१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
चन्द्रदेव जोशी
२o८१ बैशाख २१ शुक्रबार o९:२७:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘प्रचण्ड’का अगाडि प्रचण्ड उकालो

अग्रलेख

Read Time : > 5 मिनेट
चन्द्रदेव जोशी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२७:oo

विश्व कम्युनिस्ट आन्दोलनलाई ‘प्रचण्डपथ’ दिन तम्सिएका प्रचण्ड अहिले उराठलाग्दो मुकाममा चौतर्फी संकट झेल्दै छन्

लामो रस्साकस्सी तथा लेनदेनपछि सत्ताधारी कम्युनिस्ट पार्टीले आन्तरिक कलहलाई, त्यसका केही नेताकै शब्दमा, ‘अस्थायी युद्धविराम’ दिएको छ । के देखिन्छ भने यसबाट ‘राजनीतिक बाघचाल’को नयाँ बाजी सुरु भएको छ । बाघका गोटी शक्ति, साधन र सुसंगठित जमातसहितका ओलीको हातमा गएका छन् भने बाख्रा अर्थात् पार्टीको परिचालन प्रचण्डले गर्ने सहमति कायम गरिएको छ । यसबाट विवादको समाधान होइन, ‘तत्काल पार्टी विभाजन’को खतरा टरेको भनिएको छ । अन्तिम खेल आउँदो महाधिवेशनको आखडामा खेल्ने भनिएको छ । यस घटनाबाट एउटा नीतिश्लोकको सम्झना आउँछ– ‘सर्वनासे समुत्पन्न अध्र्य त्यज्यति स पण्डित’ अर्थात् सर्वनाशको अवस्था उत्पन्न भएमा आधा जोगाउनु पनि बुद्धिमत्ता हुन्छ । यस अस्थायी युद्धविरामको अस्तित्व र दीर्घजीवन तथा यसले पार्टी जीवनमा कुनै सकारात्मक परिणाम वा जनवादी रूपान्तरण ल्याउने विषयमा स्वयं यसका कर्ताधर्ता नै विश्वस्त र आशावादी देखिँदैनन् भने अरू सर्वसाधारणको त कुरै भएन । नयाँ खेल सुरु गरिएको छ । खेल जुनसुकै भए पनि त्यसमा स्थापित नियमको पालना गरिनु आवश्यक हुन्छ । तर, यस पार्टीभित्रका खेलाडीमा खेलका नियमको पालना गर्ने प्रवृत्ति न विगतमा थियो, न भविष्यमा देखिने आशा गर्न सकिन्छ । 

सामान्य रूपमा कुनै पनि पार्टीको अन्तरसंघर्ष उसको आन्तरिक जीवनको विषय हुने गर्छ । त्यो त्यसका कार्यकर्ताबाहेक सामान्य जनताका लागि आमचासोको विषय हुँदैन । तर, सत्तासीन पार्टीको अन्तरकलहले सत्ताको आयु र कार्यमै असर पार्ने हुँदा त्यो जनताको दैनिकीसँग जोडिन पुग्छ तथा आमजनताको चासो र चिन्ताको विषय बन्न पुग्छ । सत्ताधारी पार्टीभित्रको यो कलह पनि आमजनताका लागि यस्तै चिन्ताको विषय बनेको छ । यस लेनदेनपछि पनि त्यो अवस्था यथावत् नै छ किनकि शठ पुरुषको मित्रता, भ्रतृहरिका शब्दमा– रुखको छायाजस्तै हुन्छ, जो दिनको प्रारम्भमा गहिरो र लामो हुन्छ, मध्याह्नमा सानो र खुम्चिएको तथा अपराह्नमा पुनः तन्किँदै साँझमा विलुप्त हुन्छ । विगतको एमाले र माओवादी केन्द्रबीचको मित्रताको चरित्र पनि यस्तै देखिएको छ ।

