१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार o६:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : मुख्य बिचौलिया झा समातिएसँगै थप  राजनीतिक नेतृत्वमाथि अनुसन्धान हुने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o६:२७:oo

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित ठगी अपराधका मुख्य बिचौलिया बेचन झा एक वर्षपछि पक्राउ परेका छन् । प्रहरी इतिहासकै हाई प्रोफाइल अपराध मानिएको यसमा उच्च तहमा समन्वयको काम गर्ने झालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । राजनीतिक नेताहरूसँग निकटता रहेका उनी पक्राउ परेसँगै यसमा संलग्न थप राजनीतिक व्यक्तिहरूसमेत तानिने सम्भावना छ । 

प्रहरी अनुसन्धानअनुसार झाले त्यसवेला उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका थिए । अनुसन्धान सुरु भएलगत्तै भारत भागेका झालाई हाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको स्रोत बताउँछ । उनलाई नेपालमै पक्राउ गरिएको र नयाँ शिराबाट अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग उनले नै भेट गराइदिएका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका छन् । उनको बयानमा छ, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध देखिएको छ । उनको बयानले अबको अनुसन्धानको दिशा तय गर्ने प्रहरी अधिकारी बताउँछन् । 

पीडितहरूसँग पैसा उठाउने गिरोहले गृह मन्त्रालयमा समन्वय गरिदिएबापत झालाई दुई करोड दिएका थिए । रामशरण केसीले दिएको दुई करोडको चेकको फोटो नै प्रहरीले फेला पारेको छ । गृह मन्त्रालय र मन्त्रिपरिषद्बाट दर्तामा छुटेका शरणार्थीलाई अमेरिका लैजाने भन्दै उनले दुई करोडको चेक लिएका थिए । 

अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार कांग्रेसका प्रभावशाली नेताहरूले झालाई भेट्न तत्कालीन सचिव पाण्डेलाई सिफारिस गराइदिएका थिए । सोही आधारमा पाण्डेको सो गिरोहका सदस्यहरू केशव दुलाललगायतसँग निकट सम्बन्ध भएको थियो । सोही आधारमा गृह मन्त्रालयले दर्तामा छुट भएका शरणार्थीको विवरणमा नेपालीको नाम राखेर सोही आधारमा अमेरिका पठाउने प्रयास गरेको थियो । तर, योजना सफल नभएपछि पीडितहरू आफ्नो पैसा डुबेको भन्दै उजुरी लिएर प्रहरीमा पुगेपछि यो प्रकरण बाहिर आएको थियो । प्रहरीमा पुगेको लामो समयसम्म पनि दबाबको भरमा अनुसन्धान रोकिएको थियो । 

१९ जेठ ०७९ मा पीडितहरू प्रहरीमा पुगेकामा गत वर्ष गृह प्रशासनमा नेतृत्व फेरिएपछि मात्र यसको अनुसन्धान सुरु भएको थियो । गत वर्ष १० जेठमा जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्तेसम्बन्धी मुद्दा दायर गरिएको थियो । जसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । त्यसबाहेक सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि कारागारमा छन् । 

यो मुद्दामा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पनि सोमबार नै पक्राउ परेका छन् । अब २० प्रतिवादीमध्ये नौजना फरार छन् । डा. इन्द्रजित राईका छोरा नीरजसहित अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, विनिता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्याल अझै अदालतमा उपस्थित भएका छैनन् । 

पहिलो चरणको अनुसन्धानमा बिचौलिया झाबारे प्रहरीले अन्तिममा मात्र सूचना पाएको थियो । त्यतिवेला उनको ठेगाना प्रस्ट नहुँदा प्रहरीले प्रतिवादी बनाएको छैन । काठमाडौंको बानेश्वरमा घर भएका उनी ठूला ठेक्कापट्टामा संलग्न थिए । मूलतः भारतीय नागरिक रहेका उनले पर्साबाट नेपाली नागरिकता लिएका छन् । कांग्रेस केही नेताहरूको आडमा उनले नेपालमा ठेक्कापट्टाको काम गर्दै आएको र बिचौलियाको धन्दामा पनि संलग्न रहने गरेको खुलेको थियो । उनको नेपाल र भारतमा दुवैतर्फ नागरिकता देखिएकाले त्यसतर्फ पनि अनुसन्धान हुने प्रहरी अधिकारी बताउँछन् । 

