विराटनगर महानगरपालिकाको उपप्रमुखमा एमालेबाट उम्मेदवार बनेकी शिल्पा कार्कीविरुद्ध दर्ता भएको किर्ते राजीनामा मुद्दाको पेसी बिहीबारका लागि सरेको छ । सबै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका लागि बुधबार तोकिएको पेसी न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरेकाले सुनुवाइको पेसी बिहीबारसम्मका लागि स्थगित भएको हो ।
उम्मेदवार कार्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ र निर्वाचन आयोगविरुद्ध किर्ते कागजात प्रयोग गरेर उम्मेदवार सदर गरेकोविरुद्ध उत्पे्रषण परमादेश माग गर्दै २१ वैशाखमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाका सबै पक्षलाई बोलाएर छलफल गराई अन्तरिम आदेश दिन बुधबार न्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।