वर्तमान सम्झौता र पुनर्मैत्रीको परिणाम के होला ? त्यो भोलिले देखाउने कुरा हो । तर, अहिले नै स्पष्ट रूपमा देखिएको विषय के हो भने यस लेनदेनले प्रचण्डको भावी राजनीतिक जीवनलाई प्रचण्ड उकालोको फेदमा उभ्याएको छ । जसका अगाडिका अन्धमोड, धुम्ती तथा बिसौनी अज्ञात छन् । सहमतिअनुसार प्रचण्डले ओलीको सरसल्लाहमा पार्टीको नेतृत्व गर्ने भनिएको छ । प्रश्न उठ्छ– लगाम ओलीकै हातमा रहने हो भने प्रचण्डको हिजो र भोलिको अवस्थामा तात्विक भिन्नता के ? मित्रताका लागि विचार मात्र होइन, नियत र संस्कारमा पनि समता चाहिन्छ, जसको यहाँ सर्वथा अभाव छ । ओली कुनै पनि वेला राजनीतिलाई अचानक चाहेअनुसारको नयाँ मोड दिन सक्ने माहिर खेलाडी हुन् । प्रचण्डको विगत राजनीतिक यात्रा क्रान्तिकारी रोमान्टिसिज्म, अस्थिर चिन्तन र महत्वाकांक्षाको समिश्रण हो, जसको न कुनै दूरगामी स्पष्ट मार्गचित्र हुन्छ, न लक्ष्य र ध्येय नै । ओलीजस्ता माझिएका खेलाडीसँगको यस खेलमा अगाडि आउने कुटिल चालमा प्रचण्डको चिन्तन र व्यवहार के होला, भन्न सकिने अवस्था छैन । 

पार्टीको नेतृत्व पाउनु कम्युनिस्टका लागि महान् गौरवको विषय हो । तर, पार्टीको वर्तमान अवस्थामा सर्तसहित पार्टी कमान पाएका प्रचण्डका लागि पार्टीलाई नयाँ सिराबाट माक्र्सवादी कम्युनिस्ट पार्टीमा रूपान्तरित गरी पार्टीप्रति पुनः जनविश्वास प्राप्त गर्नु ‘हर्कुलिन टास्क’ हुनेछ । हो, आज ओली नेतृत्वप्रति पार्टीभित्र तथा आमजनतामा असन्तोष बढ्दै गइरहेको छ । तर, पार्टीभित्रको वर्तमान खेमाबन्दी र आन्तरिक शक्ति–सन्तुलनको अवस्थामा प्रचण्डले पार्टीमाथि पकड कायम गर्न यो मात्र यथेष्ट हुनेछैन । त्यसका लागि चाहिने सिद्धान्तनिष्ट र स्पष्ट राजनीतिक दृष्टिकोण तथा लक्ष्यप्रति समर्पित र पारस्परिक विश्वासको जगमा संगठित कुनै टिम वा जनविश्वास जितेका कार्यकर्ता प्रचण्डसँग छैनन् । अहिले त्यस खेमामा देखिएका प्रमुख नेताबीच समेत न त पारस्परिक विश्वास तथा सम्मान देखिन्छ, न नीतिगत एकत्व नै । त्यसमध्येको कुनै पनि अनुहार पार्टीभित्र र आमजनमानसमा सर्वस्वीकार्य नेतृत्वको रूपमा स्थापित हुन सक्ने अवस्था पनि देखिँदैन । वर्तमान नेतृत्वको विकल्प हुन सक्ने आस जगाएका केही अनुहार पछिल्लो समय सत्ताको स्वाद र कुर्सीको मोहमा आफ्नो चेत र विचारलाई सत्तासँग साटी रमाइरहेका छन् । अतः समष्टिमा हेर्दा यस लेनदेनबाट उपलब्धिभन्दा नेपालको कम्युनिस्ट आन्दोलनप्रति नै जनविश्वास गुम्ने खतरा छ ।

लेनदेनले प्रचण्डको राजनीतिक जीवनलाई प्रचण्ड उकालोको फेदमा उभ्याएको छ, जसका अगाडिका अन्धमोड, धुम्ती तथा बिसौनी अज्ञात छन् । प्रश्न उठ्छ– लगाम ओलीकै हातमा रहने हो भने प्रचण्डको हिजो र भोलिको अवस्थामा तात्विक भिन्नता के ?
 

