Skip This
कम्युनिस्टको द्वैध चरित्र : दुर्नियतिको मूल कारण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Sunday, 07 July, 2024
चन्द्रदेव जोशी
२o७८ फाल्गुण १६ सोमबार o८:२o:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्टको द्वैध चरित्र : दुर्नियतिको मूल कारण

कम्युनिस्टहरूको छिन्नभिन्न भएको अवस्थामा संविधान जोगिन त गाह्रो छ, समाजवादउन्मुख दिशा सुनिश्चितता धेरै परको विषय भयो

Read Time : > 4 मिनेट
चन्द्रदेव जोशी
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार o८:२o:oo

देशको राजनीतिक दिशा पुनः अलमलिएको छ । अनिश्चिततातर्फ धकेलिँदै जाने सम्भावना प्रतिदिन बढ्दै गइरहेको छ । व्यक्तिगत महत्वाकांक्षा र अहंका कारण संसद् र संविधानमाथि घात गर्दै व्यक्तिगत सर्वसत्तावाद कायम गर्ने अभिप्रायले ओलीद्वारा पटक–पटक उठाइएका प्रतिगमनकारी कदम र मनपरीतन्त्रविरुद्ध संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशिताजस्ता वर्तमान लोकतन्त्रका आधारभूत स्तम्भहरूको रक्षाका लागि राजनीतिक दलहरूदेखि नागरिक समाज र आमजनता गोलबन्द भएर देशमा सकारात्मक राजनीतिक ध्रुवीकरण सिर्जना भएको थियो । तर, अहिले राजनीति पुनः दिशाविहीन बहुपक्षीय अन्तरद्वन्द्व र अराजकताको स्थितिमा पुगेको छ ।

दीर्घकालीन ध्येय र चिन्तनबाट होइन, तात्कालिक संकीर्ण स्वार्थी सोचबाट निर्देशित भएर अराजनीतिक, असैद्धान्तिक, अनमेल र असहज रूपमा ध्रवीकृत भइरहेको छ । यसको एक मात्र कारण राजनीतिक दलका नेतृत्वमा जरो गाडेर बसेको द्वैध चरित्र, व्यक्तिवादिता, सैद्धान्तिक र चारित्रिक पतन, देश र जनताभन्दा आफ्ना लागि राजनीति गर्ने चिन्तन र व्यवहार हो । देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगटेका राजनीतिक दल र तिनका नेतृत्वको चरित्र, चिन्तन र व्यवहार यस्तै रहिरहे देशले दुर्भाग्य व्यहोर्नुपर्ने निश्चित छ ।

नेपालको राजनीतिक इतिहासमा प्रजापरिषद्ले राणाविरोधी संगठित आन्दोलन सुरू गरेकै समयदेखि यो देशमा भ्रूण रूपमै भए पनि, वामपन्थी र प्रजातान्त्रिक धार कायम छन् । प्रजातान्त्रिक समाजवादी दर्शन लिएर नेपाली कांग्रेसको र नेकपाको विधिवत् स्थापनापछि समानान्तर रूपमा दुई राजनीतिक धार चलिआएका छन् । यी दुई धारले जन्मकालदेखि नै घोषित रणनीतिक लक्ष्य र कार्यदिशाको भिन्नताका बाबजुद राणातन्त्र, निरंकुश पञ्चायती व्यवस्था र राजाको प्रत्यक्ष शासनविरुद्ध लोकतन्त्र र राजनीतिक स्वतन्त्रताका खातिर संयुक्त रूपले नै निर्णायक भूमिका निर्वाह पनि गर्दै आएका हुन् । दुर्भाग्य, ०४८ सालको आम निर्वाचनपछि दुइटै आन्दोलन आफ्नो लक्ष्य र सिद्धान्तबाट विमुख भएर निहित राजनीतिक स्वार्थ र व्यक्तिगत लाभ–हानिको चिन्तनबाट निर्देशित भई असैद्धान्तिक राजनीतिको दौडमा लागेको प्रतिफल आजको दुरावस्था हो । तर, यस लेखनको उद्देश्य समष्टिमा होइन, विशिष्ट रूपमा कम्युनिष्स्ट आन्दोलन सापेक्ष वर्तमान अवस्थालाई हेर्नु हो ।

