसपछि छिटै हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपूर्व नै विभाजित कम्युनिस्ट पार्टीहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने अर्को उद्देश्य छ । कार्यगत एकतामा जाने अवस्था सिर्जना हुँदा उपरोक्त तीन पार्टीसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसमेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ हामीले गर्ने कामको सूचीमा समावेश गरेका छौँ,’ गौतमले पार्टी गठन गर्नुको उद्देश्य प्रस्ट पार्दै भनेका छन्, ‘तीन पार्टीबीच एकता भए उनीहरूसँगै एकता अभियान पनि एकीकृत हुनेछ । 

हामीले अनवरत प्रयत्न गर्दा पनि एकता सम्भव भएन भने पार्टी एकीकरण गर्ने विषयलाई पार्टीको मुख्य कार्यभारका रूपमा स्वीकार गर्ने तथा नेकपा एकता राष्ट्रिय अभियानले अगाडि सारेका विचारहरूलाई जुन कम्युनिस्ट पार्टीले सम्मान गर्नेछ, त्यही पार्टीमा हामी सम्मानजनक एकीकरणका लागि तयार हुनेछौँ । उपरोक्तमध्ये कुनै अवस्था सिर्जना भएन भने हामीले अभियानलाई छुट्टै कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढाउनेछौँ ।’