मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ५ आइतबार १९:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनमा गठबन्धन हुन्छ, सहमति नजुटेको क्षेत्रमा एक्लाएक्लै लड्छौँ : माधव नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ५ आइतबार १९:०५:००

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछिको दिनमा पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आइतबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा नेपालले  आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहमति गरेर जाने र सहमति नजुटेको ठाउँमा एक्लाएक्लै चुनाव लड्ने बताएका हुन् । 

गठबन्धन पेचिलो हुने अनुभव स्थानीय तहमा बटुलेको भन्दै नेपालले प्रदेश र प्रतिनिधिसभाको चुनावमा सिट बाँडफाँडमा कठिनाइ नहुने बताए । उनले भने, ‘गठबन्धन तुलनात्मक रूपमा स्थानीय तहमा पेचिलो हुँदो रहेछ, माथि पनि पेचिलो, गाह्रो त छ । तर, तुलनात्मक रूपमा माथि सजिलो छ । किनकि १६५ वटा सिट प्रतिनिधि सभामा जुन छ, ३३० वटा प्रदेश सभामा छ । एउटा निर्वाचन क्षेत्रमा दुईवटा, एउटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश सभाका सदस्यको सिट छ । अन्य जिल्लाहरूमा हेरेर छ, कतै एउटा, कतै दुईवटा र मधेस प्रदेशमा ४ वटाका दरले छ । त्यहाँ पनि मिलाउन सजिलो हुन सक्छ । सहमति भएको ठाउँमा सहमतिले र नभएको ठाउँमा यो ढंगले अघि बढ्ने भन्ने पनि हुन सक्ला । आगामी चुनावसम्म त गठबन्धन कायम रहन्छ नै, त्यसपछि पनि यसलाई अघि बढाएर लैजाने कुरामा समयदेखि नै हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।’

अर्को प्रसंगमा नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) ले अहिले नयाँ तरंग पैदा गरेको भन्दै जनता सचेत रहनुपर्ने बताए । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितविपरीत सम्झाैता नगर्ने प्रतिबद्धता जनाएको भन्दै शंका गरिरहन आवश्यक नरहेको बताए । 

नेपालले माओवादी र प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा केही दिनका लागि मात्रै मन्त्री परिवर्तनको प्रक्रिया रोकिएको स्पष्ट पारे । उनले आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिट्टै नै परिवर्तन हुने बताए ।