सत्ताका लागि गरिने अपवित्र गठबन्धन र भ्रष्ट कम्युनिस्ट सत्ताले श्रमजीवी जनताको राज्यसत्ता स्थापित गर्न सक्दैन
कम्युनिस्ट आदर्श, लक्ष्य तथा माक्र्सवादलाई आफ्नो जीवन दर्शनका रूपमा आत्मसात् गरेकाहरूले जनतामा आन्दोलनप्रति बचेको आस्थामा टेकेर वैचारिक तथा राजनीतिक आधारमा पुनर्गठित गरी आन्दोलनलाई नवजीवन दिने निष्ठावान् प्रयास गर्नु आवश्यक छ ।
चन्द्रदेव जोशी
कम्युनिस्ट आन्दोलनको विगत तीस वर्षको इतिहास हेर्ने हो भने एमालेले पटक–पटक एकल तथा संयुक्त सरकारको नेतृत्व गरेको छ वा निर्णायक शक्तिका रूपमा संयुक्त सरकारमा रहेको छ । तर, ०५१ को मध्यावधि निर्वाचनपछि संकीर्ण सत्तास्वार्थका लागि स्थानीय निर्वाचनका क्रममा नेकालाई परास्त गरी सत्तामा पुग्न सत्ताच्युत गरिएको दरबारिया शक्तिसँग साँठगाँठ गरी दक्षिणपन्थी संसदीय भासमा जाकिँदै गएको यस पार्टीको इतिहास हो । प्रतिपक्षमा रहँदा पनि यो पार्टी सधैँ सत्तालाई कम्युनिस्टको नीति र लक्ष्यअनुसार जनपक्षीय आर्थिक सामाजिक र राजनीतिक रूपान्तरणका कार्यक्रम लागू गर्न बाध्य गराउन सक्ने सशक्त प्रतिपक्षका रूपमा रह्यो ।
तर, यसले न सत्तामा रहँदा त्यस दिशामा काम गर्यो, न प्रतिपक्षमा रहँदा संसद्मा त्यसका लागि संघर्ष नै गर्यो । यसविपरीत निहित स्वार्थपूर्ति तथा सत्तामा पुग्न सडक संघर्ष, तोडफोड, अपवित्र गठबन्धन, लेनदेन तथा देशी–विदेशी शक्तिकेन्द्रलाई रिझाउने काम गर्न पुग्यो । यसका लागि माक्र्सवाद, समाजवाद, पार्टीको वर्गीय पक्षधरताजस्ता कम्युनिस्ट पार्टीका आदर्श र लक्ष्य गौण हुन पुगे । यसको एक मात्र लक्ष्य जसरी पनि कम्युनिस्ट पार्टीका नाममा जनताको मत बटुली सत्तामा पुग्ने र लाभ लिने हुन पुग्यो ।
निश्चित थियो, निर्वाचन जित्न मत बटुल्न बाहुबल र धनबल निर्माण गर्न सबभन्दा सहयोगी शक्ति यावत् खालका असामाजिक तत्व, दलाल पुँजीपति, भूमाफिया, भ्रष्ट व्यापारी, ठेकेदार, कालाबजारिया, भ्रष्ट प्रशासकजस्ता तत्व नै हुन सक्थे । परिणमस्वरूप यस पार्टीको संगठन तथा राजनीतिमा तिनको आधिपत्य स्थापित हुन पुग्यो । र, आज यस पार्टीभित्र यी असामाजिक तत्व र भ्रष्ट राजनीतिक नेतृत्वबीचको गठबन्धन यति बलियोसँग स्थापित भएको छ कि यसलाई समाप्त गरी पार्टीको शुद्धीकरण र कम्युनिस्ट नीति, चरित्र तथा व्यवहारका आधारमा पार्टी पुनर्गठन सजिलो छैन । लाखौँ इमानदार कार्यकर्ता तथा समर्थक यसमा छन्, तर यथार्थमा यो भ्रष्ट नेता, दलाल पुँजीवादी, बिचौलिया, भूमाफिया, तस्कर आदिको ‘कम्युनिस्ट ?’ पार्टी हुन पुगेको छ ।
फलस्वरूप पार्टीभित्र यस्ता तत्वका स्वार्थको टकरावका कारण आज यो पार्टी नैतिकपतन, चारित्रिक ह्रास र विखण्डनको अवस्थामा पुगेको छ । स्वाभाविक रूपमा देशको ठूलो कम्युनिस्ट पार्टी भएकाले यसको प्रभाव सिंगो कम्युनिस्ट आन्दोलनमा पनि देखापरेको छ र कम्युनिस्ट आन्दोलन बदनाम भएको छ ।
