मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २३ बुधबार
  • Tuesday, 11 March, 2025
मञ्जु टेलर काठमाडाैं
२o७८ चैत २३ बुधबार o७:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंका सरकारी अस्पतालमा फेरि जनशक्ति अभाव हुने

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २३ बुधबार o७:२६:oo

कोभिडलक्षित स्वास्थ्यकर्मीको करार अवधि सकिँदै

कोभिड महामारीलाई लक्षित गरी ल्याइएका स्वास्थ्यकर्मीको करार अवधि सकिने भएपछि विभिन्न सरकारी अस्पतालका स्वास्थ्य सेवा प्रभावित हुने भएका छन् । कोभिड संक्रमणदर उच्च बिन्दुमा पुगेको समयमा आवश्यक दरबन्दीमा करारमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि आगामी चैत मसान्तमा सकिँदै छ । देशभरिको तुलनामा कोभिड संक्रमितको उच्च चाप रहेको काठमाडौंका ठूला अस्पतालमा बढाइएको सेवासुविधा कटौती गर्दा स्वास्थ्य सेवा पुरानै अवस्थामा फर्किने अस्पताल प्रशासनहरूले जनाएका छन् ।     

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत देशभरका अस्पतालमा दरबन्दीअनुसार आवश्यक कर्मचारी करारमा लिइएको थियो । कोभिड संक्रमणदर सामान्य अवस्थामा फर्केकाले तत्कालका लागि करारका कर्मचारीको सेवा अवधि थप्नेबारे कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण करिब–करिब नियन्त्रणमा आइसकेका कारण तत्कालका लागि करार अवधि चैत मसान्तसम्म मात्रै स्वीकृत भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यद्यपि कोभिडलक्षित गरेर बिरामीको चापअनुसार थपिएकाले हाल देशभर करारमा थपिएका कर्मचारीको यकिन तथ्यांक उपलब्ध भने छैन । यसबाहेक अस्पतालमा कोभिड बिरामीको चापअनुसार थपिएका स्वास्थ्यकर्मीहरूले बिचमै छोड्ने र थपिने क्रम जारी रहेकाले यकिन तथ्यांक उपलब्ध नभएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

डा. समीरकुमार अधिकारी सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय

नेपालमा कोभिड संक्रमण करिब–करिब नियन्त्रणमा आइसकेका कारण तत्कालका लागि कर्मचारीको करार अवधि चैत मसान्तसम्म मात्रै स्वीकृत भएको छ । सेवा अवधि थप्नेबारे कुनै निर्णय भएको छैन ।

संक्रमितको चाप घट्दै गए पनि अधिकांश अस्पतालमा आवश्यक दरबन्दीमै करारमा कर्मचारी राखिएकाले करार अवधि सकिँदा सेवा प्रभावित हुने अवस्था देखिएको छ । महामारीका वेला कोभिड अस्पताल बनाइएका ठूला अस्पतालमा ननकोभिड सेवा सुचारु गरिएकाले तत्काल कर्मचारी हटाउँदा सेवा विस्तारमा समस्या देखिने वीर अस्पतालका प्रवक्ता सागर मिश्रले बताए । ‘कोभिडको दोस्रो लहरमा बिरामीको चाप थेग्न गाह्रो भएपछि सर्जिकल भवन सञ्चालनमा ल्याइएको हो । महामारीलाई लक्षित गरी चिकित्सक, नर्स, टेक्निसियन र सहयोगी गरेर चार सयभन्दा बढी कर्मचारी करारमा लिइएको थियो । अहिले करारका कर्मचारीको भरमा चलिरहेको सर्जिकल वार्ड बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ,’ उनले भने ।

