मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २८ शुक्रबार
  • Sunday, 22 December, 2024
चन्द्रदेव जोशी
२o७७ कार्तिक २८ शुक्रबार o९:३४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बाटो बिराए लक्ष्यमा पुगिँदैन कमरेड !

Read Time : > 4 मिनेट
चन्द्रदेव जोशी
नयाँ पत्रिका
२o७७ कार्तिक २८ शुक्रबार o९:३४:oo

सत्तासीन पार्टी र सरकार कम्युनिस्ट सिद्धान्त, नैतिकता, व्यवहारसहित सामाजिक रूपान्तरणको दिशामा मार्गच्युत भएका छन्

देशका सम्पूर्ण सञ्चारमाध्यम पुनः सत्तासीन कम्युनिस्ट पार्टीको अन्तरकलह र दिन–प्रतिदिनका रंगीबिरंगी नौटंकी, पारस्परिक धम्की र एकले अर्कोलाई पछार्ने रणनीतिका तानाबाना आदिका विवरणले भरिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तीनवर्षे इतिहास त्यति सुखद छैन । निरन्तर चल्दै आएका यस्ता आन्तरिक दाउपेच, गुटबन्दी, निहित स्वार्थ र शक्तिको बाँडफाँडका लागि गरिँदै आएका लेनदेन त्यसको मूलमा छ । यसलाई नियालिरहेका कुनै पनि सामान्य व्यक्ति वा राजनीतिक कार्यकर्ताले वर्तमान भिडन्तको मकसद र सीमारेखा पार्टीलाई फुटबाट जोगाउने उद्देश्यबाट नभई ओली पक्षद्वारा प्रचण्डलाई किनारा लगाउने र माधव नेपाललाई थला पार्ने प्रयासको परिणाम हो भनी बुझ्न सक्छन् । 

अहिले के देखिन्छ भने ओली तथा उनको गुटका लागि झलनाथ खनाल कुनै आस वा त्रासका व्यक्ति रहेनन् । ओलीकै शब्दमा वामदेव गौतमजस्ता, ‘उद्दण्ड मान्छे’लाई आफ्नो चाहनाअनुसार भविष्यमा पनि नचाउन सकिने कुरामा उनी विश्वस्त छन् । सचिवालयका सदस्यहरूको नाडी छामिसकेका ओलीलाई उनीहरूको सीमा, सामथ्र्य र कमजोरी कण्ठै छ । ‘रअ’ प्रमुखको रहस्यमय आगमन, ओलीसँगको मध्यरात्रिको मित्रमिलनपछि प्रधानमन्त्रीद्वारा अलग भएर हिँड्न प्रचण्डलाई दिएको चुनौती, राष्ट्रपतिको सक्रियता आदिले भोलि आफ्नो असर देखाउने नै छ । पार्टी एकता, विधि, पद्धतिको दुहाई दिइरहेका दोस्रो तहका प्रभावशाली मानिएका जमातलाई कुन वेला कुन चारो हाल्नुपर्छ भन्ने ओलीलाई राम्रैसित ज्ञात छ । अतः यस नाटकबाट आमजनता र देशका लागि कुनै सकारात्मक परिणामको आशा गर्नु वा फुटको त्रास मान्नुपर्ने अवस्था छैन ।

