
आगामी स्थानीय तह निर्वाचनका लागि ३९ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ। बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आवश्यक एक करोड ९४ लाख थानमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ भएको जानकारी दिए। उनका अनुसार हाल दैनिक आठ लाख थान मतपत्र छपाइ भइरहेको छ।
निर्वाचनको पर्यवेक्षणका लागि ६५ वटा राष्ट्रिय संस्थाले निवेदन दिएका पनि आयोगले जनाएको छ। आयोगले पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरेको थियो। पर्यवेक्षणका लागि ती संस्थाबाट ११ हजार ६९४ पुरुष, ८ हजार ४८२ महिला र अन्य २९१ गरी २० हजार ४ सय ६७ जनाको प्रस्ताव आएको छ। ती संस्थाहरूको निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र निर्णय गर्ने आयोगले जनाएको छ।
स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रूपमा जानकारी दिन आयोगले आज बिहीबारदेखि हरेक दिन स्थानीय तह निर्वाचन इ-बुलेटिन प्रकाशन सुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताए। उनका अनुसार बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ।