१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Monday, 01 July, 2024
मुना कुँवर काठमाडाैं
२o७९ असार ९ बिहीबार o६:२३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ बिमा कम्पनीलाई क्रस होल्डिङ हटाउन ताकेता

क्रस होल्डिङ नहटाए अनिवार्य मर्जरको निर्देशन दिने बिमा समितिको तयारी

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार o६:२३:oo

बिमा कम्पनीहरूमा भएको क्रस होल्डिङ नहटाएमा बिमा समिति आफैँले अनिवार्य मर्जरको निर्देशन दिने तयारी गरेको छ । क्रस होल्डिङ भएका बिमा कम्पनीहरूलाई बाराम्बार पत्राचार गरी क्रस होल्डिङ हटाउन निर्देशन दिए पनि कम्पनीहरूले अटेरी गरेको भन्दै समितिले यस्तो तयारी गरेको हो । तत्काल क्रस होल्डिङ हटाउने प्रक्रिया सुरु नगरेमा बिमा ऐन २०४९ तथा समितिबाट जारी निर्देशिकाबमोजिम अनिवार्य मर्जर वा बिमकको खास व्यवसाय रोक्का गरिने समितिले जनाएको छ । एकै किसिमको व्यवसाय गर्ने दुई वा दुईभन्दा बढी कम्पनीमा एउटै समूहको लगानी भएमा त्यसलाई हटाउन निर्देशन दिइएको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए । 

बिमा व्यवसायमा एकाधिकार रहनसक्ने भएकाले समितिले स्वच्छ र प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालनका लागि क्रस होल्डिङ हटाउन निर्देशन दिएको उनको भनाइ छ । नेपालमा बिमा कम्पनीहरूको संख्या अधिक भएका कारण पनि मर्जरमा जान समितिले दबाब दिइहेको छ । क्रस होल्डिङ मात्रै घटाउँदा पनि नेपालमा बिमा कम्पनीहरूको संख्या कम हुने समितिको ठम्याइ छ । 

 नौवटा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको ताकेता 
बिमा समितिले क्रस होल्डिङ भएका मुख्य नौवटा कम्पनीलाई क्रस होल्डिङ हटाउन ताकेता गरेको छ । समितिले क्रस होल्डिङ कायम रहेका आइएमई लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई क्रस होल्डिङ हटाउन आदेश दिएको हो । समितिले बिमक संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ तथा बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ बमोजिम क्रस होल्डिङ हटाउन आदेश दिएको हो । 

समितिका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेपाल लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा क्रस होल्डिङ छ । यी तीनवटै जीवन बिमा कम्पनीमा विशाल गु्रपको लगानी छ । जसमध्ये लाइफ इन्स्योरेन्समा २५ प्रतिशत, नेपाल लाइफमा १४ प्रतिशत र सूर्या लाइफमा ३० प्रतिशत छ । लुम्बिनी जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीमा कुमारी बैकको लगानी छ । लुम्बिनी जनरल इन्स्योरेन्समा ५ प्रतिशत र जनरल इन्स्योरेन्समा १ दशमलव शून्य २ प्रतिशत लगानी छ । अजोड, आइएमई इन्स्योरेन्समा हाथवे इन्भेस्टमेन्ट कम्पनीको लगानी छ । जसमध्ये अजोड इन्स्योरेन्समा १ दशमलव ४३ र आइएमई जनरलमा ३ दशमलव ५२ प्रतिशत लगानी छ । अजोड र लुम्बिनी इन्स्योरेन्समा कामकाजी गुरुङको लगानी छ । जसमध्ये अजोडमा १ दशमलव ३६ र लुम्बिनी जनरल इन्स्योरेन्समा १ दशमलव २१ प्रतिशत लगानी छ । अजोड र जनरल इन्स्योरेन्स दुवैमा सेन्चुरी बैंकको लगानी छ ।

जसमध्ये अजोडमा ४ दशमलव २९ र जनरल इन्स्योरेन्समा १ प्रतिशत लगानी रहेको छ । रिलायबल र आइएमई लाइफ इन्स्योरेन्समा पनि क्रस होल्डिङ छ । यी दवै कम्पनीमा ग्लोबल आइएमई बैंकको लगानी छ । रिलायबलमा १४ दशमलव २९ र आइएमई लाइफ इन्स्योरेन्समा १० प्रतिशत लगानी छ । शशीकान्त अग्रवाल र उनका परिवारको शिखर इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा लगानी रहेको छ । शिखर इन्स्योरेन्समा १६ दशमलव ५९ र युनाइटेड इन्स्योरेन्स कम्पनीमा ३ दशमलव २४ प्रतिशत लगानी छ । 

सन्राइज बैंकले पनि गुराँस लाइफ, लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स कम्पनीमा लगानी गरेको छ । बैंकले लुम्बिनी वा सगरमाथा इन्स्योरेन्समा भएको क्रस होल्डिङ हटाउनुपर्नेछ । बैंकले गुराँस लाइफमा ४ दशमलव १६ प्रतिशत, लुम्बिनी जनरलमा १ दशमलव शून्य २ र सगरमाथा इन्स्योरेन्स कम्पनीमा ४ दशमलव ३३ प्रतिशत लगानी गरेको छ । 
युनाइटेड डिस्ट्रिब्युटरको नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा लगानी छ । नेपाल इन्स्योरेन्समा ६ दशमलव ९५ प्रतिशत लगानी छ भने प्रुडेन्सियल इन्स्योरेन्समा २ दशमलव ११ प्रतिशत लगानी छ ।

चन्द्र ढकाल र आइएमई ग्रुपको नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा लगानी रहेको छ । जसमध्ये नेपाल इन्स्योरेन्समा १५ दशमलव ६६ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्समा १४ दशमलव २८ प्रतिशत लगानी रहेको छ ।  त्यस्तै, प्रभु ग्रुपको प्रभु लाइफ र प्रभु इन्स्योरेन्समा लगानी छ । लक्ष्मी बैंकको एभरेस्ट इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्समा लगानी छ । जीवनाथ र खेमराज लामिछाने परिवारको सानिमा लाइफ र सानिमा जनरल इन्स्योरेन्समा लगानी छ । सानिमा बैंकको सानिमा लाइफ र सानिमा जनरल इन्स्योरेन्समा लगानी छ । तर, यिनीहरू क्रस होल्डिङमा पर्दैनन् । 

दुईवटा निर्जीवन र तीनवटा जीवन बिमा कम्पनीबीच मर्जर
हिमालयन इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच मर्जरको सैद्धान्तिक सहमति भएको छ । मर्जरका लागि समितिले अनुमतिसमेत दिइसकेको छ । नेपालको बिमा क्षेत्रमा यो सबैभन्दा पहिलो मर्जर हो । बिमा समितिको तथ्यांकअनुसार एभरेस्ट इन्स्योरेन्सको एक अर्ब १८ करोड चुक्ता पुँजी छ भने हिमालयन जनरल इन्स्योरेन्सको एक अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि कम्पनीको पुँजी दुई अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रतिसेयर कुल आम्दानी १०.१४ रुपैयाँ छ भने हिमालयन जनरल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ छ । एभरेस्टको प्रतिसेयर कुल सम्पत्ति २४०.१४ रुपैयाँ छ भने हिमालयन जनरल इन्स्योरेन्सको २६०.९७ रुपैयाँ छ । मर्जरपछि कम्पनीका चार सय कर्मचारी र ६० भन्दा बढी शाखा कार्यालय हुनेछन् । 

त्यस्तै, प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच पनि मर्जरका लागि सैद्धान्तिक सहमति भइसकेको छ । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ७७ करोड रुपैयाँ छ । गुराँस लाइफको दुई अर्ब आठ करोड रुपैयाँ छ भने युनियन लाइफ इस्योरेन्सको दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी । प्राइम लाइफ इन्स्योरेन्सको खेतानको लागि छ भने युनियन लाइफ इन्योरेन्समा गोल्छाको लगानी रहेको छ । मर्जरमा पछि कम्पनीको चुक्ता पुँजी सात अर्ब रुपैयाँ पुग्नेछ । यी तिनै कम्पनी मर्जरमा भएमा नेपालको बलियो कम्पनी बन्न पुग्नेछ । प्राइम लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२४.५४ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७८०.८४ छ । गुराँस लाइफको प्रतिसेयर आम्दानी ८.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.७० र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३१.४२ रुपैयाँ छ । युनियन लाइफ इन्स्योरेन्सको भने प्रतिसेयर आम्दानी १.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.४७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६८० रुपैयाँ रहेको छ । 

बिमा समितिले बिमकको चुक्ता पुँजी बढाएपछि क्रस होल्डिङ नभएका कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । समितिले आगामी असार मसान्तभित्र जीवन बिमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बिमा कम्पनीलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउन आदेश दिएको छ । त्यसैले पुँजी कम भएका र थप पुँजी लगानी गर्न नसक्ने कम्पनीरू मर्जरमा जान थालेका हुन् । 

ad
ad
ad
ad