सहिद स्मृति माध्यमिक विद्यालयले दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। गण्डकी विश्वविद्यालयको आयोजनामा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै सहिद स्मृतिले उपाधि हात पारेको हो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि टाइब्रेकरमा धकेलिएको खेलमा सहिद स्मृतिले बाजी मारेको हो। उपाधिसँगै सहिद स्मृतिले एक लाख नगद र सिल्ड पाउँदा उपविजेता स्टेप बाई स्टेपले ५० हजार नगद पुरस्कार पायो। प्रतियोगितामा सहिद स्मृतिका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द म्याच घोषित हुँदै नगद १५ हजार पाए।
विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटा, विश्वविद्यालयका रजिस्ट्रार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङलगायतले सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा २३ विद्यालय सहभागी थिए।