सर्लाहीको दक्षिणी क्षेत्र धनकौलको एक केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान गर्ने तयारी भएको छ। धनकौल गाउँपालिका–२, स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप भएपछि ६ घण्टादेखि मतदान स्थगित भएको छ।
बिहान मतदान सुरु भएदेखि नै झडप सुरु भएपछि मतदान कार्य नै स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए। झडप सुरु भएपछि बाक्लो मात्रामा सुरक्षाकर्मी खटाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको थियो।
ठूलो संख्यामा उपस्थित भएका पार्टीका नेताकार्यकर्ता आपसमा ढुंगामुडामा उत्रिएपछि मतदान गर्ने अवस्था नरहेको निर्वाचन अधिकृत बरालले जानकारी दिए। दुवै पक्ष झडपमा उत्रिएपछि केहीबेर मतदान स्थल रणभूमिमा परिणत भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन हवाई फायर र दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
केन्द्रबाटै आदेश लिएर पहिलो घेरामा नेपाली सेनाको सुरक्षामा मतदान सञ्चालन गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृत बरालले जानकारी दिए। बिहानैदेखि पटकपटक सहमतिको प्रयास गर्दा पनि कुनै सहमति हुन नसकेको र उल्टै मतदानस्थलको अवस्था बिग्रँदै गएको थियो।
त्यसपछि केही बेर पहिलालमात्र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान स्थलबाट मतपेटिकालगायतका सामग्रीसहित मतदानमा खटिएका कर्मचारीहरूलाई गाउँपालिकाको कार्यलयस्थित निर्वाचन कार्यलयमा सुरक्षित पुर्याइएको थियो। मतदानस्थलबाट मतपेटिका गाउँपालिका कार्यालयसम्म पुर्याउनसमेत प्रहरीलाई हम्मेहम्मे परेको थियो।
बिहान भएको झडपमा समेत प्रहरीले ६ राउन्डभन्दा धेरै हवाई फायर गरेको थियो। उक्त गाउँपालिकाको अन्य मतदान केन्द्रहरूमा समेत पटकपटक झडप भएपछि स्थिति नियन्त्रणमा लिँदै मतदान गर्ने काम भइरहेको निर्वाचन अधिकृत बरालले बताए।
‘गाउँपालिकाको अन्य स्थानमा पनि अवस्था बिग्रने र नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने, ‘तर, यहाँ अब योभन्दा धेरै प्रयास गर्न सकिने अवस्था रहेन।’
मतदान स्थलमा ढुंगामुढा, सिसालगायतले प्रहार भएको थियो। मतदान केन्द्रमा निर्माण गरिएका सामग्री तोडफोड सहित आगजनी भएको प्रहरी जनाएको छ। झडपको क्रममा घाईते भएकाहरुको समेत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
सुरुमा आपसी विवाद गर्दै झडपको स्थितमा पुगेका उनीहरूपछि सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीहरूमाथि खनिएका थिए।