मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ बैशाख २४ शनिबार ०८:३६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१९औँ  एसियाली  खेलकुद स्थगित

Read Time : > 3 मिनेट
२०७९ बैशाख २४ शनिबार ०८:३६:००

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना संक्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका छन्, साउथ चाइना मर्निङ पोस्टले यो वर्ष एसियाड हुने सम्भावना नरहेको उल्लेख गरेको छ

१० देखि २५ सेप्टेम्बरसम्म हुने १९औँ एसियन खेलकुद प्रतियोगिताका लागि तयार पारिएको चीनको होङझाउ सहरस्थित मुख्य रंगशाला । तस्बिर : एजेन्सी

चीनको होङझाउ सहरमा यही १० देखि २५ सेप्टेम्बरसम्म हुने भनिएको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अनिश्चित समयका लागि स्थगित भएको छ । चिनियाँ ओलम्पिक कमिटी, एसियाडको आयोजक सहर र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)बीच शुक्रबार सम्पन्न बैठकले १९औँ एसियाड तत्कालका लागि स्थगित गरेको हो । बैठकले नयाँ मिति तय गरेको छैन । तीनैवटा प्रमुख निकायले निकट भविष्यमा एसियाडको मिति सार्वजनिक गर्ने भनेका छन् । 

चीनले एसियाड स्थगित गर्नुको कारण जनाएको छैन । तर, विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले पछिल्लो समय चीनमा कोरोना भाइरस संक्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका छन् । ‘केही महिनादेखि चीनका विभिन्न सहरमा कोरोना संक्रमित दर फैलिरहेको छ, यसको असर एसियाडमा पर्ने पक्का छ, यसै कारण चीनले होङझाउमा हुने भनिएको एसियाड स्थगित गरेको हो,’ अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । 

ओसिएले भने चिनियाँ ओलम्पिक कमिटी र आयोजक सहरका पदाधिकारीबीचको सल्लाहपछि मात्र एसियाडको मिति घोषणा हुने जनाएको छ । ‘१९औँ एसियन गेम्सको नयाँ मिति ओसिए, सिओसी तथा होङझाउबीचको वार्तापछि घोषणा हुनेछ,’ ओसिएले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१९ को जनवरीमा चीनमा कोरोना महामारीका रूपमा फैलिएको थियो । पछिल्लो समयमा  धेरै संक्रमित भेटिन थालेपछि चीनले जोखिम नलिन एसियाड स्थगित गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । १९औँ एसियाडको आयोजक सहर होङझाउले प्रतियोगिताको तयारी लगभग पूरा गरेको ओसिएले भनेको छ । ‘होङझाउले एसियाडको तयारी राम्रोसँग गरेको छ, विश्वभरि नै कोरोना महामारी फैलिरहँदा चीनले जोखिम नउठाउने निर्णय गरेको छ,’ ओसिएको विज्ञप्तिमा उल्लेख छ, ‘नयाँ मिति घोषणा हँुदा एसियाडमा केही परिवर्तन आउनेछैन ।’ 

यसैबीच साउथ चाइना मर्निङ पोस्टले भने एसियाड सम्भवतः अर्को वर्षसम्म स्थगित भएको उल्लेख गरेको छ । ‘चीनमा हुने एसियाड अर्को वर्षसम्म स्थगित भएको छ,’ मर्निङ पोस्टले समाचार सम्प्रेषण गरेको छ, ‘यस वर्षमा एसियाड हुने सम्भावना छैन ।’ 

एसियाड स्थगित हुँदा नेपाललाई फाइदा
सेप्टेम्बरमा हुने भनिएको १९औँ एसियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । गत महिना राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय गरेको हो । एसियाड स्थगित हुँदा यसको प्रत्यक्ष फाइदा नेपाललाई पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्यसचिव नियुक्त विवाद सर्वोच्च अदालतमा पुग्दा चार महिना खेलकुद गतिविधि रोकियो । लगभग चार महिना राखेप सदस्यसचिवविहीन हुँदा खेलकुदका ठूला निर्णय हुन सकेका थिएनन् । 

गत महिना सर्वोच्च अदालतले टंकलाल घिसिङलाई सदस्यसचिवका रूपमा काम गर्न फैसला दिएसँगै खेलकुदको गतिविधि बढ्यो । सर्वोच्च अदालतको फैसला नआउँदासम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना, एसियाडका लागि खेलाडी छनोट र तयारीमा स्पष्ट असर गरेको थियो । घिसिङको पुनर्बहालीपछि खेलकुदमा गति लिएको हो । १९औँ एसियाडमा नेपाली खेलाडीहरूको नाम मे महिनाको दोस्रो सातासम्म पठाउनुपर्ने भएपछि २३ वटै संघहरूले प्रारम्भिक खेलाडी छनोट गरिरहेका छन् । 

