१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एन्फा अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङ (बीचमा) । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७९ असार ७ मंगलबार ०८:१४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा अध्यक्षमा नेम्वाङ

Read Time : > 2 मिनेट
२०७९ असार ७ मंगलबार ०८:१४:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई ४५–३९ को मतान्तरले हराउँदै नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका तेस्रा प्रत्याशी राजीव पौड्यालले एक मत पनि प्राप्त गर्न सकेनन् । निर्वाचन समितिअनुसार कुल ८४ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का विजयी भएका छन् । उनले शेर्पा प्यानलका उम्मेदवार क्षितिज पराजुलीलाई ४४–४० ले हराए । नेम्वाङले पहिलोपटक अध्यक्षमा दाबेदारी दिँदै सफलता प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि नेम्वाङ प्यानलले वर्चस्व कायम रह्यो । चार उपाध्यक्षमध्ये तीनजना नेम्वाङ प्यानलका उम्मेदवार विजयी भए । उपाध्यक्षमा नेम्वाङ पक्षबाट उपाध्यक्षमा दावा लामा, विराटजंग शाही र दीपक खतिवडा विजयी भए । शेर्पा प्यानलका दीर्घबहादुर केसी (कुमार) मात्र विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा पराजित भए । यस्तै, नेम्वाङ प्यानलका सुन्दरमानसिंह पराजित भए । उपाध्यक्षमा निर्वाचित दावाले ४८ मत, विराट र दीपकले समान ४७–४७ मत पाए । दीर्घबहादुरले ४३ मत हासिल गरे । 

यसैगरी, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भए । सरिला नेम्वाङ र पेमा शेर्पा प्यानलबाट निर्वाचित भएका हुन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाए । शेर्पा र नेम्वाङले २१ सदस्यीय कार्य समितिका लागि प्यानल नै बनाएर अघि बढेका थिए । साधारणसभाले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य निर्वाचित गरेको छ ।

अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको थियो ।निवर्तमान अध्यक्ष शेर्पा तेस्रोपटक अध्यक्ष पदमा लडेका हुन् । पहिलोपटक अध्यक्षमा उम्मेदवारी दिँदा उनी नरेन्द्र श्रेष्ठबाट पराजित भएका थिए । चार वर्षअघिको निर्वाचनमा नेम्वाङ र शेर्पा एकै प्यानलबाट निर्वाचनमा होमिएका थिए । उनीहरूको प्यानलले क्लिन स्विप गरेको थियो । त्यस वेलाको निर्वाचनमा शेर्पा अध्यक्ष तथा नेम्वाङ उपाध्यक्षमा निर्वाचित भए । यसपटक शेर्पा र नेम्वाङबीच आन्तरिक विवाद हुँदा दुवैले फरक–फरक प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरे ।  

क्लब अध्यक्षको अनुभव
२०२८ सालमा झापामा स्थापित रोलिङ क्लबमा नेम्वाङ परिवारको ठूलो योगदान रहेको बताइन्छ । क्लबले त्यसवेला झापामा फुटबल गतिविधि बढाउन विभिन्न समयमा स्थानीय स्तरको फुटबल प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा नेम्वाङ पनि फुटबलसँग नजिकिन पुगे । क्लबस्तरीयमा एक राम्रा खेलाडी भए पनि नेम्वाङ कहिल्यै सिनियर टोलीमा भने पर्न सकेनन् । खेलाडीका रूपमा अगाडि बढ्न नसक्ने भएपछि नेम्वाङले एक कुशल व्यवस्थापकका रूपमा करिअर बढाए । सुरुमा उनी रोलिङ क्लबको सदस्य बने । त्यसपछि तीन कार्यकाल उनले अध्यक्ष सम्हाले । उनी क्लबको प्रतिनिधित्व गर्दै झापा जिल्ला फुटबल संघमा आए । जिल्लाबाट केन्द्रीय फुटबल राजनीतिमा छिर्दै उनी २००१ मा एन्फाको केन्द्रीय सदस्य बनेका थिए । 

एन्फामा नेम्वाङका दुई दशक
अध्यक्षमा निर्वाचित भएका नेम्वाङ एन्फामा प्रवेश गरेको २० वर्ष भएको छ । सन् २००२ मा उनी झापा जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्दै एन्फाको केन्द्रीय सदस्य बनेका थिए । नेम्वाङले एन्फामा प्रवेश गर्दा नेपाली फुटबल दुई भागमा विभाजित थियो । एन्फामा पहिलोपटक केन्द्रीय सदस्य हुँदा उनका अध्यक्ष गणेश थापा थिए ।  गीता राणाको अध्यक्षतामा फुटबल संघ थियो । थापा र राणाबीचको फुटबल विवाद समाप्त हु्ँदा थापाकै नेतृत्वमा नेम्वाङ पनि एन्फामा सहभागी भए । त्यसयता उनी लगातार एन्फाको कार्यसमितिमा विभिन्न पदमा रहँदै आएका छन् ।

२०७५ वैशाखमा सम्पन्न एन्फा निर्वाचनमा नेम्वाङ पहिलोपटक उपाध्यक्ष निर्वाचित भएका थिए । तत्काल शेर्पाले चार उपाध्यक्षमध्ये नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाए । ०७१ सालमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध एन्फा शुद्धीकरण अभियानमा नेम्वाङले शेर्पालाई सहयोग गरेका थिए । थापाले एन्फाभित्र व्यापक अनियमितता गरेको भन्दै शेर्पा र नेम्वाङसहितले देशव्यापी आन्दोलन चलाए । शेर्पा र नेम्वाङले थापाले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका थिए । यही आन्दोलनको बलमै थापाविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियारमा समेत छानबिन भएको थियो । अख्तियारले थापाको मुद्दा तामेलीमा राख्यो । फिफाबाट भने थापालाई दश वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने भनी प्रतिबन्ध लगायो । 

बिग्रेको सम्बन्ध सुधार्छु : नेम्वाङ
जिल्ला, क्लब, खेलाडी, फिफा र एएफसीलगायत सबै पक्षसँगको सम्बन्ध सुमधुर बनाउँछु । पराजित पक्षलाई मिलाएर लैजाने प्रयास गर्छु । उहाँहरू कोही पनि पराजित होइन, उपविजेता हो, फुटबलको विकासमा उहाँहरूसँग सुझाव लिन्छु । बिग्रेको सम्बन्ध सुधार्छु । 

मेरोतर्फबाट अवरोध हुनेछैन : शेर्पा
प्रजातान्त्रिक प्रक्रियामा भाग लिएपछि नतिजा स्विकार्नुपर्छ । जसले जिते पनि नेपाली फुटबल अझ व्यवस्थित होस् । उहाँहरूले चार वर्षका लागि जिम्मेवारी पाउनुभएको छ, शुभकामना छ । मेरोतर्फबाट उहाँहरूलाई काममा कुनै अवरोध हुनेछैन ।