जब कम्युनिस्ट पार्टीको नेतृत्व सिद्धान्तच्युत, नैतिक पतन, राजनीतिक व्यभिचार र व्यक्तिगत महत्वाकांक्षाको दलदलमा जाकिन पुग्छ, उसका लागि माक्र्सवाद, समाजवाद, श्रमजीवी वर्गका मुक्तिको प्रश्नजस्ता कम्युनिस्टका पहिचान उपरी आडम्बर र सत्ताप्राप्तिको माध्यम हुन पुग्छन् । सारमा भन्ने हो भने यो नै वर्तमान नेकपा (एमाले) को चारित्रक पहिचान हो । वर्तमान नेतृत्व पंक्तिको वर्चस्व कायम रहेसम्म यस चरित्र र प्रवृत्ति अन्त्य गरी एउटा श्रमजीवी वर्गको अगुवा माक्र्सवादी पार्टीमा पुनर्गठन गर्न सम्भव देखिँदैन । केपी ओलीजीले बलियोसँग संगठित गरेको र लालनपालन गरेको भ्रष्ट र स्वार्थी तत्वको गठबन्धन र प्रतिरक्षा घेरा यति बलियो छ कि त्यसभित्र रहेका निष्ठावान् कम्युनिस्टले चाहेर पनि सहज रूपमा यसलाई परास्त गर्न सक्दैनन् । यो कुरा दसौँ महाधिवेशनको मञ्चनमा देखिएको चरित्र र व्यवहारले झन् स्पष्ट पारेको छ ।
सुस्पष्ट वैचारिक आधार, पारस्परिक विश्वास, उच्च कम्युनिस्ट नैतिकता र राजनीतिक दिशाविना ‘ओली प्रवृत्ति’विरुद्ध लड्न सम्भव छैन भन्ने उहाँ पार्टी र सत्ताप्रमुख भएदेखि नै स्पष्ट थियो । तर, पार्टीभित्र ‘ओलीप्रवृत्ति’ विरुद्ध अन्तर्संघर्ष चलाउनेहरूले यस्ता विकृतिविरुद्ध सैद्धान्तिक आधारमा टेकेर दुई लाइनको संघर्ष चलाउनुभन्दा, बैठक नबोलाएको, हामीलाई नसोधेको, थिचोमिचो गरेको, समान भागबन्डा नगरेकोजस्ता, पार्टीको शुद्धीकरणभन्दा निहित स्वार्थको गन्ध आउने, आधारमा टेकेर गालीगलोजको अभियान चलाए । केही समयका लागि पेलिएकाबीच बलियो एकता पनि देखियो । तर, ओलीजस्ता चतुर राजनीतिक खेलाडी, जसमा यी विरोधीको स्वार्थ, सामथ्र्य, सीमा, चाहना, उचाइ र विगत तथा वर्तमानको नाडी छामेकाले सहजै यो सतही एकता भत्काउन सक्ने सामथ्र्य थियो र ठीक समय र अवस्था आउनेबित्तिकै उनी सफल पनि भए ।
दसौँ महाधिवेशनको सम्पन्नतासँगै ओलीजीको योजनाबद्ध अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भयो । अब प्रतिरोधविहीन निर्विकल्प एकल नेतृत्वको अवस्था स्थापित भएको छ, जुन उनको सर्वोपरि चाहना हो । विगतमा ‘ओलीप्रवृत्ति’ भन्दै उनको वैचारिक आधार, कार्यदिशा, वर्गीय पक्षधरताभन्दा व्यवहार र कार्यशैली, लेनदेनजस्ता विषय उठाएर ओलीसँग संघर्षरत रहेका आज व्यक्तिगत स्वार्थ, महत्वाकांक्षा, पद तथा भोलि सत्तामा पुग्न सक्ने लालसा आदिले अथवा केही पार्टीको नाम, चिह्न आदि जस्ता गौण विषयको मोहपासमा रहेकाहरू यसै पार्टीलाई पुनः श्रमजीवी जनताको माक्र्सवादी पार्टीका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने स्वैरकल्पनामा रमाइरहेका छन् । तर, ओलीजीको सानिध्य र कृपाविना न ती स्वार्थ पूरा हुने अवस्था देखिन्छ न सिंगो पार्टीलाई नै वर्तमान विसंगतिबाट मुक्त गरी माक्र्सवादसम्मत सही जगमा उभ्याउन सकिने अवस्था छ । वर्तमान नेतृत्वपंक्तिको चरित्र र मनोविज्ञानलाई हेर्दा न तिनको वैचारिक उचाइले भ्याउँछ, न सांगठनिक अवस्थाले नै त्यो सम्भव देखिन्छ । हो ! महाधिवेशनपछि एमालेमा ओलीजीको नेतृत्व र विचार निर्विकल्प रूपमा स्थापित भएको छ र यस अर्थमा पार्टी बलियो भएको छ ।
ओलीजीको चाहना, लक्ष्य र राजनीतिक दिशा न समाजवाद हो, न संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता नै । यो कुरा ओलीजीले कसैलाई नढाँटी सार्वजनिक रूपमै पटक–पटक स्विकारेका छन् । यसपछि पनि कसैले उनीहरूबाट कम्युनिस्ट सत्ता, समाजवाद, कम्युनिस्ट आन्दोलनको सुदृढीकरण र श्रमजीवी जनताको राजको आशा गर्छ भने त्यो उसको गल्ती हो । हो ! आजको विश्व अवस्था, पार्टीभित्रको पकड, माफिया, कमिसनखोर तथा भ्रष्ट कर्मचारीतन्त्रको सञ्जाल र अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा भारतीय सुरक्षा एजेन्सीसँगको साँठगाँठले आगामी निर्वाचनमा उनले विजय हासिल गर्न कठिन नहुन सक्छ । तर, त्यस सत्ताबाट आमश्रमजीवी जनता, कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय एकताका लागि आशा गर्ने कुनै आधार देखिँदैन ।
नेपालको वर्तमान वस्तुगत अवस्था तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अवस्थामा एउटा माक्र्सवादी पार्टीले गरिखाने जनताको पक्षधर अथवा यहाँका रोमान्टिक कम्युनिस्टहरूले भन्ने गरेका सर्वहारा अधिनायकत्व, एक्काइसौँ शताब्दीको समाजवाद, जबज, नौलो जनवाद आदि यथानामका राज्यसत्ता पनि माक्र्सवाद तथा समाजवादी लक्ष्यप्रति प्रतिबद्ध रहेको चारित्रवान्, राजनीतिक इमानदारी, देश र श्रमिक जनताप्रति समर्पित र त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने पार्टी नेतृत्वविना सम्भव हुँदैन । यसका लागि कम्युनिस्ट आदर्श, लक्ष्य तथा माक्र्सवादलाई आफ्नो जीवन दर्शनका रूपमा आत्मसात् गरेकाहरूले जनतामा आन्दोलनप्रति बाँकी रहेको आस्था र आफ्नो सामथ्र्यमा टेकेर वैचारिक तथा राजनीतिक आधारमा पुनर्गठित गरी आन्दोलनलाई नवजीवन दिने निष्ठावान् प्रयास गर्नु आवश्यक छ ।
अन्यथा, सत्ताका लागि गरिने अपवित्र गठबन्धन तथा भ्रष्ट कम्युनिस्ट सत्ताले श्रमजीवी जनताको राज्यसत्ता स्थापित गर्न सक्दैन । कम्युनिस्ट आन्दोलनको पुनर्गठन, शुद्धीकरण तथा सकारात्मक ध्रुवीकरणका लागि एक्काइसौँ शताब्दीको विश्वअवस्था, चारित्र विशिष्टता, नेपालको वर्तमान अवस्था तथा समाजउन्मुखताका चारित्रिक विशिष्टता र सम्भावनाबारे निष्ठापूर्व खुला संवाद गरेर कम्युनिस्ट आन्दोलनलाई सही धरातलमा उभ्याउनु आजको दायित्व हो र यो कम्युनिस्ट आन्दोलनको सकारात्मक ध्रुवीकरणको प्रस्थान बिन्दु हो ।
