१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गौरीगन्ज–६ स्थित खजुरगाछीमा बन्द अवस्थामा रहेको छोटी भन्सार कार्यालय ।
२o८१ बैशाख २४ सोमबार o७:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

छोटी भन्सार सञ्चालन नहुँदा तस्करी बढ्दो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o८:oo

झापामा रहेका नेपाल–भारत सीमाका  छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ । मूल भन्सार मानिने मेची भन्सार र भद्रपुर भन्सारअन्तर्गत रहेका ११ वटै छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढेको हो । 

मेची भन्सार काँकडभिट्टाअन्तर्गत ६ वटा र भद्रपुर भन्सारअन्तर्गत पाँचवटा छोटी भन्सार छन् । यीमध्ये कतिपय वर्षौँदेखि बन्द छन् भने केही कोरोना महामारीयता खुल्न सकेका छैनन् । मेची भन्सारअन्तर्गत गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा, महाभारा र गौरीगन्ज  छोटी भन्सार छन्  । तीमध्ये बाहुनडाँगी, नकलबन्दा र गौरीगन्ज महामारीअघिसम्म सञ्चालनमा थिए । तर, महामारीपछि भने यी छोटी भन्सार पनि बन्द छन् । 

यस्तै, भद्रपुर भन्सारअन्तर्गत पाठामारा, केचना, घेराबारी, पन्थपाडा, कुमरखोद–झापा छोटी भन्सार छन् । तीमध्ये झापा गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा छ । यहाँ एकजना कर्मचारी छन् । तर, कोभिड महामारीपछि उनी कामविहीन छन् । ‘चारवटा छोटी भन्सार बन्द छन् । छोटी भन्सार झापामा चाहिँ एकजना कर्मचारी छन्,’ भद्रपुर भन्सारका प्रमुख रामेश्वर मिश्र भन्छन्, ‘कोरोनापछि त्यहाँ पनि काम भएको छैन ।’

छोटी भन्सारको आफ्नै संरचना छ । केही छोटी भन्सार लामो समयदेखि सञ्चालनमा नआउँदा स्थानीयका गाईगोठ भएका छन् । कतिपयले छोटी भन्सारको संरचनामा बाख्रा पनि बाँध्ने गरेका छन् । तर, यी दुई भन्सार कार्यालयले हालसम्म छोटी भन्सारको संरचना संरक्षणमा ध्यान दिएका छैनन् । 

कोभिड महामारीपछि दुईवटा मूल भन्सारबाहेक ११ वटै छोटी भन्सार बन्द रहेका कारण सीमामा हुने वैधानिक व्यापार ठप्पजस्तै छ । जसका कारण तस्करी भने मौलाएको छ । ‘हामीलाई त धेरै समस्या छ । वैधानिक हिसाबले राजस्व तिरेर सामान ल्याउँछु भन्दा पनि पाउँदैनौँ । यहाँबाट सामान ल्याएर भन्सार तिर्न काँकडभिट्टा वा भद्रपुर पुग्नुपर्छ,’ गौरीगन्ज–६ का विनोद साह भन्छन्, ‘भन्सार नहुँदा तस्करी मौलाएको छ । दैनिक उपभोग्य सामान ल्याउँदा पनि छोटी भन्सार कार्यालय नहुँदा नागरिकले दुःख पाएका छन् ।’ 

गौरीगन्ज–६ मा रहेको गौरीगन्ज छोटी भन्सार कार्यालयले विगतमा मासिक दुई लाखसम्म राजस्व उठाउने गरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको दाबी छ । तर, लामो समयदेखि छोटी भन्सार बन्द हुँदा लाखौँ राजस्व गुमेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । ‘कोरोनापछि गौरीगन्जको छोटी भन्सारमा कर्मचारी छैनन् । यो केका लागि छोटी भन्सार ? कर्मचारी बस्नुपर्छ कि पर्दैन ? भन्सार काट्ने सामग्री ल्याउँदा पनि भन्सार काट्न पाउँदैनन् । जसले गर्दा तस्करी मौलाएको छ,’ उनी भन्छन्, ‘मेची भन्सार प्रमुखलाई पटक–पटक जानकारी गराएँ । तर, छोटी भन्सार सञ्चालनमा चासो नदिएपछि एक वर्षदेखि सम्पर्क पनि गरेको छैन ।’ सीमामा बस्ने सशस्त्र प्रहरीलाई पनि भन्सार नभएपछि अवैध सामान पक्राउ गर्नसमेत झन्झट रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

स्थानीयका अनुसार छोटी भन्सार सञ्चालनमा नहुँदा खुला सीमा रहेका नाकाबाट खुलेआम तस्करी हुँदै आएको छ । गौरीगन्जको फत्तेपुर नाकाबाट खुलेआम तस्करी हुने गरेको फत्तेपुर नाकाका स्थानीय गुणाप्रसाद सिंहले बताए । ‘भन्सार छैन । तर, साइकलका साइकल सामान आइरहन्छन्,’ उनी भन्छन्, ‘दिनभर सुरक्षाकर्मीले कडा गर्छन् । रात परेपछि उनीहरूकै मिलेमतोमा तस्करी हुन्छ । यो नाका भएर चिनी सबैभन्दा धेरै आउँछ । माछा पनि आउँछ ।’ यहाँ छोटी भन्सार नहुँदा दमकसम्मका व्यापारीले सशस्त्र प्रहरीसँग लाइन मिलाएर राजस्व छलेर सामान भिœयाउँदै आएका छन् । 

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख केशवराज ओलीले प्राविधिक कारण कोरोना महामारीपछि छोटी भन्सार चल्न नसकेको बताए । ‘छोटी भन्सारबाट धेरैजसो खाद्यान्न आउँछन् । ती खाद्यान्न पनि सर्टिफाई भएर नआउने हुनाले भन्सार राखेर पनि हामीले पास गर्न सक्दैनौँ ।’ यसबारे जिल्ला प्रशासन कार्यालयमा मिटिङ पनि भएको, तर निर्णय भइनसकेको उनको भनाइ छ । ओलीले नयाँ पत्रिकासँग भने, ‘त्यहाँ व्यापार गर्छन्, वैध कारोबार गर्छन् भने मूल भन्सारबाट नै आउनुपर्छ । दुई–तीन केजी चिनी ल्याउँदैमा तस्करी भयो भन्न पनि भएन । विभागीय रूपमा केही समस्या भएका कारण छोटी भन्सार चल्न सकेको छैन ।’
 

ad
ad