मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार ०७:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लोकदोहोरी गायिका सुनारको ‘शंकास्पद’ मृत्यु

सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठ पक्राउ, मृतकका बाबुले प्रहरीमा दिए किटानी जाहेरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार ०७:३४:००

लोकदोहोरी गायिका दिलमाया सुुनारको मृत्यु शंकास्पद देखिएको छ । घटनामा संलग्न सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटना शंकास्पद देखिएपछि उनीविरुद्ध प्रहरीले किटानी जाहेरीसमेत दर्ता गरेको छ । प्रहरीका अनुसार श्रेष्ठविरुद्ध ३३ वर्षीया सुनारका बाबु केशर कामीले आइतबार साँझ महानगरीय प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका छन् । घटना शंकास्पद देखिएपछि प्रहरीले कामीलाई नेपालगन्जबाट काठमाडौं बोलाएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले घटना शंकास्पद देखिएको र एक अभियुक्तविरुद्ध किटानी जाहेरी परेको जानकारी दिए । ‘दिलमाया सुनारको शव शनिबार बिहान बालाजुस्थित घरमा फेला पर्‍यो । घटना हेर्दा शंकास्पद देखियो । एक अभियुक्त पक्राउ पनि परे । उनीविरुद्ध किटानी जाहेरी परेको छ । ज्यान मार्ने कसुरअन्तर्गत उनीविरुद्ध म्याद थप हुनेछ,’ उनले भने ।

प्रहरीका अनुसार श्रेष्ठ र मृतक सुनारबीच एक वर्षदेखि चिनजान थियो । माकलबारीमा सुन पसल चलाउँदै आएका श्रेष्ठकै जोडबलमा सुनारले नेपालटारमा डेरा लिएकी थिइन् । त्यसअघि उनी सामाजिक अभियन्ता टीका पुनसँग बस्दै आएकी थिइन् । श्रेष्ठको माकलबारीमा सुन पसल छ । उनी वेला–वेला सुनारको डेरा जाने गर्थे । त्यहीँ रात बिताउँथे । र, बिहान उठेर सुन पसल फर्कन्थे । 

शुक्रबार साँझ पनि उनी सुन पसलबाट सुनारको कोठामा आएका थिए । खानासँगै दुवैले मदिरा पनि पिएका थिए । त्यसपछिको गतिविधि भने शंकास्पद रहेको प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी मैनालीले भने, ‘घटना शंकास्पद देखिएको छ । घटनापछि अभियुक्त फरार भएजस्तो देखिन्छ । यही क्रममा उनलाई हामीले पक्राउ गरेका छौँ । अनुसन्धान हुँदै छ । तथ्य सार्वजनिक होला ।’

झाडीमा फालिएको अवस्थामा सल फेला पर्‍यो, मोबाइल अझै भेटिएन
प्रहरीका अनुसार सुनारको मृत शरीर शनिबार बिहान ११ बजे बालाजुस्थित कोठामा फेला परेको थियो । प्रहरीले उनको मृत शरीर घोप्टो अवस्थामा फेला पारेको थियो । उनको घाँटीमा डोरीले कसिएजस्तो डाम देखिन्थ्यो । तर, घटनास्थलमा घाँटी कस्न प्रयोग हुने डोरी वा सल फेला परेको थिएन । सुनारले प्रयोग गर्दै आएको मोबाइल पनि गायब रहेको देखिएपछि प्रहरी अनुसन्धानलाई अझ गहिरो बनाएको थियो । यही क्रममा श्रेष्ठ पक्राउ परे । उनकै बयानका आधारमा प्रहरीले सल झाडीमा फालिएको अवस्थामा फेला पारेको छ । तर, मोबाइल भने अझै फेला पर्न सकेको छैन । 

श्रेष्ठले सुनारलाई झुन्डिएको अवस्थामा फेला परेपछि भुइँमा झारेको र डराएर सल अर्कै ठाउँमा फालेको बयान प्रहरीसमक्ष दिएका छन् । उनले प्रहरीलाई दिएको बयानअनुसार शुक्रबार बेलुका खाना खाएर दुवै सँगै सुतेका थिए । ब्युँझँदा सुनार झुन्डिएको अवस्थामा देखिएपछि श्रेष्ठ आत्तिएका थिए । त्यसपछि उनले सुनारलाई भुइँमा झारेका थिए । घाँटीबाट सल उतारेर झाडीमा फालेपछि उनी फरार भएका थिए । 

चर्चित लोकदोहोरी गायक कृष्ण कँडेलले सल फेला परे पनि मोबाइल भने गायब भएको बताए । ‘बहिनी निकै राम्रो गाउँथिन् । मसँग वेलामौकामा कुरा हुन्थ्यो । आर्थिक अवस्था कमजोर हुँदा मैले पनि केही राहत दिएको हुँ । उनको मृत्यु भएको खबरपछि चासो बढ्नु स्वाभाविक हो । मैले प्रहरीसँग बुझेँ । उनको सल पक्राउ परेका अभियुक्त श्रेष्ठले लुकाएको भन्ने पाएँ । बहिनीको मोबाइल पनि भेटिएको छैन । त्यसो हुँदा घटना शंकास्पद देखिन्छ,’ उनले भने । गायिका सुनारको शवलाई परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिवेला जे पनि हुन सक्छ भनेर स्टाटस सार्वजनिक भएको थियो । स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको थियो ।

 श्रीमान्सँग डिभोर्सपछि एक्लै  बस्दै आएकी थिइन् दिलमाया
श्रीमान्सँग डिभोर्सपछि दिलमाया काठमाडौंमा एक्लै बस्दै आएकी थिइन् । यसक्रममा उनी विदेश पनि गएकी थिइन् । दुई वर्षपछि नेपाल फर्किएकी उनी लोकदोहोरी गायनमा लागेकी थिइन् । यसक्रममा उनले लोकदोहोरी साँझमा गीतसमेत गाउने गर्थिन् । कोभिडका कारण दोहोरी साँझ बन्द भएपछि उनी बेरोजगार बन्न पुगेकी थिइन् । आर्थिक अवस्था नाजुक भएपछि उनले अभियन्ताबाट सहयोगसमेत लिएकी थिइन् । आर्थिक र पारिवारिक समस्यामा रहेकी उनले यसअघि एकपटक आत्महत्याको प्रयास गरेकी थिइन् । ग्रान्डी अस्पतालबाट उपचारपछि फर्किएकी उनी पछिल्ला दिन बेरोजगार थिइन् । 

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानबिनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाब दिएका छन् । उनीहरूले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएजस्तो देखिएकाले आफू सत्यतथ्य छानबिनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए ।