
आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित राजनीतिक दलका दुई हजार दुई सय ८४ जनाले मनोनयन दर्ता गराएका छन्। खुला वडासदस्य, दलित महिला सदस्य, महिला सदस्य, वडाध्यक्ष, उपप्रमुख र प्रमुखका लागि जिल्लाभर दुई हजार दुई सय ८४ जनाले मनोनयन दर्ता गराएका हुन्।
चार सय ७८ पदका लागि एकचौथाइ नेता–कार्यकर्ता चुनावी मैदानमा उत्रिएका छन्। १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटीसमेत जफत हुन्छ। तैपनि पदका लागि मरिहत्ते गर्ने गरेका विगतको नतिजाले पनि देखाएको छ। पाँच वर्षअघि फर्केर हेर्दा कञ्चनपुरमा यस्ता पनि उम्मेदवार देखिए, जसले आफैँलाई विश्वास गरेनन्। आफैँप्रति विश्वास नभएका नेता–कार्यकर्ता फेरि चुनावी मैदानमा भने उत्रिएका छन्।
गत निर्वाचनमा कञ्चनपुरका नौ पालिकामध्ये पाँच पालिकाबाट उम्मेदवार बनेका पाँच उम्मेदवारले एक मत पनि ल्याउन सकेनन्। जब कि उम्मेदवार स्वयंले पनि आफूलाई मत हाल्न पाउँछन्। उम्मेदवारी दर्ता गराएर उनीहरू आफैँले आफैँलाई मत हालेनन्। आफैँप्रति पनि विश्वास नभएका तिनै नेताहरू फेरि चुनावी मैदानमा उत्रिएका हुन्।
चार स्वतन्त्र र एक जनमोर्चका उम्मेदवारले गत निर्वाचनमा शून्य मत ल्याएका थिए। निर्वाचन आयोगको तथ्यांकअनुसार ०७४ सालमा भीमदत्त नगरपालिका– ९ का अध्यक्षका उम्मेदवार दिलबहादुर नाथले शून्य मत ल्याएका थिए। उनी राप्रपाका बागी उम्मेदवार थिए। यसैगरी, बेदकोट १० बाट वडाध्यक्षका लागि कांग्रेसका बागी उम्मेदवार नवलसिंह देउवाले पनि शून्य मत ल्याएका थिए। दोधाराचाँदनी नगरपालिका– ४ बाट वडाध्यक्षका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार दिलबहादुर सुनारले पनि शून्य मत ल्याएका थिए।
यता कृष्णपुर नगरपालिका– ९ का वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रबहादुर साउदले र शुक्लाफाँटा नगरपालिका– ६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार चक्रबहादुर साउदले पनि शून्य मत ल्याएका थिए। आफैँले आफैँलाई विश्वास नगर्दा उम्मेदवार स्वयंले एक मत पनि नल्याएका हुन सक्ने सुदूरपश्चिम विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक डा. भूपेन्द्रसिंह विष्ट बताउँछन्। ‘इगो, रहर, ईर्ष्याले उम्मेदवारी दिने, आफैँप्रति पनि विश्वास नभएकाले एक मत ल्याउन नसकेका हुन हुन्छन्,’ उनले भने, ‘यो विषय दुखद् र हास्यास्पद छ।’ जनताले समेत यस्ता उम्मेदवार पहिचान गरिरहेको भन्दै प्राध्यापक डा. विष्टले आफ्ना घरपरिवार र स्वयंलाई पनि आफूप्रति विश्वास नहुँदा एक मत पनि ल्याउन नसकेको बताए।