प्रचण्डको विगत अस्थिर राजनीतिक चिन्तन, निम्नपुँजीवादी अतिवाद र आत्मकेन्द्री अहंताको रोगबाट ग्रसित छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आफूलाई ‘सच्चा माओवादी’ प्रमाणित गर्न ‘जनयुद्ध’को माध्यमबाट जनवादी क्रान्ति सम्पन्न गर्ने कोठे नाराको चर्को होडबाजी चलिरहेको कालखण्डमा अरूलाई पछार्दै ‘जनयुद्ध’को मैदान फत्ते गरी सत्ता प्राप्त गर्न जंगल पस्ने निर्णय लिनु तत्कालीन अवस्थामा ठूलै दुस्साहस थियो । तर, यसबाट प्रचण्ड आफ्नै सैन्यबलसहित नेपालको राजनीतिमा दन्त्यकथाका पात्रजस्तै उदाए र उही निम्नपुँजीवादी आतुरता र अदूरदर्शिताले चाँडै पानीको फोकाजस्तै बिलाए पनि । परिणामस्वरूप १० वर्ष ‘जनयुद्ध’ लडेको पार्टी दुःस्वप्नजस्तै विलीन भएको छ । जनयुद्धका हस्तीमध्ये पार्टीको प्रमुख वैचारिक स्तम्भ मानिएका डा. बाबुराम सैद्धान्तिक आधार, राजनीतिक सोच र दिशाविहीन भएर कसैको राजनीतिक ओत लिन पुगेका छन् र ‘माक्र्सवादको विकल्प’ खोज्दै छन् भने गुरुको स्थान पाएका वैद्य बदलिएको विश्व परिस्थिति र समयका मागबाट बेखबर साउनको अन्धो गाईजस्तै माओ पाराको नयाँ जनवादी क्रान्तिको स्वैरकल्पना गर्दै छन् । अर्कोतर्फ जनयुद्धका एउटा कमान्डर ‘विप्लव’ पुनः जनयुद्धकै माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सपनामा छन् । विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ ‘प्रचण्डपथ’ दिन तम्सिएका प्रचण्ड स्वयं अहिले आफ्ना राजनीतिक जीवनको उराठलाग्दो मुकाममा चौतर्फी संकट झेल्दै अस्तित्वको लडाइँ लडिरहेका छन् । प्रश्न उठ्छ, यस्तो किन ? यसको उत्तर हो– यो ठोस सैद्धान्तिक आधार र स्थिर राजनीतिक चरित्र नभएका मध्यम वर्गीय अतिवादीले भोग्नुपर्ने सामान्य नियति नै हो । यसभन्दा अर्को परिणामको आशा गर्नु अर्को विडम्बना हुन्छ ।

क्रान्तिकारिता र क्रान्तिकारी दुस्साहस भिन्न अवस्था हुन् । क्रान्तिका वस्तुगत अवस्था विद्यमान छन् र क्रान्तिकारीले तिनको व्यवस्थित र सही उपयोग गरी क्रान्तिका लागि उपयोग गर्न सक्यो भने दुस्साहस क्रान्तिकारितामा परिणत हुन्छ, अन्यथा यस्तो दुस्साहस असफल त्रासदीमा परिणत हुन्छ । फिडेल क्यास्ट्रो र चे ग्वेभाराको दुस्साहस क्रान्तिकारितामा परिणत भयो भने हजारौँ संगठित सैन्य बल भएका बर्मा, फिलिपिन्स, ल्याटिन अमेरिका आदि देशमा यस्ता विद्रोह असामयिक निम्नपुँजीवादी दुस्साहसमा परिणत भए । तर, प्रचण्डले त्यसबाट पाठ सिकेनन् । परिणामस्वरूप अहिले प्रचण्ड नेपालको राजनीतिमा वामपन्थी बचकना रोगबाट ग्रसित एउटा दयनीय प्रतिनिधि पात्र हुन पुगेका छन् । अहिले पनि उनले न पूर्ण रूपले परिस्थितिलाई आत्मसात् गरेको देखिन्छ, न यसबाट सुरक्षित निकासको बाटो नै पहिल्याउन सकिरहेका छन् । प्रचण्डप्रतिको यो टिप्पणी उनीप्रतिको व्यंग्य होइन, बल्कि आफैँले हिँडेको बाटो फर्केर हेर्न र विगतका प्रत्येक मोडमा गरिएका अवस्तुवादी अतिवादी निर्णय र त्यसका दुस्परिणामको अवलोकन गरी नयाँ चुनौतीको सामना गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले गरिएको हो । निम्नपुँजीवादी अतिक्रान्तिकारिता कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट नेतृत्वका लागि कालकूट विष हो, यसबाट बच्न नसके दुःखद अन्त्य व्यहोर्नु शाश्वत नियति हो । 

मार्क्सवाद, सामाजिक परिवर्तनको महान् ऐतिहासिक कार्यभार सम्पन्न गर्न क्रान्तिकारीले अपनाउनुपर्ने नीति, कार्यक्रम तथा सांगठनिक गतिविधिको मार्गनिर्देशक दर्शन मात्र हो । यसले न त आफँै राजनीति गर्छ, न क्रान्ति नै । विगतका अनुभव र आजको यथार्थमा उभिएर राजनीति हामीले गर्ने हो । यो काम क्रान्तिकारी छलाङको बचकना चाहनाबाट निर्देशित भएर होइन, बल्कि सैद्धान्तिक जगमा उभिएको सुसंगठित र अनुशासित पार्टी, वैचारिक रूपमा शिक्षित तथा ध्येयप्रति समर्पित कार्यकर्ता र नेतृत्व पंक्तिको बलमा, लक्ष्यको सुस्पष्ट पहिचान र कार्यनीति र रणनीति लिएर मात्र गर्न सकिन्छ । स्वाभाविक छ– प्रत्येक नयाँ ऐतिहासिक चरणले सामाजिक क्रान्तिका लागि नयाँ रणनीति र कार्यनीतिको माग गर्छ । एउटा माक्र्सवादीले प्रत्येक नयाँ अवस्थामा आफ्नो लक्ष्य सापेक्ष तदनुरूप नै आफ्नो रणनीति र कार्यनीतिमा परिवर्तन गर्नुपर्ने हुन्छ । अन्यथा अन्य सबै पार्टीले जस्तै राजनीति तय गर्न सकिन्छ र सत्ताको स्वाद तथा उपभोग पनि गर्न सकिन्छ, तर माक्र्सले भनेजस्तो ‘समाज परिवर्तनको’ लक्ष्य पछ्याउन सकिँदैन ।

अहिले संसदीय परिपाटी स्वीकार गरी यो पार्टी सत्तामा पुगेको छ र संविधानबाट बाँधिएको छ । यस अवस्थामा संसदीय बाटो भएर समाजवादमा संक्रमण गराउन सम्भव त छ । तर, सजिलो छैन । यो बाटो भएर अगाडि बढ्ने कम्युनिस्ट संसदीय भासमा जाकिने त्यति नै बढी खतरा पनि हुन्छ । पतनको बाटो सधँै आकर्षक र चिप्लो हुन्छ । उपभोक्तवादले गाँजेको वर्तमान विश्वमा राजनीतिक सत्ता र शक्तिको माध्यमबाट प्राप्त हुने समृद्धि र ऐश्वर्यको गुरुत्वाकर्षणले कम्युनिस्टलाई पनि पतनको बाटोमा तानिरहेको हुन्छ । आजको सत्ताधारी पार्टी यस्तै रोगबाट ग्रसित छ र यो रोग सामान्य उपचारबाट निको पार्न सकिँदैन । यसका लागि पहिलो आवश्यकता हो, बलियो सैद्धान्तिक जग तथा कम्युनिस्ट नैतिकता र राजनीतिक दृढतासहितको सशक्त पार्टीपंक्तिको निर्माण । तर, सैद्धान्तिक विचलन, नैतिक स्खलन, रातोरात नवधनाढ्य बन्ने लालच, गैरकम्युनिस्ट चिन्तन र व्यवहारबाट ग्रसित यस पार्टीमा यी कुरा पुनस्र्थापित गर्न सजिलो छैन । त्यसका लागि पार्टीको आमूल शुद्धीकरणदेखि पुनर्गठन, साहसिक निर्णय क्षमता, नेतृत्वको चिन्तन र व्यवहारमा एकत्वको आवश्यकता पर्छ । तब मात्र सफलतापूर्वक पार्टीको नेतृत्व गर्न सकिन्छ र संविधानले निर्देशित गरेको समाजवादउन्मुख बाटोे समात्न सकिन्छ । पार्टी नेतृत्वको जिम्मा लिएका प्रचण्डका अगाडि आज यही तगारो उभिएको छ । समस्याको समाधान उसको अन्तर्यमा पुगी साहसिक निर्णय गरेर मात्र गर्न सकिन्छ ।

समय र अवस्थाले कुनै वेला कार्यनीति असफल हुन सक्छ, रणनीति पराजित हुन सक्छ, तर कम्युनिस्ट नेतृत्व लक्ष्य र ध्येयमा पराजित हुनुहुँदैन, अन्यथा नेतृत्वको क्रान्तिकारिता नै समाप्त हुन्छ । वर्तमान समस्याको सही पहिचान र त्यसको सम्यक् समाधानको बाटो पहिल्याउन सके प्रचण्डको राजनीतिक जीवनमा नयाँ क्षितिज उद्घाटिन हुन सक्छ भने असफलताबाट राजनीतिक जीवन विसर्जित हुनेछ ।

ad
ad