Skip This
प्रधानमन्त्री–शेखर कोइराला भेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री–शेखर कोइराला भेट

७६(३) अनुसार सरकार बन्ने अवस्थाबारे छलफल, सहमतिकै पक्षमा रहेको शेखरको भनाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o६:o५:oo

कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले दिएको अभिव्यक्ति नयाँ बहस सिर्जना गरेकै वेला उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटले राजनीति वृत्तमा थप तरंगित बनाएको छ । प्रधानमन्त्रीले २८ असारमा संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका वेला आएको उनको अभिव्यक्तिले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका दुई दलका शीर्ष नेतालाई पनि सतर्क बनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भेटका लागि आग्रह गरेपछि कोइरालाले शनिबार बिहान बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । 

कोइरालाका स्वकीयसचिव दिनेशचन्द्र थपलियाले भेटमा परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल भएको छ । कोइरालाले प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत नपाए ७६(३) अनुसार सरकार बन्नेतर्फ सचेत हुनुपर्ने बताएको अर्को दिन यी नेताबीच भेटवार्ता भएको छ । 

‘चार–पाँच दिनदेखि प्रधानमन्त्रीज्यूले भेट्न खोजिरहनुभएको थियो । देशको प्रधानमन्त्रीले बोलाउदाँ पनि नजाने विषय त गैरराजनीतिक हुन्छ भनेर बिहान बालुवाटार जानुभएको हो । उहाँहरूबीच करिब आधा घन्टा ‘वान अन वान’ कुराकानी भयोे,’ उनले भने, ‘भेटमा समसामयिक राजनीतिक विषयमा उहाँहरूबीच कुराकानी भएको हो । डा. सापले धारा ७६(३) अनुसार सरकार गठन हुन सक्ने आशंकाको अभिव्यक्तिमा प्रधानमन्त्रीको चासो राख्नुभएको थियो ।’ 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताए । ‘उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको छ,’ उनले भने । 

कांग्रेस र एमालेले संविधानको धारा ७६(२)अनुसार आलोपालो सरकार बनाउने सहमति गरेका छन्् । सहमति दुवै पार्टीले अनुमोदनसमेत गरिसकेका छन् । तर, सहमतिको पूर्ण पाठ अहिलेसम्म गोप्य राखिएको छ । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा डा.कोइरालाले आफू कांग्रेस–एमालेबीचको सहमतिको पक्षमा दृढ रहेको बताएका थिए । उनले आफ्नो अभिव्यक्ति मुलुक खतरातर्फ नजाओस् भन्ने रहेको बताएका छन् । 

‘म धारा ७६(३)अनुसार सरकार बनोेस् भन्ने पक्षमा होइन । संविधान संशोधनको विषयमा कांग्रेस र एमाले एक ठाउँमा हुनुपर्छ भन्ने विषयमा वकालत गर्दै आएको थिएँ । विगतमा तपाईंकै गतिविधिले सहकार्यमा समस्या आयो । दुई दलबीच सहमति भइसकेको छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा दृढ छु । मेरो आशय दुई दलको सहमतिविपरीत धारा ७६(३)अनुसार सरकार बन्ने खतरा नहोस् भन्ने मात्र हो,’कोइरालाको भनाई थियो । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले धारा ७६(३) अनुसार सरकार गठन हुने कुनै सम्भावना नरहेको बताए । ‘कांग्रेस र एमालेबीच सरकार बन्ने सहमति बनेको छ । २८ असारमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । दुई ठूला दलबीच सहमति भएको अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । त्यसपछि संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्छ,’कांग्रेस संसदीय दलको बैठकपछि बानेश्वरमा प्रतिक्रिया दिँदै उनले भने ।

कोइरालाले विगतदेखि नै आफू कांग्रेस एमाले मिलेर जानुपर्ने पक्षमा रहेको अभिव्यक्ति दिँदै आएका थिए । कोइरालाले कोशी प्रदेशमा परीक्षणका रूपमा कांग्रेस–एमाले को गठबन्धन सरकार बनेको अभिव्यक्ति दिँदै आएका छन् । 

शुक्रबार कोइरालाले कांग्रेस–एमाले सहमति भए पनि खुसी भइहाल्ने अवस्था आइनसकेको भन्दै नयाँ सरकार गठन प्रक्रिया संविधानको धारा ७६(३)मा जान सक्ने आशंका व्यक्त गरेका थिए । ‘प्रचण्डजीले आजका दिनसम्म राजीनामा दिनुभएको छैन । प्रचण्डजीले राजीनामा दिनुभएन भने संविधानतः के हुन्छ ? हामीले सोच्नुपर्ने हुन्छ, किनभने हामी संविधानलाई टेकेर जानुपर्ने हुन्छ । प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिने वेला कहीँ संविधानको धारा ७६(३)मा नजाओस्,’ जिपी कोइराला लेबर फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भनेका छन् । 

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको उद्देश्यसहित कांग्रेस–एमाले गठबन्धन बने पनि सम्भावित परिस्थितितर्फ ध्यान दिनुपर्ने कोइरालाको भनाइ छ । ‘हुन त म संविधान धेरै पढ्ने व्यक्ति पनि होइन । तर, मेरो चासो उहाँ (प्रधानमन्त्री)ले विश्वासको मत लिनुभयो र फेल भयो भने ७६ को २ बाट ३ मा नजाओस् भन्ने मात्रै हो । त्यो गयो भने कोर्टमा जाला, के होला, झन्झट होला भन्ने मात्रै मैले देखेको हो,’ कोइरालाले भनेका थिए । 

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
कांग्रेसले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार शनिबार संसदीय दलको बैठकले ह्विप जारीसहित चार निर्णय गरेको हो ।

कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको अवस्थाबारे जानकारी गराउँदै विश्वासकोे मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘कांग्रेस र एमालेबीच संविधानको धारा ७६ (२)बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको अवस्थामा विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ,’ कांग्रेसको निर्णयमा छ । बैठकले कांग्रेस–एमालेबीचको सहमतिलाई समर्थन गर्दै सहमति कार्यान्वयनको दृढतासमेत व्यक्त गरेको छ ।