समष्टिमा हेर्दा वर्तमान राजनीतिक अनिश्चितताको प्रमुख कारक राजनीतिक नेतृत्वको चरित्र नै हो । तर, आजको विशिष्ट अवस्थालाई हेर्ने हो भने यसको मूल कारण, कम्युनिस्ट आन्दोलनको प्रमुख शक्तिको रूपमा रहेका तत्कालीन एमाले र माओवादी तथा पछि यिनकोे अपवित्र समागमबाट जन्मेको ठिमाहा तत्कालीन नेकपा नेतृत्वको दोगला चरित्र हो । त्यसमा पनि, पार्टी र सरकारको नेतृत्व गरिरहेकाले प्रमुख जिम्मेवारी खड्ग ओलीमा जान्छ । समष्टिमा त्यो पार्टीको नेतृत्व पंक्तिमा आम रूपले विद्यमान व्यक्तिगत ईष्र्या, दम्भ, स्वार्थ र मपाइँवादी चरित्र प्रमुख रूपले जिम्मेवार छ । यो द्वन्द्वमा यी सबै नायक त पराजित छन् नै, देशलाई पनि अस्थिरताको भुमरीमा धकेलेका छन् ।

सर्वस्व गुमाएर पराजित यिनले अहिले आफ्नो राजनीतिक स्वत्व, पहिचान, जनआस्था र विश्वाससमेत गुमाइसकेका छन् । यसको भर्पाई सहज छैन । हिन्दी उखान ‘खिसियानी बिल्ली खम्बा नोचे’ चरितार्थ गर्दै एकले अर्कालाई चिथोरचाथोर गरेर आ–आफूलाई सर्वशक्तिमान, कम्युनिस्टको मुख्य धार, भविष्यको सत्ताधारीजस्ता हवाई आडम्बर बखाने पनि यिनको वास्तविकताचाहिँ नैतिक पराजय र राजनीतिक पतनको अवस्था नै हो ।

नेपालमा कम्युनिस्ट आन्दोलनको एउटा सौभाग्य के रह्यो भने असैद्धान्तिक टुटफुट, अन्तरकलह, पारस्परिक दुस्मनीका बाबजुद समष्टिमा आन्दोलनप्रति बलियो जनसमर्थन रह्यो । प्रत्येक आमनिर्वाचनमा विभिन्न खेमामा रहेका भए पनि, समष्टिमा संसद्मा कम्युनिस्टहरूको प्रभावशाली उपस्थिति रही आयो । तर दुर्भाग्य, यी पार्टीले कम्युनिस्टको सिद्धान्त, लक्ष्य र चारित्रिक विशिष्टताअनुसार तात्कालिक कार्यभार निरुपण गरी संयुक्त शक्तिको रूपमा काम गर्नुभन्दा संकीर्ण स्वार्थ एवं महत्वाकांक्षा पूरा गर्न राजनीति गर्न पुगे । परिणाम समुपस्थित छ ।

गत निर्वाचनबाट सशक्त जनसमर्थनसहित सत्तामा आसीन हुन पुगेको नेकपाबाट संविधानको सम्मान गर्दै कम्युनिस्टको लक्ष्य तथा देश र जनताको चाहनाप्रति इमानदार भएर देशलाई एउटा सुनिश्चित दिशा र लक्ष्यसहित राजनीतिक स्थिरता र संविधानले परिलक्षित समाजवादउन्मुख दिशामा अगाडि बढ्ने आमअपेक्षा थियो । तर, नेतृत्वको दोगला चरित्रका कारण उक्त पार्टी कम्युनिस्ट नीति, नैतिकता, आदर्श र लक्ष्यप्रति इमानदर रहन सकेन । नितान्त व्यक्तिगत स्वार्थ, अहंकार र मपाइँवादको टकरावका कारण सुअवसर समाप्त गरियो । स्थायित्व, प्रगति तथा अग्रगमनको जनचाहना र देशको भविष्यमाथि तुसारापात त भयो नै, स्वयं ती राजनीतिक नायकहरू आफैँ पनि मान, सम्मान, जनविश्वास तथा शक्ति र सत्ता गुमाएर ‘घोबीका कुत्ता घरका न घटका’ को अवस्थामा राजनीतिको गलियारीमा भाैँतारिरहेका छन् ।

अहिले राजनीति पुनः दिशाविहीन बहुपक्षीय अन्तरद्वन्द्व र अराजकताको स्थितिमा पुगेको छ । दीर्घकालीन ध्येय र चिन्तनबाट होइन, तात्कालिक संकीर्ण स्वार्थी सोचबाट निर्देशित भएर अराजनीतिक, असैद्धान्तिक, अनमेल र असहज रूपमा धु्रवीकृत भइरहेको छ ।
 

अस्तित्व बचाउन पारस्परिक गालीगलोज, अमर्यादित र अराजनीतिक गतिविधि, कार्यकर्ताहरूको खोसाखोसमा आफ्नो अस्तित्व खोज्ने अवस्थामा पुगेका छन् । ओली समूहले, संसद्मा आफ्नो सांख्यिकी र कच्चा धागोमा गाँसिएको सत्ताधारी गठबन्धनको कमजोरीको फाइदा उठाई व्यक्तिगत रिसइबी साध्न संसद्लाई बन्धक बनाउनेजस्ता जनविरोधी र देशमा राजनीतिक शून्यताको अवस्था निर्माण गर्ने अप्रजातान्त्रिक र गैरजिम्मवार राजनीति अगाडि बढाइरहेको छ । राजनीतिक अराजकता, दूषित अभ्यास, चरित्र र चिन्तनको दुष्परिणाम तिनले मात्र होइन, लामो समयसम्म देशले पनि भोग्नुपर्ने भएको छ ।

आ–आफ्ना कुकृत्य चोख्याउन एकले अर्कोलाई दोषारोपण गर्ने, विदेशी चलखेलतिर औँल्याउने प्रयास यो अथवा त्यो रूपमा सबैले गरिरहेकै छन् । आजको विश्व परिवेश एवं बदलिँदो विश्वव्यापी शक्ति समीकरण र नयाँ ध्रुवीकरणको अवस्थामा नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको हस्तक्षेप र भावी रणनीतिक दाउपेचबाट मुक्त छैन र रहन पनि सक्दैन, यो सत्य हो । तर, तथ्य के पनि हो भने त्यस्ता शक्तिले कुनै पनि देशको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा प्रभावकारी पाइला टेक्न त्यस देशमा मलिलो माटो र अनुकूल वातावरण हुनैपर्छ । स्वदेशी मतियार र एजेन्टविना त्यो सहज हुँदैन । यहाँका राजनीतिक नेतृत्वले सत्तामा पुग्न र सत्ता जोगाउन उनीहरूलाई मलिलो आधार दिँदै आएका छन्, दिँदै छन् । यो सधैँको विडम्बना हो ।

देशमा राजनीतिक रूपमा पुँजीवादी लोकतान्त्रिक प्रणाली स्थापित भइसकेको अवस्था छ । कुनै अवाञ्छित प्रतिगमनकारी दुर्घटना नभए अब पुँजीवादी, जनवादी, राजनीतिक क्रान्तिको अर्को चरण हुनेछैन । अतः यस अवस्थाबाट देशलाई अगाडि बढाउन दुइटा बाटा छन्– पहिलो, नवउपनिवेशवादी नवउदरवादको पुँजीवादी मोडलअन्तर्गत छाडा पुँजीवादी विकासको बाटो लाग्ने, जसले साम्राज्यवादी पुँजीवादी शोषण पद्धतिलाई बलियो पार्दै लैजानेछ । देशमा धनी र गरिबबीचको असमानताको खाडल बढ्दै जानेछ ।

दोस्रो, पुँजीवादी विकासलाई क्रमिक रूपमा नियन्त्रित गर्दै योजनाबद्ध आर्थिक–सामाजिक विकासबाट समाजवादउन्मुख दिशामा अगाडि बढ्ने, जसले कालान्तरमा देशलाई समाजवादमा संक्रमण गराउनेछ । यसकारण कम्युनिस्टहरूको एक मात्र कार्यभार बन्छ– राष्ट्रियता र देशको सार्वभौमिकताको रक्षा गर्दै वर्तमान संविधानको जगमा टेकेर, समाजवादका पूर्वाधार निर्माण गर्न क्रमिक सामाजिक आर्थिक, वैचारिक रूपान्तरण गर्दै समाजवादउन्मुखताको बाटो लिनु । गणतन्त्र र संघीयता स्थापित हुँदैमा वा संविधानमा उल्लेख हुँदैमा देशले स्वतः यो बाटो लिन सक्दैन, यसका लागि कम्युनिस्टहरूको सक्रिय तथा निष्ठापूर्ण हस्तक्षेप अनिवार्य सर्त हो । दुर्भाग्य, देशका कम्युनिस्टहरू आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्न एकताबद्ध हुनुको साटो यदुवंशी विनाशको बाटोमा छन् ।

