मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ जेठ ८ आइतबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पालिका प्रमुखमा जो दोहोरिए

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ जेठ ८ आइतबार ०६:२८:००

घोराही उपमहानगरमा नरुलालको दोस्रो ‘इनिङ’

घोराही उपमहानगरको मेयरमा दोस्रोपटक जित हासिल गरेपछि शुक्रबार निर्वाचन अधिकृतबाट प्रमाणपत्र बुझ्दै एमालेका नरुलाल चौधरी । तस्बिर : रासस

०७४ मा निर्वाचित भई पाँच वर्ष स्थानीय सरकार हाँकेका ६९ पालिकाका प्रमुख यसपटक पुनः दोहोरिएका छन् । यसरी दोहोरिनेमा उपमहानगरपालिकाका मेयरदेखि गाउँपालिकाका अध्यक्षसम्म छन् । शनिबार मध्यरातिसम्म ६ सय ९७ पालिकाको नतिजा आइसकेको छ । 

अघिल्लो कार्यकालमा कम विवादमा परेका र स्थानीय सरकारमा राम्रै भूमिका निर्वाह गरेका आधारमा पुनः उम्मेदवार बन्ने मौका पाएकामध्ये अधिकांश यसपटक पनि निर्वाचित भएका हुन् । तर, दोहोरिएर उम्मेदवार बनेका धेरै पराजित पनि भएका छन् । 

घरदैलोनजिकको सरकारमा पुरानै अनुहार दोहोर्‍याएकोमा मतदाताले विगतको कार्यकालमा भन्दा उनीहरूबाट थप प्रभावकारी र सहज सेवा प्रवाह हुने अपेक्षा राखेका छन् । उपत्यकाका २१ मध्ये सात पालिकामा पनि प्रमुख पुनः निर्वाचित भएका छन् । ६ मध्ये ललितपुरमा चिरिबाबु महर्जन र भरतपुर महानगरमा रेनु दाहालले अग्रता लिइरहेका छन् । उनीहरू दुवै निवर्तमान मेयर हुन् । 

दाङको घोराही उपमहानगरपालिकामा पनि पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । दोस्र्रो कार्यकालका लागि एमालेका नरुलाल चौधरी निर्वाचित भएका हुन् । उपमेयरतर्फ पनि एमालेकै हुुमाकुमारी डिसी विजयी भएकी छिन् । 

उपत्यकाका २१ स्थानीय तहमध्ये १२ प्रमुख दोहोरिन चाहेका थिए । तर, मतदाताले सातजनालाई मात्र पुनः जिम्मेवारी दिएका छन् । काठमाडौंका दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । 

ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । ललितपुर महानगरपालिका र नागार्जुन नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवार पनि अग्र स्थानमा रहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मेयरतर्फ एमालेका वासुदेव थापा १४ हजार सात सय ५८ मतसहित दोस्रोपटक निर्वाचित भएका हुन् । 

भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका सुनील प्रजापति दोहोरिएका छन् । अन्य उम्मेदवारको तुलनामा झन्डै नौ गुणा बढी मत ल्याएर उनी दोस्रोपटक नगरपालिकाको मेयरमा विजयी भएका हुन् । नगरपालिकाको उपमेयरमा पनि २९ हजार ६ सय ९५ मतसहित नेमकिपाकी रजनी जोशी विजयी भएकी छिन् । 

काठमाडौंको टोखा नगरपालिकामा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् । कांग्रेसकी रजनी थापाले भन्दा एक सय ७४ मत बढी ल्याएर अधिकारीले जितेका हुन् । उपमेयरतर्फ १० हजार एक सय ३२ मतसहित कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन् । 

ललितपुरको गोदावरी नगरपालिकामा पनि पुरानै मेयर र उपमेयर दोहोरिएका छन् । गजेन्द्र महर्जन र मुना अधिकारी नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । निर्वाचित दुवै उम्मेदवार कांग्रेसका हुन् । त्यस्तै, गोदावरीकै वडा नम्बर ६ र ८ मा पनि पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । वडा ८ मा सुकबहादुर लामा र वडा ६ मा विष्णुमान महर्जन दोहोरिएका हुन् । 

ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीरबहादुर लोप्चन पुनः निर्वाचित भएका छन् । चार हजार ६ सय ९२ मतसहित पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर निर्वाचित भएका छन् । 

ललितपुर महानगरपालिकाको चारवटा वडामा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । महानगरको २, ३, ५ र ६ मा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् ।यसबाहेक उदयपुरको लिम्चुङवुङ गाउँपालिकामा पनि पुरानै अध्यक्ष दोहोरिएका छन् । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मेजर राई दुई हजार ५१ मतसहित निर्वाचित भएका छन् ।

दोहोरिएका जनप्रतिनिधिका एजेन्डा : शिक्षा र स्वास्थ्य प्राथमिकतामा 
दोस्रो कार्यकालका लागि निर्वाचित धेरैजसो जनप्रतिनिधिले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनील प्रजापतिले राम्रो काम गरेकै कारण फेरि निर्वाचित हुन सकेको भन्दै जनताको निकट रहेर काम गर्दाको परिणाम आउँदा खुसी लागेको बताए ।

‘शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा, सहकारीसँग समन्वय गरेर विकास निर्माणका काम आत्मनिर्भर भएर गर्नेछौँ,’ नवनिर्वाचित मेयर प्रजापतिले भने, ‘पार्टीको घोषणापत्रअनुसार जनतालाई जहाँ–जहाँ समस्या पर्छ, त्यहाँ–त्यहाँ नै पुगेर सेवा गर्छौँ ।’ उनले अन्य पार्टीले जस्तो कुरा मात्र गर्ने काम नगर्ने परिपाटी आफ्नो पार्टीको नभएकै कारण भारी मतान्तरसहित निर्वाचित हुन सफल भएको बताएका छन् । ‘हामी जे बोल्छौँ त्यही गर्छौँ भनेरै मत दिएको हुनुपर्छ,’ प्रजापतिले भने । 

दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत सात हजार दुई सय एक मत ल्याएर निर्वाचित भएका छन् । नवनिर्वाचित बस्नेतले फेरि निर्वाचित हुन पाउँदा खुसी लागेको भन्दै जनताको सेवा गर्न सकेकै कारण मत पाएको बताए । ‘जनताको सेवा गरियो भने भोट पाइँदो रहेछ । धेरै खुसी लागेको छ,’ नवनिर्वाचित मेयर बस्नेतले भने, ‘पहिलो कार्यकालमा भएको कमी–कमजोरीलाई सुधार गर्दै पहिलो कार्यकालमा भएका अधुरा काम सम्पन्न गर्नेछु ।’ उनका अनुसार घोषणापत्रमा आधारित भएर जनताको सरोकारका विषयलाई मध्यनजर गरेर काम गर्नेछु ।

गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर गजेन्द्र महर्जनले पहिलो कार्यकालको अधुरा कामलाई पूरा गर्दै शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने बताए । ‘नगरवासीले हिजो गरेको कार्यकाललाई मूल्यांकन गर्दै मत दिनुभएकोमा धेरै धन्यवाद छ । अब अधुरा कामलाई पूरा गर्दै नयाँ भिजनका साथ अगाडि बढ्छु,’ उनले भने, ‘नयाँ नगरपालिका भएकाले सबैभन्दा पहिला हिलोमुक्त र धुलोमुक्त बाटो बनाउँछु । सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बनाउनेछु । नगरमा भएको अस्पतालबाट सर्वसुलभ रूपमा स्वास्थ्य सेवा लिन सक्ने अवस्था सिर्जना गर्नेछु ।’

जाे दाेहाेरिए