वीर अस्पतालले कोभिड संक्रमितलाई लक्षित गरी १८० जना नर्र्स, ४० जना सेक्युरिटी गार्ड, २२० जना अन्य स्वास्थ्यकर्मी करारमा लिएको थियो । अस्पतालले कोभिड वार्डमा ३० वटा आइसियू, १८ वटा क्याबिन, तीन शय्या ओटी, कोभिड वार्ड सञ्चालनमा ल्याएको थियो । यदि कर्मचारीको करार अवधि थप नभएमा पिसिआरको २४ घन्टे ल्याब, पुरानो भवनमा रहेको आइसियू वार्ड र सर्जिकल भवनका सबै सेवा बन्द हुने अस्पताल प्रशासनले जनाएको छ । ‘हामीले असार मसान्तसम्म सेवा थप्न मन्त्रालयसँग आग्रह गरेका छौँ । यदि मन्त्रालयले करार अवधि बढाएन भने वीर अस्पतालको सेवा सुविधा फेरि पुरानै अवस्थामा फर्किन्छ,’ मिश्रले भने ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा समेत कोभिड संक्रमित लक्षित गरेर ७१ जना स्वास्थ्यकर्मी करारमा लिइएको थियो । ठूलो संख्यामा रहेका कर्मचारीको करार अवधि सकिएसँगै अस्पतालको सेवा प्रभावित हुने बताउँछन् अस्पतालका प्रवक्ता नवराज गौतम । ‘अस्पतालले करारमा लिएका कर्मचारी आफ्नै खर्चमा राख्न सक्ने अवस्था छैन । कोभिड महामारीको बीचमा थपिएका सेवासुविधा हाल पनि सञ्चालनमै छन् । स्वास्थ्यकर्मीहरूसमेत ननकोभिड वार्डमा काम गर्न थालिसकेकाले सेवा प्रवाहमा समस्या आउने देखिन्छ,’ उनले भने । 

टेकु अस्पताललाई ‘कोभिड अस्पताल’मा परिणत गरैसँगै तीन बेडको आइसियूलाई बढाएर २८ वटामा र क्याबिन पाँच बेडबाट बढाएर १० बेडमा पुर्‍याएको थियो । यसबाहेक एचडियू ४० बेड र १० वटा इमर्जेन्सी बेड रहेको वार्डलाई बढाएर ५३ वटा बेडमा पुर्‍याइएको थियो । 

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा समेत हाल कार्यरत ३० जना स्वास्थ्यकर्मीको सेवा अवधि कटौती हुँदै छ । अस्पतालले महामारीलाई लक्षित गरेर ५० जना स्वास्थ्यकर्मीलाई करारमा लिएको थियो । सेवा अवधि निश्चित नभएपछि लगभग २० जनाले यसअघि नै छाडेका थिए । अस्पतालका कोभिड संयोजक डा. प्रवीण नेपाल भन्छन्, ‘कोभिडका बिरामीको संख्या घटे पनि अन्य बिरामीको संख्या बढेको छ । अहिले उपलब्ध स्वास्थ्यकर्मीहरू सेवा विस्तारका लागि आवश्यक रहेको करारका स्वास्थ्यकर्मी कटौती हुँदा अन्य स्वास्थ्यकर्मीमा भार पर्ने देखिन्छ ।’

कोभिड बिरामीको चापलाई लक्षित गरेर निजामती कर्मचारी अस्पतालले पनि ३० जना नर्स गरी ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई करारमा लिएको थियो । हाल करार सेवामा कार्यरत २५ जना नर्स अपुग भएकाले तत्काल सेवा कटौती नगर्ने बताउँछिन् अस्पतालकी नर्सिङ सेवा प्रमुख मंगलमाया प्रजापति । ‘अहिलेलाई करारमा कार्यरत नर्सहरूको सेवा कटौती नगर्ने भनिएको छ,’ उनले भनिन् ।

शून्य संक्रमित जिल्लाको संख्या १७ पुग्यो
नेपालमा सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा मुनि झरेको छ । यस्तै शून्य संक्रमित जिल्लाको संख्यासमेत १७ पुगेको छ । हाल देशभर आठ सय १२ जना मात्र सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा एक सय ३३ र ललितपुरमा एक सय सातजना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा परीक्षण गरिएका पाँच हजार पाँच सय ८७ नमुनामध्ये २४ जनामा मात्रै संक्रमण देखिएको छ । जुन कुल परीक्षणका आधारमा ०.४३ प्रतिशत हुन्छ । कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकाको संख्यासमेत न्यून छ । हाल देशभर ४१ जना मात्रै उपचाररत छन् । जसमध्ये गम्भीर बिरामी बागमतीमा १४ र गण्डकीमा एकजना रहेको मन्त्रालयको तथ्यांक छ ।