१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ चैत २९ मंगलबार ०८:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भीमदत्त नगरपालिकाले पाँच वर्षमा बनायो एक सय १० कानुन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ चैत २९ मंगलबार ०८:४८:००

भीमदत्त नगरपालिकाले पाँच वर्षमा गरेका काम सार्वजनिक गरेको छ । १४ असार ०७४ मा निर्वाचित भीमदत्त नगरपालिकाको नेतृत्वले यस अवधिमा गरेका कार्य सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । 

नगर प्रमुख सुरेन्द्र विष्ट सहभागी कार्यक्रममा इन्जिनियर हिमालयसिंह ऐरीले यस अवधिमा भएका विकासका कामबारे संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । उनले विभिन्न भौतिक पूर्वाधार विकास निर्माण, पुलपुलेसा, सडक, तटबन्ध, भौतिक पूर्वाधारलगायत अन्य बौद्धिक स्तरमा प्रगति भएको दाबी गरे । जनतालाई वडाबाटै अधिकार दिलाउन नगरपालिकाले एक सय १० वटा कानुन निर्माण गरेको उल्लेख गरेको छ ।

नगरपालिकाले पाँच वर्षको अवधिमा नगरका १९ मध्ये १४ वडामा भवन निर्माण भएको जनाएको छ । पाँचवटा वडा भवन निर्माणाधीन अवस्थामा छन् । नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण सुरु गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट झन्डै ४८ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । यस्तै, ९८ कल्भर्ट निर्माण, १७२ स्थानमा सौर्यबत्ती जडान, ११ पार्क, ११ वटा चौतारा निर्माण गरिएको उल्लेख प्रतिवेदनमा उल्लेख छ । क्षेत्रीय सहरी कार्यक्रमअन्तर्गत ११ किलोमिटर कालोपत्रे सडक र २२ किलोमिटर नाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

भीमदत्त नगर प्रमुख विष्टले संविधानअनुरूप स्थानीय तहका अधिकार कार्यान्वयन गराउन सुरुको एक वर्ष बितेको बताए । एकात्मक शासन प्रणालीबाट संघीय शासन व्यवस्थामा मुलुक जाँदा सुरुका दिनमा थुप्रैै चुनौती भए पनि त्यसलाई नगरपालिकाले चिरेको उनले दाबी गरे । ‘यो सहरलाई आगामी २५ वर्षमा कस्तो बनाउनेबारे हामीले रणनीति योजना अघि सारेका छौँ,’ उनले भने, ‘दुई वर्ष त कोरोनाले नै डिस्टर्ब गरिदियो ।’ विकासका काम रोकेर भए पनि जनताको स्वास्थ्यतर्फ नगरपालिका केन्द्रित भएको उनले बताए ।