संगठित अपराधको समेत कसुर भएकाले उनलाई ६० दिनसम्म राखेर विस्तृत अनुसन्धान गर्ने प्रहरीको तयारी छ । उनको बयानबाट यो गिरोहमा संलग्न थप व्यक्तिको संलग्नता खुल्न सक्ने प्रहरी अधिकारी बताउँछन् । 

प्रहरीले यो मुद्दाको दोस्रो चरणको अनुसन्धानमा पनि टुंग्याएर गत चैतमा मुद्दा दायर गरिसकेको छ । पहिलो चरणको मुद्दा दायर भइसकेपछि १८ पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । पहिलो चरणमा बिचौलियाले नै नेताहरूको नाम लिएपछि उच्च तहसम्म अनुसन्धान पुगेको थियो । तर, दोस्रो चरणमा बिचौलियाले बयान फेरी इन्कारी बयान दिएका थिए । जसकारण पाँचजनाविरुद्ध मुद्दा मुद्दा दायर भएको छ । 

झामाथि अब तेस्रो चरणमा अनुसन्धान हुने भएको छ । पहिलो चरणको अनुसन्धानमा पूर्वगृहमन्त्री रामबहादुर थापा, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसदसमेत रहेका एमालेकै नेता अजयक्रान्ति शाक्यलगायत माथि थप अनुसन्धान गर्ने प्रहरी प्रतिवेदनमा उल्लेख भए पनि प्रहरीले थप प्रमाण भेट्टाउन सकेको छैन । 

कपनमा भेटिए प्रतीक
नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का प्रमुख व्यक्ति प्रतीक थापा पनि समातिएका छन् । उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा हुन् । गृह मन्त्रालयमा स्वकीय सचिवमा कार्यरत रहँदा नक्सालको नीलगिरी थकाली रेस्टुरेन्टलाई ‘जक्सन’ बनाएर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने पैसा उठाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । लामो समय भारत बस्दै आएका उनलाई प्रहरीले निरन्तर पिछा गरेर पक्राउ गरेको हो । 

जेलमा रहेका केशव दुलालले बयानमा बताएअनुसार नैनकला थापालाई मन्त्री क्वार्टरमा एक करोड बुझाएपछि उनीहरू प्रतीकलाई भेट्न नीलगिरी थकाली गएका थिए । त्यहाँबाट प्रतीकले नैनकलालाई फोन गरी पाउनुभयो भनी सोधेका थिए । काम गरिदिने भन्दै प्रतीकले समेत आफूहरूसँग डिल गरेको केशव र सानु भण्डारीले बताएका छन् । बिचौलियाहरूले गृह मन्त्रालयस्थित प्रतीककै कार्यकक्षमा समेत यस विषयमा बारम्बार कुरा गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

सोही होटेलको पहिलो तलामा एक करोड दिएको र राष्ट्रिय सभाको निर्वाचनअघि तत्कालीन गृहमन्त्री थापासँग कुरा गरी प्रतीकलाई तीन करोड रुपैयाँ दिएको दुलालको बयान छ । अर्का प्रतिवादी रामशरण केसीले पनि साँखु जाने बाटोमा रहेको रेस्टुरेन्टमा प्रतीकलाई डेढ करोड रुपैयाँ बुझाएको उल्लेख गरेका छन् । प्रतीकविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेकाले उनलाई आइतबार अदालतमा पेस गर्ने प्रहरी तयारी छ ।


 

ad
ad
ad
ad