वेला–वेलामा चल्दै आएका यस्ता द्वन्द्वका पछाडि न त बाटो बिराई हिँडिरहेको सरकार र अराजक पार्टी संरचनामा व्यापक परिवर्तन गरी आर्थिक, सामाजिक राजनीतिक रूपान्तरणको समाजवादोन्मुख बाटो लिन कुनै योजना, कार्यक्रम र नारा रहेका थिए, न ती मुद्दा विभेद र अन्तरद्वन्द्वको मूल मुद्दा नै बनेका थिए । अहिले पनि विधान, परिपाटी, सिद्धान्त, पद्धति स्थापित गर्न भइरहेको संघर्ष हो भन्नेहरूको ऐजेन्डामा यस्ता कुनै सैद्धान्तिक वा नीतिगत मुद्दा देखिँदैनन् । त्यसकारण वर्तमान परिदृश्य पनि सत्ताभोगको अंशबन्डाका लागि होइन भन्ने कुनै आधार छैन । यद्यपि अहिलेको टकराव उपरी रूपमा वार कि पारको लडाइँ जस्तो देखिए पनि यो दूधको उमाल मात्रै हो । आपसी लेनदेन मिलेमा तथा कसैले फुक् मारेमा वा पानी छिटा छर्किनेबित्तिकै स्वतः यो उफान ओर्लिनेछ । त्यसकारण यस द्वन्द्वको जेसुकै परिणाम निस्किए पनि त्यसबाट सत्ताको चरित्रमा कुनै सारभूत जनमुखी परिवर्तन होला भनी आशा गर्ने आधार छैन । 

भ्रष्टाचारी, बिचौलिया, माफिया, कालाबाजारिया तथा विदेशी शक्तिकेन्द्रका ऐजेन्सीको मोर्चाको रूपमा रहेको वर्तमान सरकार र त्यसको नेतृत्वबाट यस्तो आशा गर्ने आधार छैन । बल्कि यस मोर्चाले देशलाई कुन दिशामा, कसको प्रभाव क्षेत्रभित्र र कसको सेवामा पुर्‍याउने हो, आमनेपालीका लागि यो नै सर्वोपरि चासो र चिन्ताको विषय हो । सोभियत संघको पतनपछिको विश्व परिस्थितिमा कम्युनिस्ट आन्दोलन, मजदुर आन्दोलन, समाजवादमाथि मात्र होइन, साम्राज्यवादविरोधी प्रत्येक प्रगतिशील आन्दोलनमाथि नै साम्राज्यवादीबाट चौतर्फी प्रहार भइरहेको छ । आमजनमानसमा यसप्रति घृणा फैलाउने प्रयास भइरहेको वर्तमान अवस्थामा प्रतिक्रियावादी शक्तिहरू, अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा माफिया सञ्जाल तथा भ्रष्टाचारीको दलदलमा आकण्ठ डुबिसकेको वर्तमान शासक वर्गले देशलाई जोगाई अग्रगमनतिर लैजाला भनी आशा गर्ने ठाउँ देखिँदैन ।

संविधान प्रदत्त मौलिक हक अपहेलित छन् । महामारी पीडितलाई निःशुल्क उपचार प्रदान गर्न सर्वोच्चले दिएको परमादेश उल्ट्याउन निर्लज्ज भएर सरकार अदालत पुग्यो । घर–घर र बाटो–बाटोमै मृत्यु भइरहेका हृदयविदारक करुण कथाबाट सञ्चारमाध्यम भरिएका छन् ।

साम्राज्यवादीमा देखिएको विश्व विभाजनको नयाँ प्रवृत्ति र प्रत्यक्ष शासनको साम्राज्यवादी औपनिवेशिक कालको अन्तपछि सुरु भएको नवऔपनिवेशक साम्राज्यवादी चरण, जसको मूल चरित्र नै पिछडिएका कमजोर, अल्पविकसित तथा विकाशोन्मुख देशमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, वैचारिक आदि फाँटबाट प्रवेश गरी आफ्नो आधिपत्य कायम गर्ने र ती देशलाई आर्थिक रूपमा परनिर्भर बनाई आफ्नो मातहत गर्नु रहेको छ । त्यस अवस्थामा राष्ट्रियता र सार्वभौमिकता संरक्षणका लागि साम्राज्यवादसँगका हाम्रा अन्तरविरोध र अन्तरसंघर्षलाई वर्तमान विशिष्ट चरित्र नबुझी न त कम्युनिस्टले यो संघर्षलाई दिशा दिन सक्छन्, न देशको सार्वभौमिकता र स्वाधीनताको संरक्षण गर्न सकिन्छ । यसका लागि सत्तामा पुगेको कम्युनिस्ट पार्टीले दूरदर्शिता, नीतिगत स्पष्टता, लक्ष्य र अवस्था सापेक्ष रणनीति, कार्यनीति, प्रशासनिक शुद्धीकरण, जनताका आधारभूत आवश्यताको प्राथमीकरण र तिनको परिपूर्तिको कार्यक्रम अनुसरण गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले यसमा बाटो बिराएको छ ।

अर्कोतर्फ, महामारीमाबाट आक्रान्त निरीह जनता औषधोपचारविना मृत्युवरण गर्न विवश छन् । भोकमरी र बेरोजगारीको मार खेप्न नसकी पुनः मृत्युको मुखमा विदेश पलायन हुँदै छन् । देश राज्यविहीन अवस्थामा छ । संविधान प्रदत्त मौलिक हक अपहेलित छ । महामारीपीडितलाई निःशुल्क उपचार प्रदान गर्न सर्वोच्चले दिएको परमादेश उल्ट्याउन निर्लज्ज भएर सरकार अदालत पुगेको छ । घर–घर र बाटो–बाटोमै मृत्यु भइरहेका हृदयविदारक करुण कथाबाट सञ्चार माध्यम भरिएका छन् । अस्पतालमा बेडहरू खाली छन्, तर बिरामीले ठाउँ पाएका छैनन् । भोकभोकै मरिरहेकालाई दाताले एक छाक दिँदै आएको गाँस बन्द गर भनी उर्दी फिराइएको छ र अरूले दिएको एक छाक पनि खोसिएको छ । महामारी रोकथामको औषधीमुलोमा सिन्डिकेट खडा गरी खुला लुट भइरहेको छ । औषधी उपकरणदेखि कात्रोसम्ममा खुलेआम घुसखोरी र कमिसनतन्त्र चलेको छ । यसभन्दा बढी लज्जास्पद कुरा अरू के हुन सक्छ ? संक्षेपमा भन्ने हो भने वर्तमान सत्तासीन पार्टी र सरकार कम्युनिस्ट सिद्धान्त, नैतिकता, व्यवहार र लक्ष्य, आर्थिक–सामाजिक रूपान्तरणको दिशा आदि यावत् पक्षमा मार्गच्युत भएको छ । 

यस अराजक अवस्थाबारे लेख्नेले लेख्दै छन्, भन्नेले भन्दै छन् । बाहिरबाट मात्र होइन पार्टीपंक्तिभित्रबाटै पनि यसको तिखो आलोचना भइरहेको छ । तर, सर्वांग नांगो भएको सरकारमा कुनै असर परेको छैन । गरिखाने आमश्रमजीवी जनताको स्थास्थ्य, शिक्षा, गाँसवासको ग्यारेन्टी र समाजवादको निर्माण गर्ने वाचा गर्दै भोट मागेको पार्टी आफ्नो सरकारको यो बेथितिमाथि अंकुश लगाई त्यसलाई सही बाटोमा ल्याउन पहल गर्नुको साटो भागबन्डको लडाइँमा व्यस्त छ । वर्तमान सत्ताधारी पार्टी र त्यसको सरकारलाई भ्रष्टको गैंगतन्त्र भनी सम्बोधन गर्नेबाहेक अर्को विशेषण बाँकी रहेन । भ्रष्टाचारमा डुबेको र राजनीतिक संस्कार, चरित्र र नैतिकता गुमाइसकेको सिद्धान्तच्युत पार्टीले देशलाई सुखद लक्ष्यसम्म कदापि पुर्‍याउँन सक्दैन । एउटा कम्युनिस्टका लागि योभन्दा ठूलो विडम्बना के नै हुन सक्छ ?

देशको दुर्भाग्य नै हो विगत सात दशकदेखि यस्तो दुर्भाग्यपूर्ण अवस्था निरन्तर चलिरहेको छ । यसको मूल कारण देशको भौगालिक अवस्था, आर्थिक पछौटेपन, अशिक्षा आदि मात्र होइन, राजनीतिक नेतृत्व हो । विश्वका अनेक देश आ–आफ्नो अवस्थामा यस्तै पछौटेपन पार गर्दै विकसित भएका हुन् । किनकि तिनको राजनीतिक नेतृत्वमा देशको सर्वतोमुखी विकासका लागि स्थिर र दूरगामी दृष्टिकोण, दृढ अठोट, राजनीतिक प्रतिबद्धता, देशप्रेम र देश र जनताप्रतिको उत्तरदायित्व बोध थियो । हामीसँग पनि अनेकाैँ कठिनाइ र अभावका बाबजुद यस्तो पछौटेपनको अवस्थालाई पार गर्दै तीव्र आर्थिक–सामाजिक विकास गर्न आवश्यक वातावरण नभएको होइन । तर, दुर्भाग्य देशले जनताप्रति समर्पित दृढनिश्चयी राजनीतिक नेतृत्व कहिल्यै पाएन । यसको अन्त्य गर्न विगत निर्वाचनमा जनताले कम्युनिस्टलाई खुलेर मतदान गरे । स्थानीयदेखि संघीय सरकार एकलौटी रूपमा कम्युनिस्टको हातमा दिए । तर, तीन वर्षको दौरान अवस्थामा सुधार हुनुभन्दा देश झन् अराजक स्थितिमा पुग्यो । यही अवस्था रह्यो भने देश पुनः अर्को द्वन्द्वमा फस्नेछ र यो द्वन्द्व विगतभन्दा बढी जटिल, कष्टकर र अराजक हुनेछ । त्यसैले ठोस योजना र दिशाविहीनताले लक्ष्यमा पुगिँदैन । 

मतदाताले कुनै पनि पार्टीलाई निर्वाचनका दौरान उसले अगाडि सारेको कार्यक्रम, लक्ष्य र नीतिको पक्ष हेरी मतदान गर्छ । स्वाभाविक हो, उसको सरकार बनेमा ती कार्यक्रम जीवन व्यवहारमा लागू हुनेछन् भन्ने आशा लिएको हुन्छ । ती कार्यक्रम र नीतिलाई जीवनमा लागू गर्दै लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नु नै सरकारको नैतिक दायित्व हो । तर, आज यस पार्टीभित्र यी कुनै सम्बन्ध जीवित छैनन् । बल्कि पार्टी र सरकारबीचका सम्बन्धबारे हास्यास्पद विवाद उठाई जनतालाई मूर्ख बनाउने काम गरिँदै छ । पार्टीमा चलिरहेको शक्तिसंघर्षको वर्तमान अवस्थामा पार्टी र सरकारमा आमूल परिवर्तन गरी कम्युनिस्ट मूल्य–मान्यता, नैतिकता तथा लक्ष्यअनुरूप यसलाई पुनः स्थापित गर्नु त्यति सहज छैन । यस अवस्थामा सुधारका लागि पार्टीको पुनर्जन्म हुनुपर्छ । त्यसका लागि स्वार्थमा आधारित गुटबन्दी वा विभाजन होइन, सिद्धान्तनिष्ट तथा लक्ष्यप्रति समर्थित चरित्रवान् कम्युनिस्टबीच ध्रुवीकरणको आवश्यकता छ । तर, यसका लागि सैद्धान्तिक समदृष्टि, पारस्परिक विश्वास र संस्कारको आवश्यता पर्छ । यो गुरुत्तर कार्यभार उठाउने व्यक्तित्व त्यसभित्र जन्मिनुपर्छ, जुन अहिले देखिँदैन । आशा गरौँ, समयले त्यो अवस्था जन्माउनेछ ।