हतारमा भइरहेको खेलाडी छनोटले नेपालको एसियाड सहभागिता केवल सहभागीमा मात्र सीमित हुने देखिन्थ्यो । अहिले एसियाड अनिश्चितकालीन स्थगित भएपछि नेपालले तयारी गर्ने समय पाएको छ । ‘अहिले एसियाड स्थगित हुँदा यसको फाइदा नेपाललाई पुगेको छ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ पत्रिकालाई भने, ‘अब नेपाली खेलाडीसँग अभ्यास गर्नेदेखि अन्तर्राष्ट्रिय एक्सपोजरसम्म गर्न पाउने समय प्राप्त भएको छ ।’ 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव नीलेन्द्रराज श्रेष्ठले एसियाड स्थगित हुँदा खेलाडीहरूले अभ्यास गर्न पर्याप्त मौका पाएको बताए । ‘कोभिडका कारण हामीले विभिन्न खेलाडीहरूलाई राम्रोसँग प्रशिक्षण गराउन पाएका थिएनौँ, अहिले एसियाड स्थगित भएको खबर छ, अब तयारी गर्न धेरै समय छ,’ श्रेष्ठले भने, ‘प्रतियोगिता सार्नु वा स्थगित हुनु भनेको राम्रो होइन, तर नेपालको नजरमा हामीलाई फाइदा नै पुगेको छ ।’ 

राखेपका सदस्यसचिव घिसिङले निर्धारित समयमा एसियाड हुँदा नेपालको सहभागिता केवल सहभागीकै रूपमा सीमित हुने सम्भावना रहेको बताए । शुक्रबार पौडी तथा तेक्वान्दोको छनोट हेर्न पुगेका सदस्यसचिव घिसिङले एसियाड स्थगित हुँदा खेलाडीले राम्रोसँग अभ्यास गर्ने अवसर पाएको बताएका हुन् । ‘सेप्टेम्बरमै खेल्दा नेपाल केवल सहभागी मात्र हुन्थ्यो होला, अहिले पदक सम्भावित खेलका खेलाडीलाई एक्सपोजर गर्ने मौका मिलेको छ,’ घिसिङले भने । 

चीनमा कोरोनाको अवस्था
सन् २०१९ मा चीनको वुहान सहरबाट कोरोना फैलिएको थियो । सन् २०२२ को सुरुवातदेखि नै चीनमा कोरोना संक्रमित दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार चीनमा तीन सय ७४ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा चीनमा संक्रमित १२ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा अहिले ११ हजार पाँच सय १५ को केस एक्टिभ छ । चीनमा कोरोनाबाट पाँच हजार एक सय ५३ जनाले ज्यान गुमाएका छन् । 

नेपाल सहभागी हुने खेल
एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ । 

अब पदक आउने खेलमा केन्द्रित हुन्छौँ : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप

एसियाडमा सहभागी हुने विभिन्न खेलका खेलाडीहरू प्रारम्भिक छनोट चरण खेलमा सहभागी भइरहेका छन् । हामीले छोटो समयमा खेलाडी छनोट गरिरहेका छौँ । सेप्टेम्बरमै एसियाड हुँदा नेपालको सहभागिता केवल सहभागीमै मात्र सीमित हुने भन्ने डर थियो ।

तर, अहिले स्थगित भएको अवस्थामा हामीसँग तयारीको पर्याप्त समय प्राप्त भएको छ । पदक सम्भावित खेलका खेलाडीलाई त्यसैअनुसारको प्रशिक्षण गराउनुपर्छ । 

कोभिडका कारण राम्ररी तयारी गर्न पाएका थिएनौँ : नीलेन्द्रराज श्रेष्ठ, महासचिव, एनओसी
कोभिड–१९ का कारण हामीले खेलाडीलाई राम्रोसँग प्रशिक्षण गराउन पाएनौँ । अहिले एसियाड स्थगित हुँदा नेपाललाई फाइदा पुगेको छ । ओसिएले एसियाडको नयाँ मिति घोषणा गरेको छैन । सम्भवतः छिट्टै अर्को बैठक बस्नेछ ।

अब नयाँ मिति सार्वजनिक नहुँदासम्म खेलाडीलाई राम्रोसँग तयारी गराउने अवसर जुरेको छ । अहिले छनोट भएका खेलाडीले नवौँ राष्ट्रिय खेलकुदसमेत खेल्नेछन् । नवाैँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूले थप एक्सपोज पाउनेछन् । 

 हामीले अबको तयारी गर्ने अवसर गुमाउनुहुन्न : दीपक श्रेष्ठ, अध्यक्ष, रा.अ. खेलाडी संघ

राखेपमा सदस्यसचिव विवादले लगभग चार महिना खेलकुद गतिविधि खासै भएन । यसको प्रत्यक्ष असर एसियाडका खेलाडी छनोटदेखि तयारीसम्म परेको थियो । अहिले सरेको छ । नयाँ मिति कहिले सार्वजनिक हुन्छ, थाहा छैन ।

यसै कारण नेपाली खेलाडीले प्रशिक्षण गर्ने राम्रो अवसर पाएको छ । हामीले छनोट भएका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिलाउनुपर्छ । लामो समयसम्म एसियाड स्थगित हुँदा यसको असर खेलाडीमा पर्न सक्ने देख्छु ।