विगतका जनआन्दोलनमा कम्युनिस्टहरूको कार्यभार मुख्यतः तत्कालीन सामन्ती एकाधिकारवादको अन्त्य र लोकतान्त्रिक जनाआधारका निम्ति राजनीतिक आन्दोलन संगठित पार्नु थियो । दोस्रो जनक्रान्तिपछि यो कार्यभार पूरा भएको छ । तात्कालिक लक्ष्य र कार्यभार फेरिएका छन् । यस चरणमा क्रान्तिकारी शक्तिहरूको पुनः समायोजन र नयाँ राजनीतिक ध्रुवीकरणको आवश्यकता छ, जसको आधारशक्ति संयुक्त कम्युनिस्ट आन्दोलन मात्र हुन सक्छ । कम्युनिस्टहरूको आजको प्रमुख मुद्दा आउँदो निर्वाचनमा कसरी सत्तामा पुग्ने भनेर तानाबाना बुन्ने होइन, भविष्यमा देशलाई राजनीतिक नेतृत्व दिन सक्ने कम्युनिस्ट आन्दोलन कसरी निर्माण गर्ने भन्ने हुनुपर्छ । 

प्रत्येक जनक्रान्तिपछि संक्रमणकालीन जटिलता आमचरित्र हो र त्यो यहाँ पनि छ । यस्ता संक्रमणकालीन जटिलता या त राजनीतिक क्रान्तिको सम्पन्नतापछि सुरु गरिने आर्थिक–सामाजिक रूपान्तरणका क्रममा आउने अन्तरद्वन्द्वबाट उत्पन्न हुने गर्छन् वा क्रान्तिपछि क्रियाशील हुने प्रतिक्रान्तिकारी र क्रान्तिकारी शक्तिबीचको संघर्षबाट । दोस्रो जनक्रान्ति वैचारिक भिन्नताका बाबजुद राजनीतिक एकताको बलमा सम्पन्न क्रान्ति थियो । अहिले राजनीतिक र आर्थिक रूपान्तरणको प्रक्रियाबाट उत्पन्न अन्तरद्वन्द्व नभई राजनीतिक अन्तरद्वन्द्वको अवस्था छ । यो अन्तरद्वन्द्वमा प्रतिक्रान्तिकारी शक्तिहरू हिजोभन्दा बढी संगठित र वाचाल भएर अगाडि आएका छन् । राजनीतिक द्वन्द्व पुनः प्रमुख अन्तरद्वन्द्वको रूपमा अगाडि आएको छ । यसको मुकाबिला वर्तमान संविधान र लोकतन्त्रका पक्षधर शक्तिबीचको एकताबाट मात्र सम्भव छ । पुनः अग्रगामी वाम–लोकतान्त्रिक शक्तिबीच सकारात्मक ध्रुवीकरणको आवश्यकता छ । 

विद्यमान संविधानअन्तर्गत राजनीतिक अभ्यास गरिरहेका कम्युनिस्टका लागि मतदानबाट सत्ता प्राप्त गरी एकल पार्टी अधिनायकवाद कायम गर्ने चिन्तन स्वैरकल्पना मात्र हो । सशस्त्र क्रान्ति, दीर्घकालीन जनयुद्ध विगतका विषय भए अब । विगतमा जे–जस्तो गरेर भए पनि सत्तामा पुग्नु र सत्तालाई निजी र पार्टीगत स्वार्थसिद्धिको साधन बनाउने रोगबाट ग्रसित कम्युनिस्टहरूको संस्कार र राजनीतिक चरित्रले गर्दा यो शक्ति क्रान्तिको निष्ठावान् संगठित शक्ति बन्न सकेको छैन । ओली र प्रचण्ड–नेपाल एकले अर्कोलाई समाप्त गर्ने खुला संघर्षमा ओर्लिएका छन् । ओलीका लागि संसद् प्रथम शत्रु भएको छ । कम्युनिस्टको बाहुल्य रहेको संसद् भ्रष्ट व्यापारी, कालाबाजारिया र माफियाहरूको वैधानिक थलो बनेको छ । यस अवस्थाले राज्यसत्ता पुनरुत्थानवादी प्रतिक्रियावादी शक्तिहरूको हातमा जान सक्ने खतरा बढ्दै गएको छ । कम्युनिस्टहरूको वर्तमान बिखराब र मारकाटको अवस्थामा वर्तमान संविधान जोगाउन त गाह्रो छ, परिवर्तनको समाजवादउन्मुख दिशा सुनिश्चित गर्नु त निकै परको कुरा भयो । 

ad
ad
ad
ad