कम्युनिस्टहरू विचार, दर्शन र चरित्रको सौदा गरेर सँगै हिँड्न सक्दैनन् र वैचारिक स्पष्टता, वर्गीय पक्षधरता, चारित्रिक शुद्धताविना कुनै पनि व्यक्ति वा पार्टी कम्युनिस्ट हुन सक्दैन । त्यसकारण आजको आवश्यकता हो, कम्युनिस्ट आन्दोलनमा यी मूल्य–मान्यता स्थापित गर्नु र त्यसका लागि कम्युनिस्ट पार्टीबीच सहकार्य र संयुक्त अभियानका लागि वैचारिक र राजनीतिक आधार तयार गर्नु जरुरी छ ।
पार्टीहरूबीच एकता र ध्रुवीकरणका लागि जति वैचारिक र राजनीतिक सामीप्यको आवश्यकता हुन्छ, त्यतिकै आवश्यकता संस्कार, आचरण, व्यवहारको हुन्छ । चिन्तन, संस्कार र आचरणको सामीप्यविना एकता जीवित रहँदैन । उपरि रूपमा एउटै संगठनमा रहे पनि त्यो वैचारिक र दिशागत राजनीतिक एकतासहितको पार्टी हुन सक्दैन र त्यस्तो नामधारी कम्युनिस्ट पार्टीले कम्युनिस्ट राजनीति गर्न सक्दैन । त्यस अवस्थामा कम्युनिस्टका लागि न एकताको कुनै अर्थ रहन्छ, न त्यसले जनतालाई कुनै कुरा दिन सक्छ । न माधव नेपालजीको नेतृत्वको पार्टीले विगतमा ओलीसँगको अन्तर्संघर्षको दौरान न आज स्वतन्त्र पार्टीको गठनपछिको अवस्थामा पनि यस्तो आधार निर्माणका लागि स्पष्ट विचार र पहलकदमी गरेको देखिन्छ । प्रचण्ड आफ्नो रोमान्टिसिज्म र जादुई परिवर्तनको काल्पनिक संसारबाट ओर्लिन सकेका छैनन् । न माओवाद, सांस्कृतिक क्रान्ति जनयुद्ध, नौलो जनवादी क्रान्तिको जप गरिरहेका जडसूत्रवादी माओवादीसँग एकता गरेर नयाँ जनवादका लागि ‘जनयुद्ध’ गर्ने स्वैरकल्पनाबाट मुक्त हुन सकेका छन् । वाम–प्रजातान्त्रिक एकताका लागि उपेन्द्रजीको जनता समाजवादी पार्टी सबभन्दा नजिकको शक्ति हो । तर, त्यसका लागि संविधानका केही बुँदामा संशोधन तथा नागरिकताको प्रश्नजस्ता उनका जायज माग समाधान गर्ने संयुक्त प्रतिबद्धता हुनु आवश्यक छ ।
जनता र समाजवादका नाममा कम्युनिस्टले पटक–पटक जनताको विश्वासमाथि यति कुठाराघात गरिसकेका छन् कि अब भाषणबाट आमश्रमिक जनताको सहज विश्वास आर्जन गर्न सक्ने अवस्था छैन । जनविश्वास र समर्थन आर्जन नगरेसम्म तिकडम, लेनदेन, अपवित्र साँठगाँठ, बाहुबल, धनबल जेजस्ता हथकण्डा प्रयोग गरेर सत्ता प्राप्त गरे पनि न त्यो टिकाउ हुन सक्छ, न त्यसले देश र आमजनताको हितमै काम गर्न सक्छ । आजको अवस्थामा यस विश्वासलाई पुनः आर्जन गर्न जनताले देख्ने र महसुस गर्ने गरी चारित्रिक शुद्धीकरण, भनाइ र गराइको समानता, नैतिकता तथा स्पष्ट नीति तथा कार्यदिशाको प्रस्तुति र व्यावहारिक रूपमा त्यसको कार्यान्वयनप्रतिको इमानदारी पहिलो सर्त हो ।