ब्ल्याक सीमा हजारौँ टन रुसी तेल चुहिएपछि बुधबार रसिया सरकारले ५० किलोमिटर क्षेत्रमा सफाइ अभियान विस्तार गरेको छ। तेल बोकेका जहाजहरू एउटा आँधीका कारण दुर्घटनाग्रस्त हुँदा ब्ल्याक सी (कृष्ण सागर) किनार प्रदूषित भएपछि रसियाले सफाइ अभियान चलाएको हो।
आँधीका कारण एउटा पुरानो रुसी तेल ट्यांकर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रुसको क्रास्नोडार क्षेत्रबिचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएका थिए।
रसियाको आपतकालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्री तट सफा गरेको र कुल ७० किलोमिटर समुद्री तटमा गस्ती गरेको जनाएको छ।
दुई ट्यांकरले करिब नौ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको समाचार एजेन्सीहरूले जनाएका छन्। क्रिमियन समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीलाई उद्धृत गर्दै एक समाचार एजेन्सीले स्याटेलाइट तस्बिरहरूले डुबेको ट्यांकरबाट अझै पनि तेल चुहिरहेको देखाएको जनाएका छन्। तीव्र गतिमा चलेको बतासले पोखिएको तेललाई दक्षिणी रुसको समुद्र तटतिर धकेलिरहेको छ।
करिब ९० हजार जनसंख्या भएको अनपाको समुद्री तट रिसोर्टले आपतकालीन अवस्था घोषणा गरेको छ। आपतकालीन अवस्था मन्त्रालयले बुधबार स्वयंसेवक र आपतकालीन कामदारहरूको संख्या बढेर दुई हजार सात सय पुगेको जनाएको छ। तिनीहरूले समुद्र तटबाट कालो तेल निकाल्दै छन्। उनीहरूले करिब ८० टन तेल संकलन गरेको र समुद्र तटको आठ किलोमिटरभन्दा बढी सफा गरेको बताइएको छ।
अनपा महानगरपालिकाका अनुसार संलग्न रहेकाहरूमा करिब चार सय कोसाक्स थिए। कोसाक्स रुस र युक्रेनको घाँसे मैदानमा बस्ने एक जाति हुन्।
‘अनपा तेल चुहावटसँग जुझिरहेको छ र समुद्र तटहरू बचाउने प्रयास गरिरहेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा स्वयंसेवकहरूलाई अपिल गर्दै भनिन्, ‘सुनौलो बालुवा भएका ती प्रसिद्ध समुद्री तटहरूमा हरेक वर्ष लाखौँ पर्यटक भेला हुन्छन्।’