Skip This
सिँगै गाउँ लुट्ने समूहका तीन सदस्य अत्याधुनिक हतियारसहित पक्राउ, पाँच अझै फरार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार २o:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँगै गाउँ लुट्ने समूहका तीन सदस्य अत्याधुनिक हतियारसहित पक्राउ, पाँच अझै फरार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार २o:२५:oo

अत्याधुनिक हतियार देखाएर सिंगै गाउँ लुट्दै हिँड्ने लुटेरा समूहलाई मुगु प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

प्रहरीले जुम्लाको पातारासी गाउँपालिका-३ महरीगाउँको चनेलेखनजिकको पाटनबाट ६ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीनजना लुटपाटमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले पत्रकार सम्मेलनमा जानकारी दिए।

डिएसपी थापाका अनुसार घटनामा संलग्न अन्य पाँचजना अझै फरार छन्। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले खोजी तीव्र पारेको छ। पक्राउ परेकामा जुम्लाको गुठीचौर गाउँपालिकाका- ३ का आक्रोश पर्से भनिने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापा छन्।

गत १२ जेठमा मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी आठजनाको संख्यामा रहेको लुटेरा समूहले सिंगै गाउँमा लुटपाट गरेको थियो।

लुटेराहरूले गाउँका २४ वटा घर र एउटा गुम्बाबाट ३५ तोला सुन, ९९४. ५ तोला चाँदी, बुद्धको मुर्ति, रिणिमोक्क्ष माईको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर फरार भएका थिए।

घटनालगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीको कमान्डमा प्रहरी खटिई विभिन्न ७ वटा स्थानमा अनुसन्धान गरेको थियो। मुगु प्रहरीले  जुम्ला, हुम्ला, कालिकोट र डोल्पाका प्रहरीसँग समन्वय र सहकार्य गरी नाकाहरूमा प्रहरी परिचालन गरेको  थियो।

घटना भएको करिब डेढ महिनापछि प्रहरीले समूहका तीन सदस्यलाई पक्राउ गरेको हो। डिएसपी थापाका अनुसार लुटपाटमा संलग्न आठैजना जुम्ला जिल्लाका बासिन्दा रहेको खुलेको छ।

पक्राउ परेकाहरूबाट प्रहरीले लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियार एसएलआर एक थान, त्यसमा लाग्ने दुई थान म्यागजिन, कटुवा पेस्तोल एक थान, एसएलआरकै २५ राउन्ड गोली, तीन थान ओकेटोके सेट, एक थान बाइनाकुलर, पाँच जोडी आर्मीको कम्ब्याट रंगको रेनकोटलगायत सामग्री बरामद गरेको छ।

उक्त हतियार र सामानहरू २१ असारमा जुम्लाको पातारासी गाउँपालिका- ३ चुनेकाध भन्ने स्थानको ओढारमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।

पक्राउ परेकाहरूबाट प्रहरीले सुनको रिङ २ थान, सुनकै माडुली २ थान ( बिक्री गरेपश्चात् जुम्ला प्रहरीमार्फत बरामत) पनि बरामत गरेको छ।

प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरूमा पुगी यो समूहले यार्सा संकलक तथा व्यापारीहरूबाट समेत यार्सागुम्बा लुट्दै आएको थियो।

लुटेराहरूसँग अत्याधुनिक हतियार कसरी पुग्यो, यो समूहमा अन्य को-को संलग्न छन् भन्नेबारे अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ। 

गत वर्ष पनि वडा न १ वाङ्री गाउँमा पनि लुटेरा समूह र स्थानीयबीच झडप भएको थियो। त्यसवेला लुटेराहरूले स्थानीयबाट यार्सा लुटेर भागेका थिए भने प्रतिकार गर्ने करिब एक दर्जन स्थानीय घाइते भएका थिए।

मुगुका दुई दर्जन पाटनहरूमा पाइने यार्सागुम्बा लुटन बर्सेनि यो समूह कहिले कुनै पाटन त कहिले कुनै पाटन पुग्ने गरेको र मुगु,डोल्पाका पाटनहरूमा सधैँ यार्सा लुट्न पुग्ने समूह यही भएको संकेत मिलेको प्रहरी नायब उपरीक्षक थापाले पत्रकार सम्मेलनमा बताए।