मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २८ सोमबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवार चयनको विषयमा कोन्ज्योसोममा माओवादी केन्द्रमा विवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार १७:५५:oo

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीका नेता कार्यकर्ताबीच विवाद भएको छ। पार्टी कोन्ज्योसोम कमिटीका अध्यक्ष  महेश लामाले सुनियोजित र प्रतिशोधपूर्ण ढंगले उम्मेदवार चयन गर्न लागेको भन्दै सदस्यहरूले विरोध गरेका हुन्।

आगामी निर्वाचनको लागि सोमबार दिउँसो पार्टीको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार छनोट गर्न बैठक बसेको थियो। तर, अध्यक्ष लामाले आफ्नो नजिकका व्यक्तिलाई उम्मेदवार बनाउन खोजेको भन्दै अन्य दाबेदार र सदस्यहरूले विरोध गरेका हुन्। 

अध्यक्ष लामाले कोन्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष सुविन्द्र तामाङलाई उम्मेदवार बनाउने विषय बैठकमा राखेका थिए। त्यसलगत्तै अन्य नेता तथा कार्यकर्ता विरोध जनाएका थिए। अध्यक्षले पार्टीको विधि विधानविपरीत काम गर्न खोजेको उनीहरूको आरोप छ। लामाले एकलौटी ढंगले उम्मेदवार चयनको निर्णय गर्न खोजेको भन्दै बैठकमा चर्को भनाभनसमेत भएको बताइएको छ। विरोधपछि बैठक विनानिष्कर्ष स्थगित भएको बैठकमा सहभागी एक सदस्यले बताए।

वर्तमान गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानलाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने पालिका कमिटी सदस्यहरूको अडान छ। माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्यसमेत रहेका सिङ्तान उक्त पालिका कमिटीका इन्चार्ज पनि हुन्। नयाँ र अपरिपक्क व्यक्तिलाई उम्मेदवार बनाउँदा त्यसले पार्टीलाई नै असर पार्ने मत सदस्यहरूको बैठकमा राखेकाे स्रोतले बतायो।

२०७४ को निर्वाचनमा उपत्यकाका तीन जिल्लाका पालिकामध्येबाट ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा मात्रै माओवादी केन्द्रले जितेको थियो।