झन्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारमा दुई हजार दुई सय कक्ष रहेका छन् । चार हजार चार सयजनालाई रोजगारी दिइने लक्ष्य राखिएको छ । जसबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने अनुमान छ।
भक्तपुरको सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झन्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी दुर्गा प्रसाईंले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालनमा ल्याएका हुन् ।
सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका– ८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार दुई सय कक्ष रहेका छन् । चार हजार चार सयजनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईंले बताए ।
‘किसानलाई उचित मूल्य दिन तथा बिचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो,’ उनले भने, ‘तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्नेछ ।’